प्रेम र यौन दुराचार हैन, संस्कृत साहित्यका १० उदाहरण

प्रेम र यौन दुराचार हैन, संस्कृत साहित्यका १० उदाहरण

अहिले आम मानिसको धारणा के छ भने, हाम्रो समाज पहिले स्वच्छ थियो, पाश्चात्त्य प्रभावले दुराचार बढ्दै गयो। तर वस्तुस्थिति त्यस्तो होइन भन्ने कुरा ऐतिहासिक दृष्टिले हेर्दा स्पष्ट हुन्छ।


उहिले उहिले अहिलेको जस्तो विवाह गरेर स्त्री र पुरुष बाँधिएर बस्ने चलन थिएन। स्त्रीहरू स्वतन्त्र थिए। रतिक्रिया जोसुकैसँग गरे पनि औँला ठड्याइँदैनथ्यो। पछि विवाह गर्ने चलन चल्यो। त्यो चलन चले पनि स्त्री र पुरुष एउटैसँग बाँधिएर बस्नुपर्ने नै भन्ने थिएन। विवाह एउटासँग भए पनि स्त्री र पुरुष अरूसँग लाग्न सक्थे। यसलाई दुराचार मानिँदैनथ्यो। यस्तो सम्बन्धको चर्चा महाभारतमा एक ठाउँमा यसरी आएको छ (१।११३।४–१७)—

महर्षि उद्दालक पत्नी र छोरासँग बसिरहँदा एक जना ब्राह्मण आई उनकी पत्नीको हात समातेर लिएर गएछन्। यस्तो देखेर छोराचाहिँको पारो चढेछ र उनले बाबुलाई भनेछन्— हजुर के हेरेर बसिरहनुभएको ? के त्यसलाई रोक्नुपर्दैन ?

त्यसपछि उद्दालकले छोरा श्वेतकेतुलाई सम्झाउँदै भनेछन्— हेर बाबु ! उहिले उहिले स्त्रीहरू पुरुषहरूसँग अनावृत अर्थात् घुलमिल नभएका हुँदैनथे, उनीहरू स्वतन्त्र हुन्थे, जोसँग उठबस गर्न मन लाग्यो उसैसँग गर्थे, कुमारी अवस्थादेखि नै स्त्रीहरू कुनै नियममा बस्दैनथे, त्यसलाई अधर्म पनि मानिँदैनथ्यो, बरु त्यही नै धर्म मानिन्थ्यो, त्यही पुरानो धर्म पशुपञ्छी र कीराहरूमा अहिलेसम्म पनि चलिआएको छ, सबै वर्गका स्त्री उहिले अनावृत हुन्थे, जस्तो अहिले गाईवस्तु छन्, यही धर्मको आदर महर्षिहरू पनि गर्छन्, अहिलेसम्म पनि उत्तरकुरुमा (हिमालयको उत्तरी भागमा) यही चलन कायम छ।

यो त हजारौँ वर्षअगाडिको चलन भयो। पछि आएर स्त्री–पुरुषसम्बन्ध निकै मर्यादित भयो। यस कारण माथि महाभारतको आधारमा जस्तो लेखियो, त्यस्तो चलन महाभारत रचिँदा हराइसकेको थियो। सामान्य मानिसले यस्तो चलन थियो भन्ने कुरा बिर्सेको पनि हजारौँ वर्ष भइसकेको थियो।

अहिले आम मानिसको धारणा के छ भने, हाम्रो समाज पहिले स्वच्छ थियो, पाश्चात्त्य प्रभावले दुराचार बढ्दै गयो। तर वस्तुस्थिति त्यस्तो होइन भन्ने कुरा ऐतिहासिक दृष्टिले हेर्दा स्पष्ट हुन्छ। जसलाई दुराचार भनिन्छ, त्यो मनुष्य मात्रको प्रवृत्ति हो, त्यसबाट निवृत्त हुन सक्नु ठूलो कुरा हो। संस्कृतसाहित्यमा देखिएको यस्तो लोकचरित्रको उद्घाटन गर्न यो सानो लेख कोरिएको हो।

अहिले खूब चर्चामा आइरहेको विवाहेतर सम्बन्धकै कुरा गरौँ। संस्कृतसाहित्यमा नायिकाका भेद देखाउँदा आफूसँग विवाह भएकीलाई स्वकीया, विवाह भइसकेकी तर परपुरुषसँग लहसिएकी वा विवाह नभई कन्या अवस्थामै केटासँग लागेकीलाई परकीया भन्ने चलन छ। प्रसिद्ध अलङ्कारशास्त्री भानुदत्तले आफ्नो रसमञ्जरी (२० श्लोकपछिको गद्यवाक्य)मा दिएको परकीया नायिकाको परिभाषाको उद्धरण यहाँ गर्नु अप्रासांगिक नहोला—

