युट्युबे, फेसबुके, अनलाइनवाला भनेर कतिन्जेल पन्छिने ?

युट्युबे, फेसबुके, अनलाइनवाला भनेर कतिन्जेल पन्छिने ?

‘युट्युबे’, ‘फेसबुके’ वा ‘अनलाइनवाला’ भन्दैमा पन्छिएर मात्र चुनौतीको सामना होला ?


सामाजिक सञ्जाल र त्यसले मूलधारको नेपाली पत्रकारितामा पारेको प्रभावबारे सम्भवतः पछिल्ला केही दिनमा नेपाली सन्दर्भमा सबैभन्दा धेरै बौद्धिक विवेचना भयो। हुन त यस्ता विवेचनाको घेरा ज्यादै सीमित छन्। पछिल्लो समयका दुई प्रतिनिधि घटना, निर्मला हत्याकाण्ड र शालिकराम पुडासैनीको आत्महत्या प्रकरणलाई आधार मानेर ‘डिजिटल मिडिया प्लेटफर्म’ (अनलाइन पोर्टल, फेसबुक, युट्युबसेत) समग्र पत्रकारिताको अभ्यास र व्यावसायिक मान्यता नै खल्बल्याइदिएको छ। त्यसो त इन्टरनेट आउनुको पत्रकारितामा पनि त्यस्ता चुनौतीपूर्ण अतिरञ्जित पीत पत्रकारिताको अभ्यास नभएको होइन। तर अहिलेको अवस्थाको सबैभन्दा ठूलो चुनौती भनेको ‘डिजिटल प्लेटफर्म’मा संहितासहितको पत्रकारिता हो।

के अब ‘युट्युबे’ अथवा ‘फेसबुके’ पत्रकारिता भनेर वर्ग छुट्ट्याएर पन्छिन मिल्छ त अथवा सामाजिक सञ्जाल र ‘इन्टरनेट प्लेटफर्म’मा सेन्सरसिप वा बन्देज लगाउनु समस्याको समाधान हो त ? अहिलेको समयमा देखिएको सबैभन्दा चुनौतीपूर्ण अभ्यास हो, पत्रकारितामा ‘लिबरल बायस’। हुन त ‘लिबरल बायस’ अवधारणालाई राजनीतिदेखि सांस्कृतिक विषयसम्म भिन्न रूपमा प्रयोग गरिन्छ। तर पत्रकारितामा सामान्य रूपमा बुझ्दा ‘लिबरल बायस’ यस्तो अभ्यास हो, जसले आफूले समर्थन गरेको व्यक्ति, पार्टी वा संस्थाको हितअनुकूल मात्र समाचारको विषयवस्तु छनोट र प्रस्तुत गर्नुलाई प्रोत्साहन गर्छ। यो अभ्यासमा पत्रकार आफूलाई वस्तुनिष्ठ र तथ्यपरक पत्रकारिता गरिरहेको दाबी पनि गर्छ र आफ्नो विचारअनुकूल तथ्य र तर्कलाई तोडमरोड पनि गर्छ। उल्लिखित दुई घटनामा विशेषगरी ‘डिजिटल प्लेटफर्म’मा भएका अभ्यासलाई मात्र हेर्ने हो भने पनि यो समस्या कति विकराल छ भन्ने देखिन्छ। पत्रकारिताको यस्तो गलत अभ्यासले समग्र समाजलाई नै अहित गर्छ। यही प्रवृत्ति हाम्रो मूलधारे मिडियाकर्म र राजनीतिमा कसरी जोडिएको छ भन्ने एउटा उदाहरण :

करिब पाँच वर्षअघि जतिबेला म एक टेलिभिजनमा समाचार सम्पादकका रूपमा जागिरे थिएँ। त्यही टेलिभिजनमा समसामयिक राजनीतिक विषयमा संवार्ताको कार्यक्रम चलाउने मित्रले केही राजनीतिक नेतासँग अन्तर्वार्ताका क्रममा भोगेका अनुभव सुनाए। वैचारिक रूपमा नेपाली काँग्रेसको राजनीति र त्यही अनुरूपमा पत्रकारिताका संस्थामा पनि आबद्ध ती मित्रलाई कहिलेकाहीँ केही काँग्रेसका नेताले स्टुडियोमा बस्दा आफूलाई उचित सम्मान नदिएको जस्तो लाग्दो रहेछ, उनी त्यही गुनासो सुनाइरहेका थिए। मैले सोचेँ, ती नेताले उनलाई पत्रकार मान्दा हुन् वा कार्यकर्ता ? यो कुरा मैले ती मित्रलाई पनि भनेको थिएँ।

