विरहीको यादमा

विरहीको यादमा

गगन धर्तीमा थियो– फेरि गगन नै भयो।


ऊ कवि हो। गीतकार हो। चलचित्र निर्माता र निर्देशक हो। टेलिभिजनको कार्यक्रम प्रस्तोता हो। रंगमञ्चको कलाकार हो। सम्पादक हो। शिक्षक हो। ऊ– गगन विरही हो। तीसको दशकमा साहित्य क्षेत्रमा प्रवेश गरेका धेरै समकालीन साथीमध्ये एउटा प्रभावशाली साहित्यिक हस्ताक्षर गगन विरही हो।

३ माघ, २०१४ सालमा बाह्रबिसे बजार, सिन्धुपाल्चोकमा जन्मिएको ‘गगन लाल’ अरूले दिएको नाममा सन्तुष्ट रहन सकेन। पछि आफैंले आफ्नो नामकरण गर्‍यो र गगन ‘विरही’ भयो।

हो, त्यही गगन विरहीको कुरा लेख्न खोज्दैछु म। तर उफ ! कत्ति अप्ठ्यारो ! अभिव्यक्तिका सन्दर्भमा नजिकको सम्बन्ध आफैंमा एउटा ‘सकस’ हुँदो रहेछ। अहिले म त्यही सकस अनुभव गरिरहेको छु।

२०३४/३५ सालदेखि हिमचित र उठ्बस मात्र होइन हामीले सँगसँगै धेरै दिन र रातहर बितायौं। सँगसँगै कविता र गीत लेख्यौं। नाटकको पछि पनि उसैगरी दगुर्‍यौं। साहित्यिक कार्यक्रमहरूमा भाग लिन काँधमा काँध जोड्दै कहिले पोखरा, कहिले पाल्पा त कहिले विराटनगर–झापातिर पनि पुग्यौं। ठुस्कियौं वा रिसायौं पनि होला एकापसमा कहिलेकाहीँ। फेरि पनि आँखा झिम्क्याएजस्तो मित्रताको त्यही लय र तालमा अनवरत हिँडिरह्यौं।

१४ असोज, २०७५ का दिन उसले काठमाडौंस्थित नर्भिक अस्पतालमा मृत्युवरण गर्‍यो र त्यही दिनबाट हामीबीच हुने दोहोरो संवादको सिलसिला टुंगियो।

एक वर्षपछि अहिले म उसलाई अक्षरहरूमा उन्न खोजिरहेको छु।

०००

फर्केर हेर्दा—

२०३४/३५ सालतिर काठमाडौंको न्युरोड पीपलबोटनजिकै रहेको ‘मोती महल’ नामको रेस्टुराँमा सम्भवतः पहिलो पटक भेटिएका हौं— हामी। हप्ताको कुनै निश्चित दिन र समयमा चिया पिएर एकापसमा भेटघाट र कुराकानी गर्नका लागि साहित्यकारहरूलाई सुविधा दिएका थिए— रेस्टुराँका मालिकले।

त्यही भेट, अभिव्यक्ति स्वतन्त्रताको पक्षमा वा भनौं निर्दलीय पञ्चायती व्यवस्थाको विरुद्धमा छेडिएको २०३६ सालको ‘सडक कविता क्रान्ति’मा बाक्लियो र २०३८ सालमा नाट्य संस्था ‘सर्वनाम’ स्थापनापछि थप उजेलियो। यही बेला हामीलाई ‘गीत’को चस्काले पनि छोयो। गगन र म अब साहित्यिक कार्यक्रम र सर्वनाममा मात्र होइन कहिले रेडियो नेपालको परिसरतिर त कहिले पुलिस क्लबपछाडि बागबजारमा रहेको लोक गायक तथा संगीतकार मित्र स्वर्गीय राम थापाको डेरा–कोठामा भेटिन र घण्टौंघण्टा गफिन थालिसकेका थियौं। ‘तपाई’बाट ‘तिमी’ हुँदै यहाँसम्म आइपुग्दा हामी एकअर्कालाई बिना कुनै संकोच ‘तँ’ भन्न थालिसकेका थियौं।

