इलाम महोत्सवमा साहित्यदेखि राजनीतिसम्मको चर्चा
इलाम : प्राडा सञ्जीव उप्रेतीको आलोचनात्मक चेत र लोकतन्त्र नामको मन्तव्यसँगै सुरु भएको इलाम साहित्य महोत्सवमा गत हप्ता साहित्य, संगीतदेखि अधिकारको पेवा हुँदै, गणतन्त्रका खतराका विषयमा बहस गर्दै सम्पन्न भएको छ।
कार्यक्रमको अन्तिम सत्रमा नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा र विश्लेषक खगेन्द्र संग्रौला सँग पत्रकार वसन्त वस्नेतले गरेको बहसले वर्तमान अवस्थाको विश्लेषण गरेको थियो। शर्मा र संग्रौलाको सहमति थियो ‘गणतन्त्रलाई खतरा छ भने गणतन्त्र ल्याउने दलबाट नै छ, बाहिरबाट छैन।’ सरकारप्रति निक्कै खनिएका उनीहरूले सरकारले गणतन्त्रलाई खतरा देखाएर नागरिक अधिकार कटौती गर्न खोजेको आरोप लगाए।
साहित्यकार सत्ता कि प्रतिपक्ष भन्ने विषयमा श्रवण मुकारुङ, मोमिला जोशी, मनु मञ्जिलले साहित्य प्रतिपक्ष भएको तर्क पेस गरे। कवि मनु मञ्जिल भन्दै थिए ‘सत्ताले कोमल भान्छेलाई गरेको अन्यायविरुद्ध अझै आगो भर्न जरुरी छ।’ कवि विमल वैद्यले बहसमा सहजीकरण गरेका थिए। इलामका प्रमुख पहिचानमध्येका अलैंची, अदुवा, आलु, ओलन, अकबरेसहितका ‘अ’ ले इलामलाई अल्झाएको छ कि उन्नतिको पथमा अघि बढाउँदै छ भन्ने विषयमा लेखक, पत्रकार केदार शर्मा युद्धप्रसाद वैद्य, महेश बस्नेत, राजेन्द्र बरालसँग बहस गरेका थिए।
राजन मुकारुङ, मि श्र वैजयन्ती, उज्ज्वल प्रसाईसँग महेश पौडेलले मानक माथि प्रश्न शीर्षकमा बहस गरेका थिए। किन बिक्न छोड्यो सिर्जना भन्ने विषयमा बालिका थपलियाले प्रेम ओझा, प्रकाश बुढाथोकी, बीना थिङसँग बहस चलाइन्।
करोड क्लब र अफवाहका विषयमा अन्वेश थुलुङ राईले दयाहाङ राई, अनुप सुवेदी, ब्रजेशसँग सिनेमा चर्चा गरे। पर्यटनको आयामका विषयमा इलामका अग्रज पत्रकार धर्म गौतमले हरिश्चन्द्र राई, केशव धौराली, डा.देवी क्षेत्री दुलाल र चन्द्र घिमिरेसँग बहस चलाए।
निर्माणको जिम्मा शीर्षकमा सुरेश नेम्बाङ, रवि सिंह र दीपक गौतमसँग सन्तोष नेम्बाङले बहस गरेका थिए। त्यस्तै, उन्मुक्त पुस्ता, फरक आयाम, कुकुर कविताजस्ता पछिल्ला साहित्यिक आन्दोलनका बारेमा मुनाराज सेर्माले बहस चलाए। अधिकारको पेवाको विषयमा जेबी विश्वकर्मा, सीमा आभास र कृष्ण धरावासीसँग समीरबाबु कट्टेलले बहस गरेका थिए।
नेपाली साहित्यमा मुन्धुम/मुन्दुम विषयमा भूपाल राई र धर्मेन्द्रविक्रम नेम्बाङसँग गणेशकुमार राईले छलफल गरे। गीतको दुःखका बारेमा कोमल निरौला, गुरुङ सुशान्तसँग युविर चेम्जोङले बहस चलाए। कार्यक्रम अवधीमा दर्जनौं कविकवयत्रीहरूले आआफ्ना रचनावाचन गरेका थिए।
इलाम साहित्य समाजले स्थानीय तह, प्रदेश सरकार, पर्यटन बोर्ड, नेपाल प्रज्ञा प्रतिष्ठानलगायत संस्थासँगको सहकार्यमा महोत्सवको आयोजना गरेको अध्यक्ष प्रकाश थाम्सुहाङले बताए। साथै इलाम साहित्य समाजले एक वर्षका लागि सिर्जनशील अराजकता आन्दोलनका अभियन्ता साहित्यकार हाङयुग अज्ञातलाई सद्भावना दुत चयन गरेको छ।