बैंक ह्याक प्रकरण : थप तीन पक्राउ
काठमाडौं : कृषि विकास बैंक ह्याकिङ प्रकरणमा थप तीनजना पक्राउ परेका छन्। यो सँगै ह्याकिङ प्रकरणमा पक्राउ पर्नेको संख्या १६ पुगेको छ। महानगरीय अपराध महाशाखाले कञ्चनपुर प्रहरीको सहयोगमा कञ्चनपुरबाट यज्ञराज भट्ट र पर्वत प्रहरीको सहयोगमा मालतीदेवी न्यौपाने र राजधानीको नयाँ बसपार्कबाट पर्वतका गणेशप्रसाद बस्याललाई पक्राउ गरेको छ।
कञ्चनपुरबाट पक्राउ परेका भट्टको कृषि विकास बैंक कञ्चनपुर शाखामा रहेको खातामा ४५ लाख र पर्वतबाट पक्राउ परेका न्यौपानेको बैंककै पर्वत शाखामा २८ लाख रुपैयाँ ट्रान्सफर भएको देखिको छ।
महाशाखाका प्रमुख एसएसपी सहकुल थापाका अनुसार बिहीबार स्याङ्जाबाट पक्राउ परेका रामकृष्ण भुसालले दिएको बयानमा बस्यालको संलग्नता खुलेपछि उनलाई नियन्त्रणमा लिएको हो।
स्याङ्जामा पक्राउ परेका भुसाल स्थानीय प्रतीक्षा निर्माण सेवाका मालिक हुन्। प्रहरीको बयानमा भुसालले पर्वतका गणेशप्रसाद बस्यालले आफ्नो खाता नम्बर मागेर पैसा हाल्न लगाएको र आफूबाट पटकपटक गरी ४७ लाखको चेक लिएर खाताबाट पैसा निकालिसकेको खुलाएका छन्।
ह्याकर समूहले बैंकको सिष्टम ह्याक गरी चार करोड ७३ लाख रुपैंया निकालेका थिए।