‘सर्वनाम’ले प्रस्तुत गर्ने नाटकहरूमा गगन अभिनय गर्दथ्यो भने म एक किसिमले ‘सर्वनाम’को स्थायी उद्घोषककै जिम्मेवारीमा थिएँ भन्दा हुन्छ। त्यस बेला सर्वनाम, हाम्रो लागि सामूहिक घरजस्तै थियो।

‘सर्वनाम’को माध्यमबाट नाटकमा केही नयाँ काम गर्न उद्यत रहेकै बेला हामीले कवितामा पनि केही नयाँ काम गर्ने सोच बनायौं र साथीहरू अशेष मल्ल, गगन विरही, विष्णुविभु घिमिरे र म समेतका चार जनाले आआफ्नै स्वरमा आआफ्ना कविता रेकर्ड गराई सम्भवतः नेपालमा पहिलो पटक भदौ, २०४१ सालमा ‘कविताको मौसम’ शीर्षकको कविता क्यासेट सार्वजनिक बिक्री–वितरणमा ल्यायौं।

चारै जना मिलेर हामीले एउटा अर्को नयाँ काम पनि गर्‍यौं— त्यस बेला। र, त्यो थियो— एउटा विषयवस्तुमाथि चार जनाले कविता लेख्ने। कविताको ‘प्लट’ बाँड्यौं। कविता लेख्यौं। सँगै बस्यौं र छलफल गर्‍यौं। पटकपटक परिमार्जन गर्‍यौं। गगनले साफी गरेर ल्याएपछि पनि फेरि चारैजना बसेर कहीँ कहीँ सच्यायौं (मिलायौं) र त्यसलाई अन्तिम रूप दियौं। कविता छाप्न बाँकी नै थियो। २०४१ सालको दशैंअगाडि नै म सरकारी वकिल भएर बैतडी गएँ। २०४२ सालदेखि गगन नेपाल टेलिभिजनमा आबद्ध भयो। अशेष र विभु पनि आआफ्नो जागिरमा व्यस्त हुन थालेपछि त्यो संयुक्त कविता नछापिएरै रह्यो। बिस्तारै हामीले त्यसलाई बिर्संदै पनि गयौं। पछि आफ्ना पुराना कागजातहरू पल्टाउँदै जाँदा गगनले साफी गरेपछि हामीले कताकति सच्याएको पाण्डुलिपि मकहाँ फेला पर्‍यो र मेरै पहलमा ‘एउटा बस्तीको कथा’ शीर्षकमा यो संयुक्त कविता भदौ, २०५७ सालको ‘मधुपर्क’ (मासिक)मा छापियो। यतिन्जेलसम्म कविताको कुन अंश कसले लेखेको थियो भनेर आफैंले पनि खुट्याउन नसक्ने अवस्था भइसकेको थियो।

०००

२०३५ सालमै गगनको ‘मैले छोडेका डोबहरू’ शीर्षकको पहिले कवितासंग्रह छापिएको हो भने त्यसपछि ‘उही घाम उही जून’, ‘हिँडेको फूल’, ‘एउटा बस्तीको कथा (संयुक्त)’ र ‘हस्ताक्षर’ शीर्षकमा उसका गीत–कविताका पुस्तकहरू प्रकाशित भएका छन्।

बीचबीचमा गगन कविताबाट हराएजस्तै लाग्थ्यो। तर यथार्थमा ऊ हराएको भने हुँदैनथ्यो। आफू गम्भीर बिरामी अवस्थामा हुँदा पनि उसले कविता लेख्यो र छपाइरह्यो। यस अर्थमा उसले कवितासँगको आफ्नो पहिलो साहित्यिक सम्बन्धलाई जीवनभर कायम नै राख्यो। ‘हस्ताक्षर’ शीर्षकको कवितासंग्रह त उसले मृत्युवरण गर्नुभन्दा करिब एक घण्टाअगाडि मात्रै सार्वजनिक भएको थियो।

