सार्क मन्त्रीस्तरीय बैठक : भारतीय विदेशमन्त्री बाहिरिएपछि पाकिस्तानी विदेशमन्त्रीको प्रवेश

सार्क मन्त्रीस्तरीय बैठक :  भारतीय विदेशमन्त्री बाहिरिएपछि पाकिस्तानी विदेशमन्त्रीको प्रवेश

न्यूयोर्क :  भारत–पाकिस्तान विवादका बीच न्युयोर्कमा सार्क विदेशमन्त्री स्तरीय बैठक सम्पन्न भएको छ । कश्मीर विवादलाई लिएर भारत–पाकिस्तानबीच तिक्तता बढेको छ । सोही कारण विदेशमन्त्री स्तरीय बैठक उपलब्धिमूलक हुन नसकेको सहभागीले जनाएका छन् ।

सार्क अध्यक्षका नाताले बैठकको आयोजना नेपालले गरेको थियो । बैठकको अध्यक्षता परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले गरेका थिए ।

भारत र पाकिस्तानले बैठक बहिष्कार त गरेनन् तर नेपाली समयअनुसार शुक्रबार बिहान भएको बैठकमा दुई देशका मन्त्री सँगै सहभागी भएनन् ।

भारतीय विदेशमन्त्री यस जयशंकर सुरुमै पुगेका थिए । उनी महासभाअन्तर्गतका सहायक बैठकमा व्यस्त रहेको कारण देखाएर बाहिरिएका थिए । त्यसपछि पाकिस्तानी विदेशमन्त्री साह महमद कुरेसी बैठकस्थल प्रवेश गरेका थिए ।

विगत चार वर्षदेखि सार्क शिखर सम्मेलन हुन नसक्दा कैयन् प्रक्रिया अवरुद्ध छन् ।

बैठकमा सार्क राष्ट्रअन्तर्गत परराष्ट्र तथा विदेश मामिला हेर्ने मन्त्रीका साथै महासभामा सहभागी विभिन्न मुलुकका प्रतिनिधि सहभागी थिए । बैठक दक्षिण एसिया क्षेत्रको बृहत्तर विकासमा केन्द्रीत रहेको परराष्ट्रमन्त्री ज्ञवालीले बताए।

मन्त्री ज्ञवालीले अन्नपूर्णसँग भने, ‘बैठक सफलतापूर्वक सम्पन्न भएको छ । ’ उनले सबै सदस्य राष्ट्र आर्थिक विकास, औद्योगिक, पर्यटन लगायतका क्षेत्रमा सहयकार्य गर्दै अगाडि बढ्नुपर्ने एकमत देखिएको बताए । ‘समस्या समाधान गर्दै सार्कलाई अझै सकारात्मक र बलियो बनाउन सकिन्छ भन्ने मान्यता सबैको पाएँ,’ उनले भने, ‘पछिल्ला घटनाक्रमले सार्क क्षेत्रमा जटिलता थपिएको छ । यसको समाधान वार्ताबाटै हुन्छ भन्नेमा हामी सकारात्मक छौं ।’

मन्त्री ज्ञवालीका अनुसार पाकिस्तानले १९औं शिखर सम्मेलन गर्न तयारी रहेको जानकारी गराएको छ । पाकिस्तानले शिखर सम्मेलन गर्न तयार रहेको बताउँदै आए पनि भारतले अस्वीकार गर्दा अवरुद्ध भएको हो ।

बैठकमा भारतीय विदेशमन्त्री जयशंकरले आफ्नो मुलुक एकताबद्ध दक्षिण एसियाका पक्षमा रहेको बताएका थिए । बैठकले श्रीलंकाबाट प्रस्तावित महासचिवको नाम स्वीकार गरेको छ । वर्तमान महासचिवको कार्यकाल आगामी फेब्रुअरीमा सकिँदै छ ।

मन्त्री ज्ञवाली बिहीबार नै अतिविकसित मुलुकका मन्त्रीहरुको बैठक र महासभा बैठकका अध्यक्षले बोलाएको आणविक हतियारसम्बन्धी उच्चस्तरीय बैठकमा सहभागी भए । महासभामा मन्त्री ज्ञवालीले नेपाली समयअनुसार शनिबार बिहान सम्बोधन गर्ने कार्यक्रम छ ।


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.