मेरो विचारमा नेताका लागि मित्र पत्रकारभन्दा बढी कायकर्ताजस्ता लागे। किनभने ती पत्रकार मित्र तिनै नेताका घरमा पनि भेटिन्छन्, कार्यालयमा पनि भेटिन्छन् र टेलिभिजनको स्टुडियोमा पनि। के ठाउँ मात्र फेरिएर सम्मान फेरिन्छ र ? सम्मान फेरिन त पहिले उनी कार्यकर्ता होइन पत्रकार बन्नु पर्‍यो। मूलधार वा व्यावसायिक भनिएका अधिकांश पत्रकार पहिले दलका कार्यकर्ता छन् अनि मात्र पत्रकार। दलीय अभ्यासअनुसारका अभिवादन टक्य्राउँदै उनीहरू कहिले सिंहदरबार कहिले पार्टी कार्यालय वा कहिले स्टुडियोमा। यो लिबरल बायसले समग्र समाजमा पार्नसक्ने प्रभावको एउटा पाटो मात्र हो। यस्तो गलत अभ्यास नियन्त्रण गर्ने उपाय के त जसले आचारसंहिताभित्रको मर्यादित पत्रकारितालाई प्रोत्साहन गरोस् र समाजको बृहत्तर हितका लागि सहयोग गरोस्। धेरैले सोच्ने सजिलो जवाफ हो। त्यस्ता विभेदकारी र तथ्यलाई तोडमरोड गर्ने झूठा समाचार सम्प्रेषण गर्ने मिडिया वा व्यक्तिलाई निषेध गर्ने। के त्यसो गर्दैमा समग्र पत्रकारितामा सुधार आँउछ त ? के पत्रकारिता क्षेत्रले नै सुधारको पहल गर्नु पर्दैन ? ‘युट्युबे’, ‘फेसबुके’ वा ‘अनलाइनवाला’ भन्दैमा पन्छिएर मात्र चुनौतीको सामना होला ?

अहिलेसम्मको अभ्यास हेर्दा प्रविधिको विकाससँगै सञ्चारमा आएको परिवर्तनलाई नेपाली पत्रकारिता क्षेत्रले समयानुकूल आत्मसात् गरेको देखिन्न। प्रविधि र त्यससँगैको परिवर्तनले पत्रकारको पेसागत ज्ञान र परिभाषा परिवर्तन गरिसकेको छ। अब मूलधारका व्याावसायिक पत्रकार र वैकाल्पिक वा गैरपत्रकारबीचको दायरा पनि निकै साँघुरो भइसकेको छ। अर्थात् समग्रमा पत्रकारको परिभाषा र मानक नै फेरिएको अवस्था छ। तर के हाम्रो पत्रकारिताको व्यावसायिक संरचनाले यो विश्वजनीन परिवर्तनलाई स्वीकार गरेको छ ?

पत्रकारितामा जडसूत्रवाद

कुरा झन्डै १६ वर्षअगाडिको हो। त्यस बेला म पोखराको एउटा एफएम रेडियोमा काम गर्दै थिएँ। झन्डै दुई/तीन वर्षको रेडियोमा पत्रकारिताको अभ्यासपछि त्यही रेडियोमा काम गर्ने चारजनाले पत्रकार महासंघको सदस्यताका लागि आवेदन दिएका थियौं। तिनताका महासंघका अध्यक्ष थिए, स्थानीय दैनिक पत्रिकाका सम्पादक। ती महाशय प्रायः प्रत्येक रातजसो हामीले रेडियोमा राति पौने १० बजेको समाचार प्रसारण गरिसकेपछि फोन गर्थे र समाचारका बारेमा सोधीखोजी गर्थे। तर जब तिनै पत्रकार अध्यक्ष रहेको महासंघमा हामीले सदस्यताका लागि आवेदन दियौं, उनले जम्मा एकजनाको मात्र सदस्यता स्वीकृत गरे।

बाँकी हामी तीनजना अस्वीकृत हुनुको कारण सोध्न जाँदा उनले कागजात नपुगेको जस्ता कारण दिए तर हरेक दिनजसो समाचारको विषयमा फोन गरेर जानकारी लिने तिनले यो कागज पुगेन किन भन्न सकेनन् ? अथवा कागजात नपुगेको अवस्थामा मागदाबी गर्ने प्रावधान त महासंघको कार्यविधिमै पनि होला। तर केही बेर उनीलगायतसँग तर्कवितर्क गर्दा थाहा भइहाल्यो, आशय। त्यो अस्वीकृतिको मुख्य कारण थियो, पत्रकारिताको शैली। तिनताका छापाका पत्रकार हाते टिपोटमा निर्भर थिए भने हामी रेडियोकर्मी रेकर्डर बोकेर जान्थ्यौं, आवाज संकलन गरेर फर्कन्थ्यौं अनि तिनै आवाज रेडियो समाचारमा बजाउँथ्यौं। ती वरिष्ठतम् छापा पत्रकारको तर्क थियो— पत्रकार हुन त फिल्डमा गएर हातले समाचार टिप्नुपर्छ। रेकर्डर र मोबाइल बोकेर फिल्डमा जाने अनि लाइभ गर्ने पनि पत्रकार हुन्छन् ?