०००

‘तिमीलाई अचेल कहाँ भेटूँ ? पहरामा भेटूँ कि छहरामा भेटूँ ? ’, ‘पानीको रिमझिम बर्षातको बेला धीत मारेर किन रुझेकी ? ’ बोलको राम थापाको संगीतमा क्रमशः प्रेमध्वज प्रधान र प्रकाश श्रेष्ठको स्वरमा गुञ्जिएका यी गीतहरू २०४८–५० सालताका अत्यन्तै लोकप्रिय थिए। यहीँनेर सम्झनुपर्ने हुन्छ, राम थापासँगको सहकार्यबाटै मजस्तै गगन पनि सांगीतिक क्षेत्रमा चिनिएको हो।

२०४६ सालको परिवर्तनपछि रेडियो नेपालमा मात्र गीत रेकर्ड हुने सिलसिला एकातिर अन्त्य भयो भने अर्कोतिर निजी क्षेत्रको सहभागितासँगै चलचित्र निर्माण प्रक्रियाले पनि अलिकति गति लिन थाल्यो। मैले अब चलचित्रका लागि पनि गीत लेख्न थालेँ भने अलि पछाडि गगनले पनि चलचित्रका लागि गीत लेख्न सुरु गर्‍यो। म सम्झन्छु— २०४८ सालको कुनै दिन गगन र म पानीपोखरीस्थित संगीतकार मित्र शम्भुजित बास्कोटाको घरमा पुगेका थियौं। बास्कोटाजीले हामीलाई चलचित्र ‘भाउजू’का लागि एक एकवटा गीत लेख्न निम्त्याउनुभएको थियो। चलचित्रको एकसरो कथा सुनिसकेपछि उसले ‘सिचुएसन’ छान्न चाह्यो। मैले स्वाभाविक ढंगमा सहमति जनाएँ। उसले चलचित्र भाउजूका लागि गीत लेख्यो— मेरो जोबनको आँगनीमा...। त्यसपछि उसले दर्जनौं चलचित्रका लागि गीत लेख्यो। ‘संकल्प’ नामक चलचित्रमा उसले लेखेको— ‘अधुरो लाग्यो, अपूरो लाग्यो, सम्बन्ध हाम्रो साँघुरो लाग्यो’ र ‘आँधीसँग खेल्नु पर्छ, हुरीसँग खेल्नु पर्छ’ बोलका गीतहरूले चलचित्रका गीत लेखनको सन्दर्भमा, गगनलाई लोकप्रियताको नयाँ उचाइ दियो।

‘तिमीलाई अचेल कहाँ भेटूँ ? ’ र ‘निस्सिम’ शीर्षकका दुईवटा गीति एल्बमहरू पनि प्रकाशनमा आएका छन्— गगनका।

०००

गगनले आफ्नै प्रकाशन र सम्पादनमा ‘सुसेली’ नामको साहित्यिक द्वैमासिक पत्रिका पनि निकाल्यो— केही वर्ष। विशेषांक पनि निस्किए— त्यसका। समकालीन साहित्यकारका साहित्यिक रचनाहरूलाई ‘सुसेली’ले प्राथमिकता दिने गर्थ्यो।

०००

नेपाल टेलिभिजनमा काम गर्न थालेपछि क्यामरासँग बढ्दै गएको आकर्षण र चलचित्रका लागि गीत लेख्दाको चस्कोले गगनलाई राम्रैसँग छोयो। फलस्वरूप २०४८/४९ सालदेखि उसले केही चलचित्रको निर्माण र निर्देशन पनि गर्‍यो। ‘बादल’, ‘शिखर’, ‘झझल्को’, ‘घर–आँगन’ र ‘मितेरी गाउँ’ उसको निर्माण–निर्देशनसँग जोडिएका चलचित्रहरू हुन्। चलचित्र ‘बादल’का लागि मसँग पनि एउटा गीत लेखाएथ्यो। तर पछि त्यो गीत चलचित्र ‘शिखर’मा प्रयोग भयो।

