‘सीको भ्रमण मिति तय भएको छैन’
काठमाडौं : सरकारले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको मिति तय नभएको स्पष्ट पारेको छ। ‘मिति समयक्रममा खुल्दै जानेछ’, बिहीबार आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले भने, ‘मिति तय भएको छैन, उताबाट जानकारी पनि प्राप्त भएको छैन।’ यसअघि सीको नेपाल भ्रमण असोज अन्तिम साता हुने चर्चा थियो।
बाँस्कोटाले चिनियाँ राष्ट्रपति सीलाई स्वागत गर्न सरकार तीव्र प्रतीक्षामा रहेको बताए। ‘समस्यारहित सम्बन्ध रहेको विश्वको दोस्रो सुपरपावर मुलुक, त्यहाँबाट उच्चस्तरीय भ्रमण भएको छैन। नेपाल सरकारले आफ्नो कूटनीतिक मामिला सञ्चालनमा यो वर्षलाई उच्चस्तरीय भ्रमण आदानप्रदानको वर्षका रूपमा लिएको छ’, उनले भने, ‘उत्तरी, दक्षिणी, युरोपेली वा अमेरिकी जुनसुकै मित्रराष्ट्रबाट पनि उच्चस्तरीय भ्रमण भइरहनुपर्छ।’ उनले विकसित मुलुक चीनसँग लाभ ‘सेयर’ गर्नुपर्ने बताए।
केही दिनअघि चिनियाँ कम्युनिस्ट पार्टी र नेकपाका नेताबीच दुई दिनसम्म सी चिनपिङ विचारधारबारे छलफल भएपछि राजनीतिक वृत्त तातेको थियो। कुनै मुद्दा नपाएकाले यो विषयलाई चर्चामा ल्याएको मन्त्री बाँस्कोटाको आरोप छ। उनले नेकपाले विचार मिल्ने विश्वका जुनसुकै पार्टीसँग सम्बन्ध राख्ने स्पष्ट पारे। मन्त्री बाँस्कोटाले चीनसँग अन्य दलको पनि सम्बन्ध रहेको भन्दै अनावश्यक विवाद नगर्न आग्रह गरे। ‘के चिनियाँ कम्युनिस्ट पार्टीसँग नेपालमा क्रियाशील कुनै पनि वैधानिक पार्टीहरूको सम्बन्ध छैन र ? कसैले सम्बन्ध अस्वीकृत गरेको घोषणा गरे र ? ’, उनले भने, ‘समाजवादी पार्टीको महाधिवेशनमा चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरू आएर शुभकामना दिएको देखेको छु। कांग्रेस महाधिवेशनमा पनि आएका छन्। विभिन्न क्षेत्रको अध्ययनका लागि कांग्रेस नेताको पनि आउजाउ देखिन्छ।’
उनले उक्त कार्यक्रम राजनीतिक झमघट मात्रै भएको दाबी गरे। मन्त्री बाँस्कोटाले नेकपा जनताको पथतिर हिँड्ने दाबी गरे। ‘नेकपा नेपाली जनताको पथतिर लाग्छ। कुनै देशको क्रान्ति र परिवर्तन त्यस देशका जनताद्वारा निर्देशित हुन्छ। नेपालले कहींका विचार सिक्छ। अनुभव साट्न सक्छ। तर क्रान्ति आफ्नै मोडल हुन्छ। निर्यात हुँदैन’, उनले भने, ‘सबैलाई थाहा छ नेकपा माक्र्सवाद लेनिनवादतिर विश्वास गर्छ। हामी जनअनुमोदनमाथि विश्वास गर्छौं।’
एसिड आक्रमणकी पीडितलाई राहत
सरकारले एसिड आक्रमणबाट घाइते दुई युवतीको उपचारका लागि खर्च उपलब्ध गराउने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बैकठले एसिड आक्रमणमा परेकी काठमाडौंकी जेनी खड्का र वीरगन्जकी मुस्कान खातुनलाई उपचार र जीवनयापनका लागि जनही ३÷३ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको मन्त्री बाँस्कोटोले जानकारी दिए। आक्रमणमा परेका खड्का र खातुन कीर्तिपुर अस्पतालमा उपचार गराइरहेका छन्।
पूर्वराष्ट्रपतिलाई उपचार खर्च
पूर्वराष्ट्रपति डा. रामवरण यादवको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ। मन्त्रिपरिषद्को बैठकले भारतको चण्डिगढीस्थित अस्पतालमा उपचार गराउँदा लागेको खर्च उपलब्ध गराउने निर्णय गरेको हो।
उपचारसँग सम्बन्धित बिलको आधारमा भारतस्थित नेपाली दूतावासमाफर्त सम्पूर्ण खर्च तिर्ने निर्णय भएको मन्त्री बाँस्कोटाले जानकारी दिए। यस्तै, मन्त्रिपरिषद् बैठकले जिल्ला प्रशासन कार्यालय मोरङबाट जारी शम्भुप्रसाद मण्डलको नेपाली नागरिकता खारेज गर्ने निर्णयसमेत गरेको छ।
सरकारले तीन जना एआईजी सरुवा गर्ने निर्णय गरेको छ। एआईजी ठूले राई, पुष्कर कार्की र धीरु बस्न्यातको सरुवा गरिएको हो।