महुवा मोइत्राबाट के सिके हाम्रा नेत्रीले ?
कुनै पनि नेपाली महिला नेताको नाम दिमागमा आएन।
युट्युब खोल्नुस्। नभए फेसबुक। संसद्मा नेपाली महिला (नेपाली विमिन इन पार्लियामेन्ट) टाइप गरेर सर्च बटन थिच्नुस्। त्यति जाँगर नचले एकैछिन सोच्नुस् र सम्झिनुहोस्, गएको दुईतीन महिनामा नेपाली संसद्मा महिला सम्बन्धित के के भिडियो हेर्नुभयो ? एसी नचलेको काण्ड हेरेर शीतल हुनुभो होला ! कृषिप्रधान देशका दुःख सबै बुझ्नुभो होला !
हाम्रो सिनेमा कहाँ छ ? संगीत, फेसन या राजनीति कस्तो छ ? गुणस्तर तुलना गर्ने सबैभन्दा सजिलो मापदण्ड— छिमेकी। नियम नबिगारौं। फेरि उसैगरी सर्च गर्नुहोस्। यसपालि चाहिँ संसद्मा भारतीय महिला (इन्डियन विमिन इन पार्लियामेन्ट) टाइप गर्नुहोस्। त्यहाँ सबैभन्दा धेरै देखाइने एउटा भिडियो छ, १० मिनेटको। हेर्नुहोस्, दिमागको प्यारासुट खोलिदिनेछ। यो लेखको परिकल्पना त्यही भिडियो हेर्दा भएको थियो।
केही महिनाअघि भारतमा लोकसभाभित्रको एउटा भाषणको भिडियो छ्याप्छ्याप्ती भयो। नेपालमा हरेक दोस्रो दिन आफ्नै नयाँ काण्ड जन्मिरहन्छन्। विदेशी खुराकका लागि खास ठाउँ हुँदैन। त्यसैले नेपालमा भाइरल नै त हुन पाएन तर (अन्तर्राष्ट्रिय) राजनीतिमा थोरै चासो हुनेहरू प्रायः नेपालीको पनि फेसबुक वाल भरियो।
भिडियोमा थिइन्, कृष्णनगर पश्चिम बंगालबाट निर्वाचित त्रिणमुल कंग्रेसकी लोकसभा सांसद महुवा मोइत्रा। पहिलो पटक लोकसभा सदस्य बनेकी मोइत्राको प्रथम भाषणले नै भारतमा तहल्का मच्चायो। सो भाषणमा अमेरिकाको ‘होलोकास्ट मेमोरियल म्युजियम’को एक पोस्टरमा उल्लेख गरिएका सात संकेत उद्धृत गर्दै कसरी अहिलेको भारत सरकार तानाशाहतर्फ उन्मुख हुँदैछ भन्ने प्रस्ट पारिएको थियो। यी सात बुँदाको इन्द्रेणीसहित गर्जेकी थिइन् उनी—
— कसरी भारतमा अतिराष्ट्रवाद मौलाउँदै छ।
— कसरी दिनदहाडै हुने भीड आक्रमण (मोब लिन्चिङ)का घटनाले मानवअधिकार ध्वस्त पार्दै छन्।
— कसरी सैन्य उपलब्धिलाई राजनीतीकरण गरिइँदै छ।
— कसरी कार्यकर्ता परिचालन गरेरै सरकारी सञ्चार माध्यमलाई नियन्त्रण गरिरहेछ।
— कसरी बौद्धिक वर्ग र कलामाथि सरकारको अपाच्य हस्तक्षेप भइरहेको छ।
— कसरी हर तहमा व्याप्त भ्रष्टाचार र पूर्वाग्रह जस्ता रोगले भारतमा लोकतन्त्रलाई खाँदै छ।
— सबैभन्दा भयानक कसरी राजनीति, अपराध र धर्मलाई एकआपसमा अल्झाइँदै छ।
उनले यस्ता तथ्य र उदाहरण दिइन् कि त्यसले सबैलाई सोच्न बाध्य बनायो। (बाँकी कुराका लागि भिडियो हेर्नुहोला)
उनको आरोप पूर्णतया सही कि गलत, निर्णायक बन्न ठ्याक्कै नसकिएला। तर आज भारत हेर्ने र आफैंसँग झुट नबोल्ने जोकोहीले दुईवटा तथ्य स्पष्ट देख्न सक्छ—
