बेलुकीदेखि मध्यरात पर्तिरसम्म

बेलुकीदेखि मध्यरात पर्तिरसम्म

सुमन पोखरेल कवि, गीतकार तथा अनुवादक हुन्। उनका रचना अरबी, बंगाली, फ्रेन्च, जर्मन, हिन्दी, इटालियन, मैथिली, उडिया, फारसी, संस्कृत, स्पेनिस, उर्दुलगायतका भाषामा अनूदित भई विभिन्न मुलुकबाट प्रकाशित पत्रिकामा छापिएका छन्। पोखरेलका दुई कवितासंग्रह, दुई गीतसंग्रह तथा तीन अनुवादका पुस्तक प्रकाशित छन्। प्रस्तुत छ, उनीसितको फुर्सद–वार्ता :


कत्तिको फुर्सद हुन्छ ?

‘फुर्सद’ हुनेभन्दा पनि बनाउने र निकाल्ने हो भन्ने लाग्छ। आवश्यकताअनुसार बनाउने गर्छु।

कस्ता किताब, संगीत, सिनेमा रुचाउनुहुन्छ ?

मेरो अन्तरलाई भत्काउन खोज्ने, सुषुप्ततालाई घच्घच्याउने, विशृंखलतालाई जोड्न खोज्नेहरू मन पर्छन्।

पछिल्लो पटक पढेको किताब ?

सानु शर्माको ‘एकादेशमा’, योगेश राजको ‘रणहार’।

हातमा भएको किताब ?

‘बैरागी काइँलाका संकलित कविता’, प्रतिभा रायको ‘सिटाडल अब् लभ’, परमहंस योगानन्दको ‘मेन्स इटर्नल क्वेस्ट’।

थाती राखेको किताब ?

सेस नोटबुमको ‘इन द डच माउन्टेन’लगायत अरू निकै भइसकेका छन्।

धेरै पल्ट पढेको किताब ?

प्रत्येकपल्ट आद्योपान्त नपढे पनि केही अंश पढ्ने गरी पढिएकामा श्रीमद्भागवत् गीता र विभिन्न कवितासंग्रहहरू होलान् भन्ठान्छु। ‘शिरीषको फूल’, ‘एनिमल फार्म’जस्ता केही पुस्तक, धेरैपल्ट नै त हैन, निकैपछि दोहो‍र्‍याएर पढेको छु।

पहिलो (बच्चाको) किताब ?

यो त ठ्याक्कै यही हो भन्ने सम्झना छैन। स्कुल पढ्दाताका किताबै हो भन्न पनि नमिल्ने र किताब हैन भन्न पनि नसकिने टिनटिन, आर्ची, फेन्टम, चाचा चौधरीका कमिक्सहरू पढिन्थ्यो। ‘वसन्ती’, ‘सेतो बाघ’, ‘शिरीषको फूल’, ‘मिमी’, ‘एनिमल फार्म’, ‘एन ओल्ड म्यान एन्ड द सी’ जस्ता किताबहरू एसएलसी दिएपछि पढेको सम्झना छ।

धेरैपल्ट उपहार दिएको किताब ?

जगदीशशमशेर राणाको ‘नरसिंह अवतार’।

धेरैपल्ट उपहार पाएको किताब ?

बरु, केही किताब धेरैपल्ट गायब भएर फेरि किनेकाहरू छन्।

पढ्न मन लागेर नपाएको किताब ?

दमनराज तुलाधरको आत्मकथा, लुइसा मे अल्कटको ‘लिटिल वुमेन’, कार्लोस लुइस ज्याफोनको ‘द स्याडो अब् त विन्ड’ लगायत।

कहाँ किन्नुहुन्छ ?

निश्चित ठाउँ छैन। यहीँ भेटिएका यहीँ विराटनगरमै। अरू, जहाँ भेटिन्छन् त्यहीँ।

पुस्तक समीक्षाहरू पढ्नुहुन्छ ?

समीक्षाहरू समीक्षकको चेतनाको वृत्त, उसका धारणा तथा मान्यता एवं कतिपय अवस्थामा विशेष प्रयोजन र सानाठूला स्वार्थजस्ता तत्त्वहरूबाट बाँधिएका हुन्छन्। समीक्षाले नदेखिएका किताब देखाइदिन्छन्, सजिलो हुन्छ। किताबभित्रका तत्त्व त पाठकले आफ्नै तवरले ग्रहण गर्ने हो। त्यसैले विश्वास नगर्नुपर्ने वा गर्नुपर्ने विशेष कारण रहन्छ भन्ने लाग्दैन।

पढिसकेपछि राम्रो लागेको किताब अरूले पनि पढून् भन्ने लाग्छ कि सकेसम्म नभेटून् ?

पढून् भन्ने लाग्छ। तर कुनै पुस्तक मलाई राम्रो लाग्दैमा अरूले पनि मन नलगाई नलगाई जबजरस्ती पढून् भन्नेचाहिँ लाग्दैन।

पढ्दै गर्दा मन परे–नपरेको कुरा अन्डरलाइन गर्ने, केरमेट गर्ने गर्नुहुन्छ ?

सामान्यतः गर्दिनँ।

किताब धेरै नै मन पर्‍यो भने के गर्नुहुन्छ ?

साथसंगतमा रहेकालाई मन परेको कुरा बताउँछु।

अक्सर कहाँ र कति बेला पढ्न मन पराउनुहुन्छ ?

आफ्नै पढ्ने कोठा। बेलुकीदेखि मध्यरात पर्तिरसम्म।

यहाँसँग भएको दुर्लभ पुस्तक ?

केही हुन सक्लान् तर अहिले भन्न सक्दिनँ।

राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा वली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी नेता शेरबहादुर देउवालाई कुन पुस्तक सिफारिस गर्नुहुन्छ ?

कुनै पनि गर्दिनँ। आवश्यक छ भन्ने लाग्दैन।

रोजाइमा साहित्य कि गैरसाहित्य ?

साहित्य नै बढी पढ्छु होला। तर किताबका कुनै पनि विधा र विषयसँग मेरो परहेज छैन। जेसुकै पनि पढ्छु।

साहित्यमा आख्यान कि गैरआख्यान ?

दुवै।

कुन लेखक पढ्न चाहनुहुन्छ ?

विश्वेश्वरप्रसाद कोइराला, दौलतविक्रम विष्ट, देवकुमारी थापा, ज्याक लन्डन, शरत्‍चन्द्र, धूमकेतु, इबुसे मासुजी, दोस्तोवयस्की, मार्क्वेज, एन्जेलिना अक्वुनालगायत अनेकौं दिवंगत लेखकहरू। जीवितहरूमा तीभन्दा धेरै हुनुहुन्छ, नाम लेख्न यहाँ ठाउँ पुग्दैन होला।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.