व्यापारको अर्थमा चलचित्र उसलाई त्यति फापेन। पचासको दशकको उत्तराद्र्धमा ऊ एकाएक अमेरिका गयो। त्यसपछि हाम्रो उठ्बस पातलियो। केही वर्षपछि अमेरिका जाँदा मैले उसलाई वासिङ्टनमा खोजेँ। भेटिनँ। थाहा भयो— केही महिनाअघि ऊ न्युयोर्क सरेको रहेछ। त्यो पटक ऊसँग न्युयोर्कमा पनि भेट हुन सकेन। पछिपछि न्युयोर्क जाँदा भने ऊसँग भेट हुन्थ्यो। गगन उही थियो। हार्दिकता उस्तै थियो।

०००

झन्डै १२ वर्षपछि ऊ नेपाल फर्कियो। मलाई भेट्न घरमै आयो। भन्थ्यो— मलाई त नयाँ पुस्ताका धेरैले चिन्दा रहेनछन्। मैले भनेँ— यो स्वाभाविकै हो। तिमीले एक पटक फेरि आफूलाई नवीकरण गर्नुपर्ने हुन्छ। यही ‘परिचय नवीकरण गर्ने’ प्रयोजनका लागि माथि उल्लेख गरिएको ‘मधुपर्क’मा प्रकाशित ‘एउटा बस्तीको कथा’ शीर्षकको संयुक्त कविताको किताब छाप्ने सल्लाह भयो। उसले प्रेस खर्च हाल्यो। बाँकी काम मैले गरेँ। प्रसिद्ध उपन्यासकार भाइ अमर न्यौपानेले किताबमा राख्न हामी चारै जनालाई पर्गेलेर एउटा लामो लेखोट तयार गरिदिनुभयो। अभिनीत मल्लले हामी चार जनाको फोटो खिचिदिनुभयो। कवि प्रोल्लास सिन्धुलीयको ‘शब्दघर’मा किताब छापियो। ‘सर्वनाम’मा पुस्तक विमोचन गर्ने तयारी चल्दै थियो। तर दुर्भाग्य ! भारतले लगाएको नाकाबन्दीका कारण कठिन हुँदै गइरहेको ‘इन्धन’को विकल्पसमेत हुने सोचेर आफ्नै घर कम्पाउन्डमा रहेका काठका हाँगाबिँगा काट्दै/चिर्दै गर्दा आराले उसको पेटमा घाउ लाग्यो। ऊ, उपचारमा व्यस्त भयो। विमोचन कार्यक्रम सर्‍यो र अन्ततः ३ पौष, २०७५ का दिन ‘सर्वनाम’मै ‘एउटा बस्तीको कथा’ विमोचन गरियो। त्यस बेला पनि गगनको पेटमा आलो घाउ थियो र खोक्दा दुख्ने कारण उसले कार्यक्रममा केही बोलेन र हामीसँग चुपचाप उभिइरह्यो।

पेटमा टाँका लागेकै थियो। पथ परहेजमा बस्नुपर्थ्यो। बसेन छ। पुस्तक विमोचन गरेको करिब दुई हप्तापछिको कुनै दिनभित्र किशोर पहाडीले फोन गरेर भन्नुभयो— गगन त साह्रै बिरामी छ। मन आत्तियो। भेट्न गएँ। अनुहार कालो भएको छ। दुब्लो न दुब्लो छ। पेट डम्म फुलेको छ। सोधेँ— के भयो यस्तो ? उसले सजिलै भन्यो— एन्टिबायटिक नसकिँदै ‘ऐला’, ‘कचेला’ पनि खाइदिएँ। नेवारको छोरो न ठहरिएँ। अहिले यस्तो भयो। पछि पत्ता लाग्यो— उसलाई ‘लिभर स्युरोसिस’ भइसकेको रहेछ। बीचबीचमा भेट्न जान्थेँ। साथीहरू खोज्थ्यो। एक दिन तीर्थ श्रेष्ठ, विजय बजिमय, विष्णुविभू घिमिरे समेतलाई लिएर उसको घर गएँ। साथीहरूलाई भेटेर साह्रै खुसी भयो।

