उपत्यकामा बजार अनुगमन तीव्र
काठमाडौं : सरकारले दसैंको मुखैमा व्यापारिक केन्द्र दरबारमार्गमा अनुगमन गरेको छ। वर्षभर साना/किराना पसलको अनुगमनमा केन्द्रित रहने वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बिहीबार दरवारमार्गमा अनुगमन गरेको हो।
विभागले दरबारमार्गसँगै न्यूरोड, असन, ललितपुरस्थित २३ ब्रान्डेड व्यापारिक प्रतिष्ठान र आउटलेटमा ६ वटा टोली परिचालन गरी अनुगमन गरेको छ। यसमध्ये दरबारमार्गमा मात्रै १६ वटा व्यापारिक प्रतिष्ठानमा अनुगमन गरेको थियो। अनुगमन टोली पुगेको जानकारी पाएपछि केही व्यापारिक प्रतिष्ठानका सञ्चालकले पसल नै बन्द गरेका थिए।
विभागका अनुगमन निर्देशक दीपक पोखरेलले दसैंको समयमा ब्रान्डेड व्यापारिक प्रतिष्ठानबाट छुट र अन्य नाममा उपभोक्ता बढी ठगिन भएकाले ती क्षेत्रमा अनुगमन गरिएको जानकारी दिए। उनका अनुसार दरबारमार्गको शेर्पा मल नजिकै अनुगमन टोली पुगेपछि उक्त मल बन्द गरिएको थियो।
विभागका अनुसार दरबारमार्गस्थित ब्याग, लत्ताकपडा, लुगाफाटो बिक्री गर्ने आरबी ग्रुप, मंगल मंडप इम्पेक्स, बाच एन्ड सी, क्रक्स किंस पे, एभेन्यु मार्केटिङ, सीटी वाक, फेमस ब्रान्ड शाखा, स्पोर्टस प्लाजा, हनु टे«डर्स फर्म, रिटेल कन्सेप्ट इन्टरनेसनल, इभुलेसन ट्रेडिङ, हिम इलेक्ट्रोनिक्स, डिएस स्टोर, लेवल्स स्टोर र वेन्टेन द लेदरमा अनुगमन गरिएको थियो।
‘यसमध्ये केहीसँग नियमविपरीत अनुचित कार्य गरेको अभियोगमा अनुगमन गरेको समयमै आर्थिक जरिवाना गराएका छौं’, पोखरेलले भने। उनका अनुसार मूल्य सूची नराखेको, उपभोक्ताबाट बढी रकम असुल गरेको, खरिद बिल र बिक्री मूल्य नराखेको अभियोगमा जुत्ताचप्पल बिक्री गर्ने वेन्टेन द लेदरसँग २० हजार, स्पोर्टस प्लाजासँग ७५ हजार र फेमस ब्रान्ड शाखासँग पाँच हजार रुपैयाँ जरिवाना गराइएको छ।
यसबाहेक महालक्ष्मीस्थित मेगा मार्टसँग ५० हजार, ललितपुरको काष्टमण्डप वाइन ग्लालरीसँग ५० हजार र प्रोटिन हाउससँग ५० हजार, एकान्तकुनाको लाखे सुपर स्टोरसँग १५ हजार रुपैयाँ जरिवाना गराइएको थियो। विभागले अनुगमनको क्रममा सुधार गर्न १० व्यापारिक प्रतिष्ठानलाई निर्देशन दिएको छ।
विभागको अर्को टोलीले बिहीबार नै लामो दूरीमा चल्ने यात्रुबाहक सार्वजनिक सवारीसाधनमा पनि अनुगमन गरेको छ। लामो दूरीको सवारीमा डिलक्स र एसी (वातानुकूलित) का नाममा यात्रुबाट अत्यधिक भाडा असुल्ने तर यात्रुलाई सुविधा उपलब्ध नगराएको फेला पारिएको थियो। ‘एसी र डिलक्स सवारीसाधनमा ४० प्रतिशतभन्दा बढी भाडा असुल गरेको भेटिएको छ तर यात्रुलाई सुविधा भने प्रदान गरेको भेटिएन्,’ अनुगमन निर्देशक पोखरेलले भने। उनका अनुसार सवारी धनीले एसीको नाममा ४० प्रतिशत र डिलक्सको नाममा २० प्रतिशत अतिरिक्त भाडा असुल गरेको अनुगमनका क्रममा भेटिएको थियो।