दसैंमा सार्वजनिक सवारीलाई रुट परमिट नचाहिने
काठमाडौं ः दसैंका लागि सार्वजनिक यातायात सञ्चालन गर्न रुट परमिटको आवश्यकता नपर्ने भएको छ। दसैंमा यात्रुको चाप हुने स्थानमा सहज रुपमा सवारीको व्यवस्थापन गर्न रुट परमिट खुल्ला गरिएको यातायात व्यवस्था विभागले जानकारी दिएको छ।
असोज १२ देखि १९ गतेसम्म सार्वजनिक यातायात सञ्चालन गर्न रुट परमिट आवश्यक पर्नेछैन। दसैं मनाउन काठमाडौं उपत्यकाबाट करिब ३० लाख यात्रु बाहिरे गर्छन्। हाल काठमाडौं उपत्यकाबाट दैनिक १३ सयदेखि १५ सय सवारी बाहिरी जिल्ला जान्छ।
अन्य समयको तुलनामा दसैंमा उपत्यकाबाट बाहिरिने यात्रुको चाप अत्याधिक हुन्छ। अन्य समयमा सञ्चालन हुने सवारीले दैनिक करिब ३५ हजार यात्रु बोक्ने क्षमता राख्छन्। काठमाडौं उपत्यकाभित्र चल्ने सवारी साधन पनि प्रयोगमा ल्याउन विभागले रुट परमिट खुल्ला गरेको हो। यसरी रुट परमिट खुल्ला गर्दा उपत्यका भित्र चल्ने गाडीले पनि अन्य क्षेत्र सहज रुपमा सेवा दिन सक्ने विभागको अपेक्षा छ।