डा. मधु घिमिरेले उपचार थाल्नुभयो। बीचबीचमा पेटको पानी निकाल्नु पर्थ्यो। लिभर ट्रान्सप्लान्टको कुरा पनि चल्दै थियो। बिस्तारै उसको स्वास्थ्यमा सुधार हुँदै गयो। कविता लेख्न र छपाउन थाल्यो। हामी खुसी हुँदै गयौं। ढल्कुमा बस्ने ऊ कहिलेकाहीँ भन्थ्यो— आज काठमाडौं गणेशस्थानसम्म पुगेर आएँ। फेरि स्वास्थ्यमा गिरावट आउँथ्यो। फेरि अस्पताल भर्ना हुन्थ्यो। यो क्रम चली नै रह्यो। किशोर पहाडी बीचबीचमा भेट्न गइरहनुहुन्थ्यो र हामीबीच उसको स्वास्थ्यस्थितिका बारेमा खबर आदानप्रदान भइरहन्थ्यो।

यसैबीच २०७५ साउनमा ‘टोटल हिप रिप्लेसमेन्ट’ गराएर म दिल्लीबाट फर्किएँ। प्रायः ओछ्यानमै हुन्थेँ म। भन्थ्यो— भेट्न आउँछु। म पर्दैन भन्थेँ। ऊ आउने योजना बताइरहन्थ्यो।

गगनको स्वास्थ्यलाई ध्यानमा राखेर कल्याणी भाउजू (श्रीमती गगन विरही) पनि अमेरिकाबाट आउनुभएपछि घरमा अलि सहज भयो।

केही महिना अगाडिदेखि आफ्ना केही नयाँ कविताको एउटा कवितासंग्रह प्रकाशन गर्ने धुन सवार भएको थियो— गगनलाई। ऊ यो काममा अगाडि बढ्यो। प्रा.डा. अभि सुवेदीले भूमिका लेखिदिनुभयो। मलाई पनि छोटो मन्तव्य लेखिदिन भन्यो। ‘हस्ताक्षर’ शीर्षकको त्यो कवितासंग्रह प्रकाशनका लागि किशोर पहाडी र जयदेव भट्टराईले सघाउनुभयो। किताब छापियो। विमोचन गर्ने विषयमा मसँग पनि सल्लाह हुँदै थियो।

०००

गगनसँग फोन सम्पर्क नभएको करिब एक हप्ता भएको थियो। २०७५ साल असोजको पहिलो साताको कुरा हो, मैले गरेको फोन आमाले उठाउनुभयो र गगन फेरि अस्पताल भर्ना भएको बताउनुभयो। नर्भिक अस्पतालको सघन उपचार कक्षमा उसको उपचार हुँदै रहेछ। उसको स्वास्थ्य अवस्थालाई लिएर किशोर पहाडी, डीपी परि श्रमी र मेराबीच खबर आदानप्रदान हुँदै गर्थ्यो। उसको अवस्था निकै गम्भीर भएको अन्दाज गरेर असोज १३ गते छोरी एलिना पनि अमेरिकाबाट आइपुगिन्। म वाकरको सहारामा उभिइरहेका कारण चाहेर पनि कतै जान सक्दिनथेँ। गगन ‘भेन्टिलेटर’मा थिए। चिकित्सकहरूसँगको सल्लाहपछि अब धेरै दिन भेन्टिलेटरमा नराख्ने तर उसको अन्तिम इच्छा पूरा गर्ने अर्थमा त्यसभन्दा अगाडि विमोचनको सँघारमा पुगेर रोकिएको कवितासंग्रह ‘हस्ताक्षर’को विमोचन असोज १४ गते अस्पताल परिसरमै गर्ने धारणा परिवारजनमा बनेछ। कल्याणी भाउजू र छोरी एलिनाले पनि मलाई विमोचनका लागि आइदिन आग्रह गरे पनि सुरुमा मैले आफ्नो स्वास्थ्यको कारण आउन कठिन हुने जानकारी गराएँ।

