हिरासतबाट फरार प्रतिवादी १६ दिनपछि पक्राउ
मलंगवा : प्रहरी हिरासतबाट फरार रहेका प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीले १६ दिनपछि बुधबार भारतको पंजाब प्रान्तबाट पक्राउ गरेका छन् । लागुऔषधसहित गत भदौ २० गते हरिवन नगरपालिका ११ बाट पक्राउ गरिएका सोही नगरपालिका ५ का महिन्द्र महतो भदौ २२ गते जिल्ला अदालदतबाट म्याद थप गराएर हरिवन लैजाने क्रममा प्रहरीको हिरासतबाट फरार भएका थिए ।
फरार भएका महतोलाई बुधबार भारतको पंजाब प्रान्तको जलंधरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक गोपाल चन्द्र भट्टराईले जानकारी दिएका छन् ।
परिवारको सदस्य, स्थानिय जनप्रतिनिधि र भारतीय प्रहरीको समन्वयमा पंजाबबाट पक्राउ गरिएको हो । शादा पोशाकको प्रहरीलाई पंजाब पठाएर महतोलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक भट्टराईले बताए । महतोको साथबाट प्रहरीले नाइट्राजेपाम-१० लेखिएको १ सय ४८ ट्याब्लेटसहित पक्राउ गरेको थियो ।