अप्रकटपरपुरुषानुरागा परकीया। सा च द्विविधा परोढा कन्यका च। कन्यायाः पित्राद्यधीनतया परकीयात्वम्। अस्या गुप्तैव सर्वा चेष्टा।

अर्थात अरूले थाहा नपाईकन परपुरुषसँग प्रेम गर्नेलाई परकीया भनिन्छ। परकीया दुइ प्रकारका हुन्छन्— अरूसँग विवाह भएकी र कन्या। बाबुहरूको अधीनमा कन्या हुने हुनाले कन्या परकीया कहिन्छे। उसको सबै चेष्टा गोप्य नै हुन्छ।

यस्ता विषय संस्कृतसाहित्यमा निकै छरपट्टिएका छन्। तिनमध्ये १० पद्य नमूनाको लागि मूल र उल्थासहित तल दिइन्छन्। तल दिइएका पद्य सुभाषितको संग्रह गरिएका दुइ ग्रन्थ र अलङ्कारशास्त्रका दुइ ग्रन्थबाट झिकिएका हुन्। यहाँ उपयोग गरिएका सुभाषितग्रन्थमध्ये एउटा बाह्रौँ शताब्दीका बौद्ध भिक्षु विद्याकरले संकलन गरेको सुभाषितरत्नकोष र अर्कोचाहिँ अर्वाचीन विद्वान् काशिनाथ पाण्डुरङ्ग परबले संकलन गरेकोे सुभाषितरत्नभाण्डागार हो। त्यस्तै गरी अलङ्कारग्रन्थमध्ये एउटा भानुदत्तको रसमञ्जरी र त्यसको टीका र अर्कोचाहिँ विश्वनाथ कविराजको साहित्यदर्पण हो। यहाँ सुभाषितरत्नकोषबाट चारवटा, रसमञ्जरी, साहित्यदर्पण र सुभाषितरत्नभाण्डागारबाट दुइदुइवटा पद्य झिकिएका हुन्।

तलको पद्य विद्या भन्ने नाउँ भएकी कवयित्रीले रचना गरेकी हुन्। यो पद्य सुभाषितरत्नकोषबाट झिकिएको हो (८०७ श्लोक)। यस पद्यमा लोग्ने घरमा नभएको मौका छोपी कुनै निहुँ पारेर परकीया नायिका बाहिर जान लाग्दाको अवस्थाको चित्रण गरिएको छ—

दृष्टिं हे प्रतिवेशिनि क्षणमिहाप्यस्मद्गृहे दास्यसि

प्रायेणास्य शिशोः पिता न विरसाः कौपीरपः पास्यति।

एकाकिन्यपि यामि तद् वनमितः स्रोतस्तमालाकुलं

नीरन्ध्राः स्तनमालिखन्तु जठरच्छेदा नलग्रन्थयः।।

अर्थात हे छिमेकी दिदी ! हाम्रो घरतर्फ पनि यसो आँखा लगाइदेऊ। यस बच्चाको बाबु कुवाको बेस्वादिलो पानी खान मन गर्दैन। त्यसैले तमालको रूखैरूख भएको पानीको सोतोतिर एकलै भए पनि म जान्छु। नर्कटका, छिद्र नभएका, कडा र तीखा, भाँचिएका गाँठागुठीले स्तनमा कोरे पनि कोरून्।

अर्को पद्य योगेश्वर भन्ने कविको हो। यो पद्य पनि सुभाषितरत्नकोषबाटै झिकिएको हो (८१४ श्लोक)। नायक र परकीया नायिकाले प्राक्क्रीडा नगरी हतारहतारसँग गरेको भेटको कुरा यस पद्यमा छ—

व्यपेतव्याहारं गतविविधशिल्पव्यतिकरं

करस्पर्शारम्भप्रगलितदुकूलान्तशयनम्।

मुहुर्बद्धोत्कम्पं दिशि मुहुः प्रेषितदृशो–

रहल्यासुत्राम्णोः क्षणिकमिव तत् संगतमभूत्।।

अर्थात कुराकानी छैन, थरीथरीका सीपको पनि प्रयोग छैन, हात छोएदेखि शुरू भएको काम सारी खसेपछि टुङ्गियो। वारंवार काँपी यताउति हेरी गरिएको त्यो संगत अहल्या र इन्द्रको जस्तो क्षणिक भयो।

सुभाषितरत्नकोषबाट झिकिएको तलको पद्य (८१९ श्लोक)मा श्रीकृष्णसँग रसवस गर्दा गोपिनीले गरेको सिङ्गारपटार मेटिएको विषयको चित्रण यसरी गरिएको छ—