समकालीन साथीहरूमा किशोर पहाडीजी अवश्यै जानुहोला भन्ने सोचेको थिएँ। तर कस्तो संयोग त्यही दिन पिताजीको वार्षिकी परेका कारण आफू जान असमर्थ रहेको जानकारी उहाँले मलाई फोनमा गराउनु भयो। डीपीजीसँग सम्पर्क हुँदै थियो। उहाँले पछिल्लो पटक दिउँसो ३ बजे विमोचन समय निर्धारण गरेको भए पनि चाँडै गर्न चिकित्सकले सल्लाह दिएको र आफूले तुलसी दिवस, प्रा.डा. अभि सुवेदी र कवि शैलेन्द्र साकारलाई त्यसैअनुसार खबर गरेको बताउनुभएपछि मैले आफूलाई रोक्नै सकिनँ। हामी समकालीन साथी कोही नहुने सम्भावना देखेपछि ट्याक्सी बोलाएँ र ‘वाकर’ लिएर एक किसिमले जबरजस्ती नै अस्पताल गएँ। अस्पतालको मूल भवनभन्दा केही पश्चिमपट्टि ‘कक्षा कोठा’को रूपमा अस्पतालले प्रयोग गर्दै आएको एउटा कोठामा दिउँसो करिब १:३० बजे कवि तुलसी दिवस, अभि सुवेदी, शैलेन्द्र साकार, म, आमा भवानी श्रेष्ठ, भाउजू कल्याणी र छोरी एलिनाले गगनको अन्तिम कवितासंग्रह ‘हस्ताक्षर’ विमोचन गर्‍यौं। कार्यक्रममा पारिवारिक सम्बन्धका आफन्त, केही पत्रकार बन्धु र कृष्ण मल्लसहितका केही चलचित्रकर्मी मित्रको उपस्थिति थियो। साथीहरू भने कार्यक्रम सकिँदै गर्दा वा सकिएपछि आइपुग्नुभयो।

म, लगत्तै ट्याक्सी चढेर घर फर्किएँ। घर आइपुगेपछि डीपीजीलाई फोनमा सम्पर्क गरेँ। चिकित्सकले निधनको घोषणा गरिसकेको जानकारी उहाँले दिनुभयो। म अवाक् भएँ। चार दशकभन्दा लामो मित्रताको एउटा सङ्लो नदी एकाएक सुकेको अनुभव गरेँ। आफैंसँग डराएँ पनि। र, मन नलागी–नलागी भर्खरै विमोचन गरेको ‘हस्ताक्षर’ पल्टाएँ। मन्तव्यको रूपमा मैले त्यसमा लेखेको रहेछु— गगन विरही, आगोको राप, घामको ताप र प्रेमको सुवासका कवि हुन्। उनको लेखनको आफ्नै डोब छ। बिरामी हुँदा पनि उत्तिकै जाँगरका साथ कविता लेख्छन्, लेखिरहेकै छन्। उनीभित्र कविताको अविराम भोक छ। कविताजस्तै अर्को उत्तिकै तेजिलो आँखा पनि छ गगनको। र, त्यो अर्को आँखाचाहिँ गीत हो। प्रकृति र प्रेम उनको स्रोत हो। फरकपन, सुरुदेखि नै उनको खोज हो। सुखानुभूति हुने मात्र होइन, मलाई सधैं गौरव लाग्छ— गगन विरही मेरो साथीको नाम हो।

हो, गगन धर्तीमा थियो— फेरि गगन नै भयो। यो एउटा सत्य हो। र अर्को सत्य के पनि हो भने गगन अहिले पनि मेरो मनभरि छ। सिर्जना र मित्रताका दृष्टिले जीवित नै छ र रहिरहनेछ।

[email protected]


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.