अन्नपूर्ण पदमार्गमा बढे पर्यटक
बेसीशहर : पदयात्राको सिजन सुरु भएसँगै अन्नपूर्ण पदमार्गमा स्वदेशी तथा विदेशी पर्यटकको आगमन बढ्न थालेको छ। असोजदेखि पुससम्म यहाँ पर्यटक आगमनको सिजन मानिन्छ।
ट्राभल एजेन्सी एशोसियशन नेपाल (टान)को बेसीशहरस्थित पर्यटक जाँच केन्द्रका अनुसार अहिले लमजुङ हुँदै अन्नपूर्ण पदयात्रा मार्गमा जाने पर्यटकहरूको संख्या दैनिक ६० भन्दा बढी छ। केन्द्रको तथ्याङ्क अनुसार पर्यटकीय लो सिजनको तीन महिनामा मात्रै एकहजार ५४० पर्यटक अन्नपूर्ण पदमार्गमा आएका छन्। सिजन सुरु भएपछि दैनिक २ सय बढी पर्यटकहरु पदमार्गमा आउने गर्छन्।
केन्द्रका कर्मचारी नन्दराज भट्टले लो सिजनको जेठ महिनामा ७ सय ७८ जना विदेशी पर्यटक आएको बताए। उनका अनुसार असारमा ३ सय ३८ र साउनमा ४ सय २४ जना विदेशी पर्यटक अन्नपूर्ण पदमार्गमा आएका थिए।
अन्नपूर्ण पदमार्गमा पछिल्लो समय आन्तरिक पर्यटकको पनि आगमन बढेको छ। मनाङ सदरमुकाम चामेसम्म मोटर पुगेपछि आन्तरिक पर्यटकको संख्यामा बृद्धि भएको हो। पछिल्लो समय विदेशी पर्यटक जत्तिकै आन्तरिक पर्यटकहरूको पनि उल्लेख्य बृद्धि हुन थालेपछि पर्यटन व्यवसायीहरू थप उत्साहित भएका छन्।
मनाङको सदरमुकाम चामेसम्म मोटर पुगेपछि अन्नपुर्ण पदमार्ग जाने नेपालीहरूको संख्यामा बृद्धि भएको हो। पछिल्लो समय विभिन्न क्लव, तथा संघसंस्थामा आवद्ध भएकाहरू समेत बिदा मिलाएर भएपनि अन्नपुर्ण पदमार्गमा जाने गरेका छन्। लमजुङ हुँदै अन्नपूर्ण पदयात्रा मार्गमा जाने पर्यटकहरूको संख्यामा उत्साहजनक बृद्धि भएपछि लमजुङ तथा अन्नपूर्ण पदमार्गका पर्यटन व्यवसायीहरू उत्साहित भएका छन्।
पदमार्गमा विशेष गरी इजरायल, जर्मनी, फ्रान्स, अष्ट्रेलिया, बेलायत र अमेरिकाका पर्यटकहरू आउने गरेको बताइन्छ। लमजुङ सदरमुकाम बेसीशहर अन्नपूर्ण पदयात्रा मार्गको प्रवेशद्वारको रुपमा चिनिन्छ। बेसीशहरबाट खुदी, भुलभुले, ङादी, स्याँगे, जगत हुँदै मनाङ जिल्लाको ताल, बगरछाप, चामे हुँदै थोराङ पास हुँदै मुस्ताङ पुगेपछि अन्नपूर्ण पदयात्रा मार्गको यात्रा पूरा हुन्छ।
लमजुङको सदरमुकाम वेसीशहरवाट सुरु हुने अन्नपूर्ण पदमार्गको यात्रा मनाङ हुँदै थोराङपास गरेर मुक्तिनाथ, जोमसोम, बेनी अथवा घोरेपानीबाट पोखरा पुगेर टुङ्गिन्छ। पदयात्राका सौखिनहरूका लागि जीवनको प्रतिष्ठा समेत बन्ने गरेको ५ हजार ४ सय १६ मीटरको थोराङ भञ्ज्याङलाई पास गर्दा आन्तरिक तथा बाह्य पर्यटकहरू आफूलाई भाग्यमानी ठान्छन्। अन्नपूर्ण पदमार्ग विश्वका १० उत्कृष्ट गन्तव्य मध्ये एक मानिन्छ।
सन् २०१८ मा विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्ग घुम्ने पर्यटकको संख्याले नयाँ कीर्तिमान राखेको थियो। सन् २०१८ मा २९ हजार ४ सय ८० पर्यटक आएका थिए। यो संख्या तथ्याङ्क राख्न थालिएको २२ वर्षको अवधिमा सबैभन्दा धेरै हो। सन् २०१७ मा २७ हजार ६८ पर्यटकले अन्नपूर्ण पदमार्गको भ्रमण गरेका थिए। अघिल्लो वर्षको तुलनामा सन् २०१८ मा २ हजार ४ सय १२ पर्यटक बढी भित्रिएका थिए।