मन्त्री यादवको स्पष्टीकरण : विमानस्थल बन्नु हुँदैन र रुख काट्न दिन्न भनेकै छैन
सिमरा : प्रदेश २ का पर्यटनमन्त्री रामनरेश राय यादवले आफू बारामा बन्न लागेको अन्तर्राष्ट्रिय विमानस्थलको विरोधी नरहेको बताएका छन् । विश्व पर्यटन दिवसको अवसरमा शुक्रबार सिमरामा आयोजित कार्यक्रममा सहभागी हुन आएका मन्त्री यादवले मिडियामा आएजस्तो विमानस्थलको विरोधमा आफू नरहेको बताए ।
अन्तर्राष्टिय विमानस्थल प्रदेश २ को भूमिमा बन्नु आफैमा गौरवको विषय रहेको भन्दै मन्त्री यादवले संघीय सरकार र प्रदेश सरकारबीच समन्वय हुनुपर्छ भन्ने मात्रै आफ्नो भनाई रहेको स्पष्ट पारे।
'मैले विमानस्थल बन्नु हुँदैन र रुख काट्न दिन्न भनेर कतै भनेको छैन । मिडियामा आउँदा त्रुटी भएको हुनसक्छ,' मन्त्री यादवले भने, 'संघीय सरकारले हामीसँग समन्वय गरेन र विमानस्थलको नाममा अनावश्यक रुख काट्नु हुँदैन् मात्रै भनेको हुँ । विमानस्थलको नाममा व्यापार गर्नु हुँदैन। कम रुख कटान गरेर विमानस्थल बनाउँदा कुनै आपत्ती छैन् ।'
आवश्यकता अनुसार रुख कटान गरी विमानस्थल बनाउन सकिने भएपनि त्यसका लागि प्रदेश सरकारसँग समन्वय गर्न जरुरी रहेको मन्त्रीको भनाई छ। मन्त्री यादवले संघीय सरकारले प्रदेश सरकारसँग समन्वय नगर्नु दुःखद् पक्ष रहेको बताए । 'राष्ट्रिय वन क्षेत्रको अधिकार अहिले प्रदेश सरकारको मातहतमा रहेको छ । तर यही प्रदेशभित्र विमानस्थल बनाउँदा प्रदेश सरकारसँग समन्वय गरिएको छैन्,' मन्त्री यादवले भने, 'हामी पनि विमानस्थलकै पक्षमा छौं तर समन्वयको अभाव छ ।'