अमेरिकी राजदूत सक्रिय
काठमाडौं : नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच ‘भाइचारा’ बनेसँगै अमेरिकी राजदूत र्यान्डी बेरी राजनीतिक भेटघाटमा सक्रिय भएका छन्। उनले बिहीबार प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता शेरबहादुर देउवा र सत्तारूढ नेकपाका विदेश विभाग प्रमुख माधवकुमार नेपालसँग भेट गरेका छन्। त्यस क्रममा उनले पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गरेका हुन्।
कांग्रेस सभापति देउवासँग भएको भेटमा राजदूत बेरीले नेपाल र चीनका कम्युनिस्ट पार्टीबीच बढ्दो सहकार्यबारे प्रतिपक्ष कत्तिको जानकार रहेको भनेर बुझ्न चाहेको विज्ञरूको आँकलन छ। देउवा निकट नेताहरूले भने राजदूत बेरीले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे चासो राखेको बताए।
देउवा र बेरीबीच एमसीसीअन्तर्गत कम्प्याक्ट सहयोग र इन्डो प्यासिफिक रणनीतिका विषयमा छलफल भएको स्रोतले जनायो। देउवाले अमेरिकी राजदूतसँग दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउने विषयमा छलफल भएको बताएका छन्। राजदूत बेरीले देउवालाई बूढानीलकण्ठस्थित निवासमा र नेपाललाई कोटेश्वरस्थित निवासमा भेटेका थिए।
भेटमा बेरीले चिनियाँ राष्ट्रपतिको आसन्न नेपाल भ्रमण, नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच भएको सहकार्यबारे चासो राखेको स्रोतले बतायो। नेता नेपालसँग राजदूत बेरीले दुईपक्षीय सम्बन्ध र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गरेका थिए।
अमेरिकी राजदूतसँग दुई देशबीचको पारस्पारिक सम्बन्धका विविध पक्षमा छलफल भएको नेपालको निजी सचिवालयले जनाएको छ। सचिवालयले जारी गरेको प्रेस नोटमा ‘विकसित पछिल्ला घटनाक्रम’ बारे कुराकानी भएको उल्लेख छ। ‘नेपाल–अमेरिका सम्बन्धको लामो इतिहासको स्मरण गर्दै विकसित पछिल्ला घटनाक्रम, नेपालका लागि अमेरिकी सहयोग, नेपालको विकासका सम्भावना तथा दुई देशबीचको पारस्परिक सम्बन्धका विविध पक्षमा कुराकानी भएको छ’, उनका वकीय सचिव मोहन गौतमले भने, ‘भेटवार्ताले दुई देशबीचको कूटनीतिक सम्बन्धमा थप सकारात्मक योगदान दिनेछ।’