प्रदेश गएका कार्यालय जिल्लामै रहनुपर्छ : प्रचण्ड
दोलखा : नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीयताको भावनाअनुसार जिल्लामा चाहिने कार्यालय जिल्लामै राख्नुपर्ने बताएका छन्।
नेकपा अध्यक्ष दाहालले संघीयतापछि जिल्लाबाट प्राप्त हुँदै आएको सेवा सुविधासमेत प्रदेशमा पुगेकोले जनताले दुःख पाएको गुनासो सुनिन थालेको उल्लेख गर्दै जिल्ला तहमा भएका हरेक कार्यालयहरू ढिला चाँडो जिल्लामा नै राखिने बताएका हुन्।
शुक्रबार पूर्वीदोलखाको जिरी नगरपालिकाको नवनिर्मित भवन उद्घाटन, जिरी एफएमको दोस्रो वार्षिक साधारणसभा तथा प्रथम सगरमाथा आरोहि एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाको शालिक अनावरण कार्यक्रममा बोल्दै नेकपा अध्यक्ष दाहालले यस्तो बताएका हुन्।तेस्रोपटक जिरी आएका अध्यक्ष दाहालले जनतालाई सहज ढङ्गले सेवा सुविधा दिनको लागि हरेक काम स्थानीय तहबाटै हुनुपर्नेमा झन् जिल्लामा भएका कार्यालयहरू समेत प्रदेशमा जानेकुरा स्वीकार्य नहुने समेत जनाएका छन्।