विडम्बना ! अहिले १६/१७ वर्षपछि पनि नेपाली पत्रकारिताको प्रवृत्ति फेरिएको छैन। सञ्चार प्रविधिमा भएको विकासले समाचार वा सूचना ग्रहण गर्ने श्रोता, दर्शक वा पाठकको व्यवहारमा आमूल परिवर्तन आइसक्यो तर मूलधारे पत्रकारिताको शैली दशकौं पुरानोजस्तो छ। केही समयअघिसम्म अनलाइन पत्रकारलाई पत्रकार नै नमान्ने चलन थियो। अहिले एकखाले पत्रकारलाई खालि युट्युबे भनेर तर्किन खोजिँदैछ। छापा, प्रसारण, अनलाइन वा सामाजिक सञ्जाल, यी त खालि पत्रकारिताका माध्यम मात्र हुन्। तर ती फरक माध्यममा अभ्यास गरेकै भरमा पत्रकारको वर्ग निर्धारण मात्र गर्दा यसले समग्र पत्रकारितालाई मर्यादित बनाउला त ? अवश्य बनाउँदैन। त्यसो भए के फेसबुक र युट्युबमा अतिरञ्जित सामग्री सम्प्रेसण गरिरहेका सबैलाई पत्रकार मानेर आचारसंहिताभित्र ल्याउने त ? त्यो पनि सम्भव छैन। त्यसो भए यो चुनौतीको समाधान के हुन सक्ला ?

मिडिया साक्षरता

पत्रकारिता एवं आमसञ्चारमा स्नातकोत्तर पढ्दाका मेरा एक मित्र केही वर्षको अस्ट्रेलिया बसाइपछि नेपाल पुगे। एक दिन फोन कुराकानीको समयमा उत्साही हुँदै उनले नेपालमा डिजिटल मिडियामा काम गरिरहेका केही व्यक्तिसँगको अनौपचारिक छलफलका आधारमा आफ्नो अनुभव सुनाए। नेपालमा अहिले करिब ३० हजार व्यक्ति वा संस्थाले मासिक करिब एक लाख वा त्योभन्दा बढी आम्दानी गरिरहेका छन् ‘डिजिटल प्लेटफर्म’मा। हुन त यो अनुमान मात्र हो। तर तथ्यांकमा यसको आधा या एक चौथाइले मात्र त्यो आम्दानी गरिरहेको भए पनि संख्या आफैंमा ठूलो हो।

अझै पनि कतिपय छापा, रेडियो वा टेलिभिजनमा काम गर्ने पत्रकारले न्यूनतम तलब पनि पाएका छैनन्। यस्तो अवस्थामा आम्दानी पनि राम्रो विकल्प बन्यो डिजिटल प्लेटफर्म। आम्दानीको प्रलोभनमा कतिपय पत्रकारिताका सामान्य ज्ञानसमेत नभएका व्यक्ति पनि त्यस्ता अतिरञ्जित विषयवस्तुमा आकर्षित भएका छन्। उसो त एक हजारभन्दा बढी अनलाइन पोर्टल दर्ता भएरै चलेका छन्। अधिकांश मूलधारका मिडियाको पनि वितरणको सबैभन्दा सस्तो, सजिलो र प्रभावकारी माध्यम पनि इन्टरनेट नै हो। यस्तो परिवेशमा छानीछानी नियन्त्रण वा सेन्सरसिप असम्भव नै छ। यसको त कतिपय अवस्थामा यस्ता बन्देज अभिव्यक्ति स्वतन्त्रताको विपक्षमा पनि पर्न आउँछ। विश्वका कतिपय देशमा मिडियासम्बन्धी नीति बनाउँदा नै सामाजिक सञ्जाल वा इन्टरनेट माध्यमलाई केन्द्रमा राख्न थालेको पाइन्छ। कतिपय अवस्थामा सामाजिक सञ्जालले परम्परागत सञ्चारमाध्यमको पहुँच र सहभागिता बढाउन प्रभावकारी भूमिका खेल्छन्। संसारका विभिन्न देशमा भएका प्राज्ञिक अध्ययनले यो तथ्य पुष्टि गरिसकेको छ। यस्तो परिवेशमा निषेध वा प्रतिबन्धभन्दा पनि प्रभावकारी व्यवस्थापन महत्त्वपूर्ण हो।