ध्वस्तं केन विलेपनं कुचयुगे केनाञ्जनं नेत्रयो

रागः केन तवाधरे प्रमथितः केशेषु केन स्रजः।

तेनाशेषजनौघकल्मषमुषा नीलाब्जभासा सखि

किं कृष्णेन न यामुनेन पयसा कृष्णानुरागस्तव।।

अर्थात तिम्रा स्तनको लेप, आँखाको गाजल र ओठमा लगाएको रङ्ग कसले मेटिदियो ? कपालमा लगाएको माला कसले धूलो पारिदियो ? हे सँगिनी ! सबै मानिसको पाप पखाल्ने, नीलकमलको जस्तो चहक भएका कृष्णले हो कि ? होइन, यमुनाको पानीले। कृष्णउपरको तिम्रो प्रेम गजबको छ।

नायककहाँ जान तम्सेकी परकीया नायिकालाई पतिगृहबाट निस्कन परेको अप्ठेरोको चित्रण सुभाषितरत्नकोषबाट झिकिएको तलको पद्य (८३० श्लोक)मा यसरी गरिएको छ —

पतिर्दुर्वञ्चोऽयं विधुरमलिनो वत्र्म विषमं

जनश्छिद्रान्वेषी प्रणयिवचनं दुःपरिहरम्।

अतः काचित् तन्वी रतिविहितसंकेतगतये

गृहाद् वारंवारं निरसरदथ प्राविशदथ।।

अर्थात लोग्नेलाई झुक्याउन गाह्रो छ, चन्द्रमाको किरण पनि मधुरो छैन, बाटो पनि उबडखाबड छ, मानिसहरू पनि मौका पायो कि कुरा काट्ने खालका छन्। त्यसो भए पनि प्रेमीको वचन टार्न गाह्रो छ। यस कारण रतिको लागि संकेत गरिएको ठाउँमा जान वारंवार कुनै पातलीले घरबाट निस्कँदै पस्दै गरिन्।

तल दिइएको श्लोक विवाहेतर सम्बन्धमा बदनामीको प्रचुर सम्भावना हुँदा हुँदै पनि जबरदस्त आकर्षणको विषयमा छ। यो श्लोक रसमञ्जरीको टीका (२० श्लोकपछिको गद्यवाक्य)बाट उतारिएको हो—

ज्ञाता मैत्री सहजमधुरापातिभिर्लोचनान्तैः

कर्णाकर्णि प्रथितमयशो बन्धुवर्गैरभाणि।

सम्प्रत्येवं तदपि न मनाङ् मुञ्चति प्राणनाथं

को जानीते कुवलयदृशः कीदृशः प्रेमबन्धः।।

अर्थात सहजै मधुर ढङ्गले हेरिएका कटाक्षद्वारा मित्रता प्रकट भयो। एक कान दुइ कान मैदान गरी बदनामी फैलियो भनी इष्टमित्रहरूले भने। त्यसो भए पनि अहिले प्राणनाथलाई अलिकति पनि छोड्दिनन्। कमलनयनीको प्रेमको बन्धन कस्तो छ भन्ने कसलाई थाहा छ।

नदीकिनारमा परकीया नायिकाको रमाउने इच्छाको चित्रण रसमञ्जरी (२१ श्लोक)मा यसरी गरिएको छ—

अयं रेवाकुञ्जः कुसुमशरसेवासमुचितः

समीरोऽयं वेलावनविदलदेलापरिमलः।

इयं प्रावृड् धन्या नवजलदविन्यासरुचिरा

पराधीनं चेतः सखि किमिति कर्तुं मृगयते।।

अर्थात नर्मदा नदीको यो लताकुञ्ज कामदेवको सेवा गर्न उचित छ। नदीकिनारको वनमा पाकेको अलैँचीको मगमग वासना यो हावामा मिसिएको छ। नयाँ बादलको तरेलीले गर्दा राम्रो देखिएको यो वर्षा ऋतु धन्य छ। हे सँगिनी ! पराधीन मन केही गर्न खोज्दैछ।

विवाहअगाडि जो पुरुषसँग सम्बन्ध भयो, त्यही पुरुषसँग विवाह भएपछि ती स्त्रीको मनमा खेलेको भाव यहाँ चर्चा गर्न लागिएको तलको पद्यमा व्यक्त छ। यो श्लोक साहित्यदर्पण (१।१०)मा उद्धृत छ। यही पद्य केही पाठान्तरसहित सुभाषितरत्नकोष (८१५ श्लोक)मा पनि छ। आरोहक भगदत्त जल्हणद्वारा सङ्कलित सूक्तिमुक्तावलीमा यो पद्य शिलाभट्टारिका भन्ने कवयित्रीले रचेको भनी लेखिएको छ—

