खेलकुद समितिमा चार महिना लागेको ताला तोडिए लगत्तै पुनः लाग्यो
राजविराज : सप्तरी जिल्ला खेलकुद विकास समितिमा लगाइएको ताला तोडिए लगत्तै पुनः लागाइएको छ।
चार महिनाअघि समितिका उपाध्यक्ष धिरेन्द्र बर्मा (धिरु)को नेतृत्वमा लागेको ताला बिहीबार खेलाडीहरूले तोडेका थिए। खेलाडीहरूले ताला तोडे लगत्तै उपाध्यक्ष धिरुले पुनः अर्को ताला लगाएका हुन्।
कार्यालयमा तालाबन्दीका कारण खेलकुद गतिविधि र दैनिकी कार्यालयको कामकाज पूर्ण प्रभावित छ। आगामी कात्तिक १५ देखि नेपालमा हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीमा रहेका भारोत्तोलन खेलाडीहरूले अभ्यासका लागि ताला तोडेका थिए। अभ्यासका लागि चाहिने आवश्यक सामग्रीहरू तालाबन्दीका कारण थुनिएको र अभ्यास प्रभावित भएको भन्दै उनीहरूले ताला तोडेको बताए।
ताला तोडेको खबर पाए लगत्तै आएका समितिका असन्तुष्ट पदाधिकारीहरूले तत्कालै अर्को ताला लगाएका छन्। ताला लगाउँदै उपाध्यक्ष बर्माले खेलाडीहरूको अभ्यास कभर्ड हलमा भइरहेको र कार्यालय कोठामा लागेको तालाले अभ्यासमा कुनै प्रभाव नपारेको बताए।
समितिका अध्यक्ष अमर खवासबाहेक बाँकी सबै पदाधिकारी मिलेर जेठ ७ गते कार्यालय प्रमुख दिनेश भुजेलको कार्यकक्षमा ताला लगाएका हुन्। कार्यालयमा लगाएको ताला नखुलेपछि कर्मचारीहरूले पनि एक सातापछि समितिको मूल ढोकामा नै तालाबन्दी गरे। आर्थिक वर्ष २०७१/०७२ देखि हाल सम्मको आय–व्यय सार्वजनिक गर्नुपर्ने, समितिको खाता कार्यालय प्रमुख र कोषाध्यक्षको संयुक्त हस्ताक्षरबाट सञ्चालन गर्नुपर्ने लगायतका माग राखी तालाबन्दी गरिएको उपाध्यक्ष बर्मा बताउँछन्।
समितिमा सचिव समेत रहेका कार्यालय प्रमुख दिनेश भुजेलले अध्यक्षको कार्यादेश बिना आर्थिक कारोबार गर्न नसकिने भन्दै कोषाध्यक्षको नाममा खाता खोल्न असमर्थता जनाउँदै आएका छन्। खेलकुद नियमावलीमा कार्यालय प्रमुख र अध्यक्ष वा कोषाध्यक्षको हस्ताक्षरमा खाता सञ्चालन हुने प्रावधान छ।
चार महिना बिते पनि तालाबन्दी खुलाउन सम्बन्धित निकायबाट आवश्यक पहल नहुँदा खेलकुद गतिविधि पूर्णत प्रभावित बनेको छ। खेलाडीहरूमा निरासा छाएको भन्दै स्थानीय खेलाडीहरूले तत्कालै समस्या समाधान गर्न माग गरेका छन्।