तीनघण्टे मूल्यांकन उपयुक्त छैन
२०४६ सालको जनआन्दोलन साम्य भएपछि स्कुल खोल्ने होडबाजी चलिरहेको थियो। आन्दोलनमा सहभागी कीर्तिपुरका केही युवाको समूहले सामाजिक हितका निम्ति नयाँ काम गर्ने सोच बनायो। त्यही सोचअनुरूप समूह एक विद्यालय खोल्ने कुरामा सहमत भयो र २०४९ सालमा राराहिल मेमोरियल स्कुल जन्मियो। सोही स्कुलका प्रधानाध्यापक जगतबहादुर महर्जनले यसलाई उचाइमा पुर्याउने काम गरे।
महर्जनको जन्म २०२४ साल वैशाखमा एक सामान्य परिवारमा भएको हो। सामान्य परिवारमा जन्मे पनि उनको सोच भने असामान्य थियो। जसरी भए पनि मैले कलेज पढ्नुपर्छ भन्ने उनलाई लाग्थ्यो।
उनका बुवा ब्रिटिस काउन्सिलमा जागिरे थिए। त्यसैले प्रारम्भिक शिक्षा राम्रैसँग पाए। तर, कक्षा ६ मा भर्ना हुन उनलाई गाह्रो भयो। ‘म कक्षा ६ मा भर्ना हुने बेलामा बुवाको जागिर रहेन अनि मलाई समस्या भयो’, आफ्नो पढाइका लागि आफैं काम गर्नुपर्ने बाध्यता सुनाउँदै उनले भने, ‘म काकाको टेलरमा काम गर्न थालेँ। त्यहाँबाट आउने पैसा पढाइका लागि खर्च गर्न थालेँ।’
उनी कक्षा ६ देखि ९ सम्म जनसेवा माविमा पढे पनि कीर्तिपुर माविबाट उनले एसएलसी पास गरे। त्यसपछि उनले पढाइलाई निरन्तरता दिए। उनले सोसियोलोजीबाट एमएसम्मको पढाइ पूरा गरेका छन्। इच्छाशक्ति बलियो भयो भने कुनै पनि काम असम्भव हुँदैन भन्ने प्रधानाध्यापक महर्जनकोे बुझाइ छ। भन्छन्, ‘मानिसमा इच्छाशक्ति भयो भने जुनसुकै काम सजिलै गर्न सकिन्छ। आज म यहाँसम्म आइपुग्नुको कारण मेरो लगन र मेहनतले नै हो।’
महर्जन यस विद्यालयको संस्थापक प्रधानाध्यपक भने होइनन्। तर, यसको स्थापनामा उनको महŒवपूर्ण भूमिका रह्यो। स्कुल खोल्ने निर्णय गर्ने समूहका उनी पनि एक सदस्य हुन्। स्कुल स्थापनापछि उनले राराहिलमा एक वर्ष मात्र अध्यापन गराए।
त्यसपछि कामको सिलसिलामा उनी विभिन्न संघसंस्थामार्फत बर्दिया जिल्ला पुगे। स्कुल छोडेर बाहिर गए पनि उनले त्यहाँ पनि विभिन्न कार्यक्रम गरे। उनले भने, ‘अध्यापनको काम छोडेर गए पनि मैले त्यहाँ झन कमैया मुक्तिका महिला र बालबालिकालाई प्रौढ शिक्षादेखि बाल कक्षाहरू सञ्चालन गरेँ।’ यसले उनलाई बालबालिकाका मनोविज्ञानलाई बुझ्न झनै सघायो। यी कुरालाई स्कुलमा लागू गर्न सके झनै राम्रो हुन्थ्यो भन्ने उनलाई लाग्यो। माओवादी आन्दोलनका कारण गाउँघरमा डरको माहोल भएकाले उनी फर्किए।
करिब १३ वर्षसम्म बालबालिकासँग अनुभव सँगालेर फरक ढंगका साथ स्कुललाई अगाडि बढाउने सोचले २०६९ सालमा उनले फेरि राराहिलमा पाइला टेके। उनले नौ महिनासम्म यसको निर्देशकका रूपमा काम गरे। उनको नयाँ सोच र काम गर्ने तरिकाबाट प्रभावति भएर सबैको सहमतिअनुसार उनीभन्दा अगाडिका प्रधानाध्यापक नारायण महर्जनले उनलाई प्रधानाध्यापकको जिम्मेवारी सुम्पिए।
ढिलै भए पनि स्कुलको प्रधानाध्यापक हुन पाएकोमा खुसी भएको बताउँदै उनले भने, ‘यो एउटा फरक सोच र चिन्तन बोकेको विद्यालयको प्रधानाध्यापक हुन पाएकोमा एकदमै खुसी छु। यसलाई अझै राम्रो र उत्कृष्ट बनाउने मेरो लक्ष्य छ।’ विषयवस्तु, अध्यापन कला, मूल्यांकन, खोज, बाल मनोविज्ञानसँगै व्यावहारिक ज्ञानलाई पाठ्यक्रमले तोकेको निश्चित विषय मात्र नभई विद्यार्थीको चौतर्फी विकास गर्नु मेरो उद्देश्य हो।
महर्जन राराहिललाई एउटा इतिहास बोकेको स्कुलको संज्ञा दिन्छन्। राम्रो शिक्षामार्फत सबै विद्यार्थीलाई सक्षम बनाएर यसलाई अझै ऐतिहासिक बनाउने प्रयासमा लागेका छन् उनी।
राराहिलको नामकरण २०४६ सालको जनआन्दोलनमा बलिदान दिएका चारजना सहिदहरूको नामको पहिलो अक्षरबाट राखिएको हो। ती हुन् राजेन्द्र महर्जन, राजमान माली, हीराकाजी महर्जन र लनबहादुर महर्जन।
एउटा जिम्मेवार र असल विद्यार्थी उत्पादन गर्नु उनी चुनौतीपूर्ण ठान्छन्। भन्छन्, ‘घोकेर र कण्ठ गरेर डिस्टिंकसन ल्याउने होइन, व्यावहारिक ज्ञानसँगै जुनसुकै क्षेत्रमा आफ्नो क्षमता प्रदर्शन गर्न सक्ने विद्यार्थी उत्पादन गर्नु यो विद्यालय र मेरो लागि मुख्य चुनौती हो। यसका लागि म प्रयत्नरत छु।’
उनी विद्यालयमा आइसकेपछि परम्परागत किसिमले पढाइ हुने तरिकामा केही परिवर्तन गरी वैज्ञानिक र व्यावहारिक ज्ञानको पक्षमा जोड दिन थालिएको छ।
विद्यार्थीको चौतर्फी विकासका लागि उसको घरको वातावरण पनि अध्ययन गर्ने खालको हुनुपर्ने उनको बुझाइ छ। विद्यार्थीले व्यावहारिक ज्ञान घरबाटै सिक्ने गर्छन्। महर्जन भन्छन्, ‘एकातिर विद्यार्थीको घरको वातावरण राम्रो हुँदैन, अर्कातिर सरकारले निर्धारण गरेको विद्यार्थीको तीनघण्टे मूल्यांकनको तौरतरिका उपयुक्त छैन।’ शिक्षण पेसामा लागेका शिक्षक एकदमै अनुभवी, जिज्ञासु, खोज गर्नसक्ने, नयाँ विषयबारे अपडेट हुने र सिर्जनशील भए मात्र सोहीअनुरूप विद्यार्थी उत्पादन गर्न सकिने उनको अनुभव छ।