यः कौमारहरः स एव हि वरस्ता एव चैत्रक्षपा–

स्ते चोन्मोलितमालतीसुरभयः प्रौढाः कदम्बानिलाः।

सा चैवास्मि तथापि तत्र सुरतव्यापारलीलाविधौ

रेवारोधसि वेतसीतरुतले चेतः समुत्कण्ठते।।

अर्थात मेरो कौमार्य जसले हर्‍यो ऊ नै अहिले मेरो पति छ, चैत महीनाको रात पनि त्यही छ, फुलेको चमेली र छिप्पिएको कदमको फूलको वासनाले भरिएको हावा पनि त्यही छ, म पनि उही नै हुँ, त्यसो भए पनि नर्मदा नदीको किनारमा बेतको झाङमा कामक्रीडामा लिप्त हुन मेरो मन चौचौ भइरहेछ।

साहित्यदर्पण (तेस्रो परिच्छेदमा ६६ कारिकाको उदाहरण)मा आफ्नो घरपरिवार थाम्दा थाम्दै परकीयात्वको रूप कायम गर्न मुश्किल पर्दा परकीया नायिकाले नायकलाई पठाएको सन्देश यसरी दिइएको छ—

स्वामी निःश्वसितेऽप्यसूयति मनोजिघ्रः सपत्नीजनः

श्व श्रूरिङ्गितदैवतं नयनयोरीहालिहो यातरः।

तद् दूरादयमञ्जलिः किमधुना दृग्भङ्गिभावेन ते

वैदग्धीमधुरप्रबन्धरसिक व्यर्थोऽयमत्र श्रमः।।

अर्थात लामो सास फेरे पनि स्वामीले रीस गर्छन्, सौताहरू मन सुँघ्छन्, सासूबाट इशारा लुकाउन सकिँदैन,

जेठानी–देउरानीहरू आँखाको चेष्टा बुझ्छन्। त्यस कारण हजुरलाई टाढैबाट नमस्कार गर्छु। आँखाको कर्काइले अहिले के भयो ? चलाखीद्वारा राम्रो प्रबन्ध गर्न सक्ने हे रसिक ! यहाँ परि श्रम व्यर्थै गयो।

सासू, जेठानी–देउरानी र नन्दको आँखा छली नायकसँग सम्बन्ध कायम राख्न परकीया नायिकालाई परेको अप्ठेरोको चित्रण सुभाषितरत्नभाण्डागारमा संकलित तलको पद्य (असतीरचित ५८ श्लोक)मा यसरी गरिएको छ—

कार्येणापि विडम्बनं परगृहे श्व श्रूर्न संमन्यते

शङ्कामारचयन्ति यूनि भवनं प्राप्ते मिथो यातरः।

वीथीनिर्गमनेऽपि तर्जयति च क्रुद्धा ननान्दा पुनः

कष्टं हन्त मृगीदृशां पतिगृहं प्रायेण कारागृहम्।।

अर्थात काम पर्दाखेरि अरूको घरमा ढीलोसम्म बस्न सासूले अनुमति दिन्नन्, जवान मान्छे घरमा आइपुग्यो भने जेठानी–देउरानीहरू शङ्का गर्छन्, बाटोमा निस्कँदा पनि नन्दले रिसाइ तर्साउँछिन्। हरे, मृगनयनीहरूको लागि धेरैजसो लोग्नेको घर झ्यालखाना जस्तो नै हुँदो रहेछ।

१०

परकीया नायिकाले कसरी निहुँ पारी आफ्नो इच्छा पूरा गर्छिन् भन्ने कुरा सुभाषितरत्नभाण्डागार (असतीरचित ७४ श्लोक)को तलको पद्यमा छ—

शून्यं वेश्म चिरायितो गृहपतिर्जाताधुना शर्वरी

स्थातुं नोचितमत्र गच्छ निभृतं लोकैरनालक्षितः।

इत्थं लोलदृशा ह्यसाध्वभिहितो दासीमुखेनाध्वगः

स्थित्वा किंचिदिव क्व यामि रजनी प्राप्तेत्युदीर्य स्थितिः।।

अर्थात घर शून्य छ, घरका मालिक ढीलो आउँछन्, अहिले रात परिसक्यो, अब यहाँ बस्नु ठीक छैन, मानिसहरूले नदेख्ने गरी सुटुक्क जानुहोस्। यसरी चञ्चलनयनीले दासीमार्फत बटुवालाई भन्न लगाउँदा केही बेर अलमलिए जस्तो गरी रात परिसक्यो, अब कहाँ जाने भनी ऊ त्यहीँ बस्यो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.