सडक र सदन तताउने कार्यक्रम ल्याउन काँग्रेस नेताहरुको सुझाव
इटहरी : सडक र सदन दुवै तताउने गरी कार्यक्रम ल्याउन नेपाली कांग्रेसका नेताहरुले सुझाव दिएका छन्। दोस्रो चरणको जनजागरण अभियानमा केन्द्रीय प्रतिनिधि भएर सुनसरी आएका प्रतिनिधिले जागरणले सकारात्मक प्रभाव पारेको दाबी गरेका छन्।
नेपाल प्रेस युनियन सुनसरीले बुधबार गरेको संवाद कार्यक्रममा बोल्दै स्थानीय नेताले जनतामा निराशा फैलिएको बताएका थिए। उनीहरुले सदन र सडक दुवैतर्फबाट आन्दोलन थाल्न केन्द्रिय नेताहरुलाई सुझाव दिएका छन्।
केन्द्रीय प्रतिनिधि सुवास पोखरेलले कांग्रेसले वैचारिक आन्दोलन गर्न आवश्यक रहेको बताए। उनले सहरका मानिसहरुमा चरम निराशा रहेको बताए।
त्यस्तै, केन्द्रीय प्रतिनिधि शुकदेवप्रसाद यादवले राज्यले किसानको पक्षमा केही काम गर्न नसकेको गुनासो गरे। उनले कृषकको समस्या समाधान गर्दै अघि बढ्न नेतृत्वलाई सल्लाह दिए।
यस्तै प्रदेश १ की सांसद नवोदिता चौधरीले प्रदेश सरकारमा दुई तिहाईको दम्भ रहेको बताउँदै जनतामा करको मार अत्याधिक रहेको दाबी गरिन्। उनले सडक र सदन दुवै तर्फबाट आन्दोलन थाल्न आग्रह गरिन्।
कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ का संसदीय दलका नेता राजीब कोइरालाले कम्युनिस्टले नियोजित ढंगले जनतामाथि आक्रमण गरिरहेको ठोकुवा गरे। उनले तेस्रो चरणको जनजागरण अभियान अझै भव्य तरिकाले गर्ने बताए। उनले जनजागरण कार्यक्रमले जनतामा आशा पलाएको बताए।