न्यादी जलविद्युत् ७० प्रतिशत पूरा
बेसीसहर : लमजुङको मस्र्याङ्दी गाउँपालिका–६ बाहुनडाँडास्थित ङादी खोलामा निर्माणाधीन ३० मेगावाटको न्यादी जलविद्युत् आयोजना ७० प्रतिशत पूरा भएको छ। आयोजना २०७३ चैतबाट निर्माण सुरु भएको हो।
आयोजनाको बाँध क्षेत्रको जग खन्ने काम पूरा भएको न्यादी हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत उत्तम अमात्यले जानकारी दिए। उनका अनुसार ३ दशमलब ८४ किलोमिटर लामो मुख्य सुरुङ ढलानको काम ७५ प्रतिशत सकिएको छ। यस्तै, विद्युत् गृहको सिभिल संरचना निर्माण पनि सम्पन्न भएको छ। आयोजनामा सुरुङसहित सात सय २५ मिटर पेनस्टक पाइप राखिनेछ।
विद्युत् गृहमा इलेक्ट्रोमेकानिकल उपकरण जडानको काम सुरु हुन लागेको अमात्यले बताए। जडान हुने उपकरण भन्सार नाकामा आइपुगेको छ। विद्युत् गृहमा उपकरण जडानको काम मंसिरभित्र पूरा गर्ने लक्ष्य कम्पनीको छ। चैतदेखि विद्युत् उत्पादन गर्ने तालिका छ।
आयोजनाको डेम, हेडवर्कक्स, इन्टेकको काम तीव्र गतिमा भइरहेको छ। विद्युत् गृहको काम अन्तिम चरणमा पुगेको छ। टेलरेसको निर्माण पूरा भएको छ। पेनस्टक सपोर्ट कार्य निर्माण भइसकेको छ। ३० मेगावाटको यो आयोजना सम्पन्न गर्न ६ अर्ब रुपैयाँ लाग्ने अनुमान छ। यसमा एभरेस्ट बैंकको अगुवाइमा पाँच बैंकले ऋण लगानी गरेका छन्। आयोजना पूरा भएपछि उत्पादन हुने विद्युत् २२० केभी मस्र्याङ्दी कोरिडोर प्रसारण लाइनको खुदी सबस्टेसनमा लगेर जोडिनेछ। निर्माणाधीन प्रसारण लाइन विद्युत् उत्पादन सुरु हुने अवधिभित्र तयार नभए आयोजनाबाट उत्पादित विद्युत् टारिकुना सबस्टेसनमा जोड्ने कम्पनीको योजना छ।
आयोजनाको निर्माण चिनियाँ कम्पनी चचियाङ हाइड्रोपावर कन्स्ट्रक्सन एन्ड इन्स्टलेसन कम्पनीले गरेको छ। नदीको वहावमा आधारित यो आयोजनाबाट वार्षिक एक सय ६८ गिगावाट आवर विद्युत् उत्पादन गरी नेपाल विद्युत् प्राधिकरणलाई बिक्री गरिनेछ। आयोजनाले विद्युत् प्राधिकरणसँग प्रचलित ‘पोस्टेड’ दरअनुसार वर्षायाममा ४ रुपैयाँ ८० पैसा र सुक्खायामका लागि ८ रुपैयाँ ४० पैसामा विद्युत् खरिद सम्झौता (पीपीए) गरेको छ। उक्त दर वार्षिक ३ प्रतिशतका दरले सामान्य वृद्धि भइ आठ वर्षसम्म र सम्झौता अवधि ३० वर्षसम्म कायम रहने बताइएको छ।
साना जलविद्युत् गुरुयोजना अन्तर्गत सन् १९९३ मा पहिचान भएको ङादीको सुको क्षमता २.८ मेगावाट थियो। पछि यसलाई २० मेगावाट हुँदै ३० पुर्याइएको हो। यसको पूर्वसम्भाव्यता अध्ययन लमजुङ विद्युत् विकास कम्पनी (लेड्को) ले गरेको थियो। सन् २००० मै यसको वातावरणीय प्रभाव मूल्यांकन स्वीकृत भइसकेको हो। बीपीसीले लेड्कोबाट यो आयोजना सन् २००६ मा खरिद गरेको थियो।