बैंकको सिस्टम ह्याक प्रकरण : लुटिएको रकम खातामा भेटिएपछि थप एकजना पक्राउ
काठमाडौं : कृषि विकास बैंकको सिस्टम ह्याक प्रकरणमा थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्याङ्जा वालिङका रामकृष्ण भुसाल रहेको महानगरिय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी शहकुल थापाले जानकारी दिए।
भुसालको खातामा बैंकको ६५ लाख रुपैयाँ जम्मा भएको देखिएपछि महाशाखाले भुसाललाई पक्राउ गरेको हो। उनी प्रतिक्षा निर्माण सेवाको प्रोपाइटर समेत हुन्। भुसालसहित यो प्रकरणमा महाशाखाले १३ जनालाई नियन्त्रणमा लिइसकेको छ। पक्राउ परेका सबैलाई संगठित अपराधमा मुद्दा चलाइने महाशाखा प्रमुख थापाले जानकारी दिए।
गिरोहले बैंकको लाहान शाखाको सिष्टम ह्याक गरेर ४ करोड ७३ लाख रुपैयाँ निकालेको भेटिएको छ। बैंक लुट तथा अपचलन प्रकरणमा पिटर उर्फ कालेको गिरोह संलग्न रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ। उनी मुम्बईमा बसेर नेपाली युवा परिचालन गरी हुन्डीमार्फत पैसा पठाउन लगाउँथे।
महाशाखाले यसअघि रसुवाका लवाङ तामाङ, लक्ष्मी तामाङ, काभ्रेका सञ्जय घले, निर्मला तामाङ, निमा तामाङ, सार्लाहीका पुष्पराज खड्का, लमजुङका विद्यासागर लामिछाने, तनहुँका श्रमणकुमार श्रेष्ठ, सुनिता श्रेष्ठ, भारत कोलकताका सुवम्कर पञ्जा, कैलालीका विजय साह र चन्द्रबहादुर बुढालाई नियन्त्रणमा लिएको थियो।
समुहले विगत डेढ महिनादेखि नै बैंकबाट रकम ट्रान्सफर गर्न थालेको थियो। महाशाखाले पिटर नाम गरेका व्यक्तिको खोजीका लागि ईन्टरपोलमार्फत् सहयोग माग्नेसमेत निर्णय गरेको छ। ‘हामी पिटरको खोजीमा लागेका छौं, भेटिएन भने ईन्टरपालेको सहयोग माग्छौं’, एसएसपी थापाले भने।