मिडिया साक्षरता (लिटेरेसी) अहिलेको पत्रकारिताका चुनौतीसँग सामना गर्ने सबैभन्दा प्रभावकारी रणनीति हो। मिडिया साक्षरता यस्तो चेत हो जसले हामीलाई कुनै पनि समाचार वा सूचनालाई आलोचनात्मक विश्लेषण गर्नेदेखि तथ्यपरक सूचना सामग्री उत्पादनसम्मको ज्ञान दिन्छ। यो चेतको अभावमा पत्रकारिताको अभ्यास नै गलत दिशामा जानसक्छ। उदाहरणका लागि तिनै दुई घटना र त्यस सम्बन्धमा उच्च शिक्षा लिएका वा व्यावसायिक जीवनका सफल व्यक्तिलाई पनि सोध्नुभयो भने उनीहरूको धारणा प्रायः तिनै अतिरञ्जित गरिएका सामाजिक सञ्जाल वा अनलाइनका सामाचारका आधारमा बनिरहेका हुन्छन्। तर उनीहरूलाई ती समाचारका स्रोत के हुन् ?

यसरी समाचार सम्प्रेषण गर्ने पत्रकार व्यावसायिक हुन् होइनन् वा त्यस्ता समाचार संस्थाबारे विश्वसनीयताबारे जानकारी हँदैन। मिडिया साक्षरताले पत्रकारितामा व्यावसायिक हुन र आचारसंहिताका सिद्धान्त, वस्तुपरक प्रस्तुतिका यावत् पक्षबारे आममानिसलाई जानकार बनाउन सक्छ। जब समाचारका विश्वसनीयताका आधार, त्यसमा निहित आग्रह वा पूर्वाग्रह (बायस वा लिबरल बायस)का बारेमा आममानिस सचेत हुन्छन् तब यस्ता अतिरञ्जित समाचारका शीर्षक राखेर भ्युवर बढाउने र मनिटाइज गरेर पैसा कमाउन खुलेका अनलाइन, युट्युब वा अन्य सामाजिक सञ्जालका पात्रहरू आफैं किनारा लागेर जान्छन्। मिडिया साक्षरताले यस्ता गलत अभ्यास त नियन्त्रण हुन्छ नै, साथमा मूलधारको पत्रकारितालाई खबरदारी गर्ने वैकल्पिक वा सिटजन पत्रकारिताको अभ्यासलाई पनि प्रोत्साहन गर्छ। साथै ती दुरुपयोग भइरहेका सामाजिक सञ्जालले ब्याक च्यानलका रूपमा मूलधारका मिडियामा दर्शक, श्रोताको सहभागिता बढाउन महत्त्वपूर्ण भूमिका खेल्छ।

पत्रकारिताका व्यावसायिक संघसंस्थादेखि राज्यसम्मको ध्यान मिडिया साक्षरतामा जान जरुरी छ। विद्यालय स्तरबाटै मिडिया साक्षरताको अभियान सुरु गर्नुपर्छ। त्यसका लागि परम्परागत तथा इन्टरनेट माध्यममा भइरहेका अभ्यास र त्यसका प्रभावबारे विद्यार्थीलाई सैद्धान्तिक र नीतिगत चेतनासहितको शैक्षिक ज्ञान आवश्यक छ। सहरदेखि गाउँसम्मका सामुदायिक संघसंस्था वा समूहलाई मिडिया साक्षरताका लागि उपयोग गर्न सकिन्छ। साथमा व्यावसायिक प्रलोभनमा मात्र चलेका त्यस्ता अतिरञ्जित सामग्री राख्ने व्यक्तिलाई नियन्त्रणका लागि प्रेस काउन्सिल वा स्वयं पत्रकारिता क्षेत्रकै संलग्नतामा स्वायत्त निकाय बनाएर आचारसंहिता, गोपनीयताका अधिकारका विषयमा स्वनियन्त्रणको अवधारणा प्रवर्द्धन गरी जिम्मेवार बनाउनु आवश्यक छ। करिब पाँच वर्ष आमसञ्चार तथा पत्रकारिता अध्यापनका क्रममा कतिपय लामो समय पत्रकारिता गरिसकेका पत्रकारले नै भनेको सम्झन्छु, ‘सैद्धान्तिक अध्ययनपछि लाग्छ, हामीले अहिलेसम्म पत्रकारिता जानेकै रहेनछौं।’


लेखकले युनिभर्सिटी अफ क्यान्टवरी न्युजिल्यान्डबाट मिडिया एवं आमसञ्चारमा विद्यावारिधि गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.