साना सवारीले खोलेनन् अग्रिम टिकट
काठमाडौं : दसैंका लागि साना सवारीसाधन (टाटा सुमो, हायस, माइक्रो)को टिकट बुकिङ खुल्न सकेको छैन। यातायात व्यवस्था विभागले सबै सवारीसाधनको टिकट बुकिङ खुलेको दाबी गरिरहेको छ। यात्रुले भने टिकट पाएका छैनन्।
रौतहटका आकाश चौधरी दसैंका लागि टिकट लिन दिनहुँ बल्खु धाइरहेका छन्। तर, यातायात व्यवसायीले दसैंका लागि सवारीसाधनको सुनिश्चिता गर्न नसक्ने भन्दै टिकट बुकिङ गर्न नमानेको उनको गुनासो छ। ‘५ गतेदेखि नै टिकट बुकिङ खुलेको भन्ने सुनेको छु। तर पाँच दिन भइसक्यो टिकट पाउन सकिएको छैन’, चौधरीले भने, ‘यातायात व्यवसायीले दसैंको मूखमा महँगो मूल्यमा टिकट बिक्री गर्न यस्तो गरेका हुन्।’
सोलुखुम्बुका फर्वा शेर्पा दसैंको टिकट लिन चाबहिल धाइरहेका छन्। गौशालामा फेन्सी व्यवसायी गर्ने उनी असोज १९ गते घर जाने टिकट लिन आएका हुन्। ‘टिकाको एक दिन घर जाने योजनामा छु। टिकटको चाँजो मिलाउन आएको हो,’ शेर्पाले भने, ‘तर टिकट बुकिङ खुलेको छैन।’ अघिल्लो वर्ष पनि टिकट बुकिङ नहुँदा दोब्बर भाडा तिरेर घर गएको उल्लेख गर्दै उनले भने, ‘सरकारले यातायातको सिन्डिकेट अन्त्य गरेको घोषणा गरेको छ। तर अहिले पनि यातायात क्षेत्रमा विकृति कायमै छ।’
यी त प्रतिनिधि पात्र मात्र हुन्। साना सवारीसाधनले विगतका दसैंमा पनि टिकट बुकिङ खुलाउने गरेका थिएनन्। यसले गर्दा यात्रु दसैंमा महँगो मूल्यमा टिकट लिन बाध्य भइरहेका छन्। साना गाडीलाई टिकट बुकिङ नगर्दा पनि यातायात व्यवस्था विभागले नियमन गर्न नसक्दा समस्या देखिएको सार्वजनिक यातायात व्यवस्थापनका अभियान्ता रामबहादुर थापा बताउँछन्।
साना सवारीले यात्रुसँग बार्गेनिङ गर्न टिकट बुकिङ लिने गरेका छैनन्। अहिलेदेखि नै बुकिङ लिँदा यात्रुलाई लागत मूल्यमै गन्तव्य पुर्याउनुपर्ने हुन्छ। दसैंमा घर जान झोला बोकेर आउने यात्रु भाडाका लागि झगडा गर्दैन। यात्रुलाई जतिसक्दो छिटो घर जान हतार हुन्छ। भाडाका लागि बार्गेनिङ गर्दा गाडी नपाइने यात्रुमा त्रास हुन्छ। व्यवसायी यात्रुको त्रासपूर्ण मनोविज्ञानलाई कमाउने अवसरका रूपमा प्रयोग गर्छन्।
दसैंमा अग्रिम टिकट बुकिङ गरेर गाडी सञ्चालन गर्न नसकिने एक व्यवसायी बताउँछन्। ‘दसैंमा काठमाडौंबाट गाउँ फर्किने यात्रु मात्र पाइन्छ। बाहिरबाट आउने यात्रु हुँदैनन्’, ती व्यसायीले भने, ‘एकतर्फी भाडाबाट गाडी सञ्चालन खर्च उठ्दैन।’ सरकारी दरमै टिकट बेच्नुपर्ने भएकाले टिकट बुकिङ नलिएको उनी बताउँछन्।
सरकारले दसैंमा गाउँ फर्किन यात्रुलाई सहज र सस्तो मूल्यमा टिकट उपलब्ध गराउन आइतबारदेखि टिकट बुकिङ खुला गरेको थियो। टिकट बुकिङ खुला भएको पाँच दिनमा पनि साना गाडी भने अटेर गरिरहेका छन्। टाटा सुमो मध्य तराई र पूर्वपहाडी जिल्लामा सञ्चालन भइरहेका छन्। हायस, माइक्रो पोखरा, नुवाकोट, चितवन, सिन्धुलीलगायत जिल्लामा चल्छ।
यी साना गाडीको टिकट चाबहिल, कोटेश्वर, बल्खु, कलंकी, गोंगबुलगायत स्थानबाट टिकट बिक्री हुन्छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उपमहासचिव लेकनाथ गौतम साना गाडी महासंघसँग आबद्ध नभएको बताउँछन्। ‘महासंघसँग आबद्ध सबै गाडीले टिकट बुकिङ खुला गरेका छन्’, उनले भने, ‘साना गाडीको जानकारी छैन।’ सरकारले टिकट बिक्री हुने मुख्य स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ। यहाँ दूरी र भाडादरको सूची टाँसिएको छ।
हालसम्म नयाँ बसपार्क, कलंकी र बल्खु,चाबहिल स्वयम्भू, माछापोखरी, नागढुंगा, कोटेश्वर, गौशाला, सुन्धारा, पुरानो बसपार्क, फर्पिङ, सातदोबाटो र भक्तपुरको जगातीलगायत स्थानमा सहायता कक्ष स्थापना भइसकेको छ।