— भारतमा राष्ट्रियता, एउटा निश्चित धर्मको पर्यायवाची बन्दै छ।
— अनि सञ्चारमाध्यम, सरकारको प्रवक्ता बराबर हुँदैछन् विस्तारै।
समयमै खबरदारी नगरिए यो रोग प्रकोप बन्ने पक्का छ।
मोइत्राको प्रथम भाषणले नै लोकसभामा बौद्धिक महिला छन् है भनेर चिच्याएर भनिदियो। सत्ताधारी पार्टी (भाजपा) माथिको ठाडो प्रहार भए पनि सत्ताधारी सांसदसमेत उनको प्रशंसा गर्न चुकेनन्। क्रिकेटमा आफ्नै विकेट लिएको बलरलाई आउट हुँदै गरेको ब्याट्सम्यानले प्रशंसा गरेसरह।
भाजपा अहिले जनमतको उत्कर्षमा रहेको पार्टी हो अनि मोदी विश्वकै शक्तिशालीमध्ये एक मानिएका प्रधानमन्त्री। यीविरुद्ध बोल्न स्थापित नेताले पनि चारपल्ट सोच्नुपर्छ। एउटा व्यक्तिविरुद्ध बोल्नु सिंगो राष्ट्रविरुद्ध बोल्नुबराबर हो भनेर व्याख्या गरिने समयमा त्यसरी आवाज निकाल्न सानो क्षमता र हिम्मतले पुग्दैन। तर महुवा मोइत्रा बोलिन्। प्रतिपक्षको धर्म पनि त्यही हो। यस्तो धर्म पु¥याए पो धार्मिक !
त्यो आङै सिरिंग गराउने १० मिनेटको भिडियो हेर्दा उनलाई चुनेर पठाउने साराको छाती गर्वले फुल्यो होला ! ‘महिलाहरू महिलावाद र आरक्षणमै सीमित हुन्छन्’ , ‘आइमाईलाई टिकट दिएर अर्थै छैन’ भन्नेको मुखमा सास फेर्नै नमिल्ने बुजो लाग्यो होला। भारतमा कति युवा थिए होलान् ‘आफ्ना नेता आफूजस्तो सोचै राख्दैनन्’ भनेर हार मानिसकेका ! तर आफ्नो नपुगिरहेको आवाज बोली पुग्ने मान्छेले बोल्दा कति खुसीले उफ्रिए होलान् !
महुवा इन्दिरा गान्धीलाई आदर्श मानेर राजनीतिमा आकर्षित भएकी थिइन् अरे। अब अहिले २० र २२ वर्ष पुगेका कति भारतीय किशोरीहरू महुवालाई आदर्श मानेर राजनीतिमा तानिन्छन् होला !
महुवाको प्रभावले छाड्ने छाँट नदेखाएपछि लेखकका आँखाले मौलिक महुवा खोज्न थाले। त्यस्तै १० मिनेटको बोली खोज्न थाले। बोलीको बल खोज्न थाले। किनकि, ठीक हो, उनको वाहवाही गर्ने आधार त्यो १० मिनेटमा सुनिएको प्रभावशाली आवाज मात्रै थिएन, त्यो १० मिनेटमा उठेको विषय थियो। उनी सडकमा चिच्याउँदा चिच्याउँदै एक्कासि टपक्क टिपेर संसद्मा भाषण गर्न उभ्याइएकी हैनन्। त्योभन्दा अगाडि १० वर्षको ग्रामीण राजनीति गरेर राजनीतिको धुलो, सडक, गल्ली, सहर, अनिद्रा, सपना सबै कमाएर आएकी हुन्।
तर उनलाई आशा र आदर्श त्यही भाषणले बनायो। चामलले पनि बिक्न बोली नै खोज्छ।
विडम्बना ! सो भाषणपछिको हाम्रो संसद् अनि हाम्रा महिला सांसदका समाचारले पचाउनै गाह्रो लाग्ने सत्य उदांगो पारिदिए— हाम्रो संसद्मा महुवा भेटिनु त टाढाको कुरा, हाम्रा ३३ प्रतिशत माननीयहरू बीचबाट उनको भाषणको ३३ प्रतिशत मात्रै बुझ्ने कोही भेट्न पनि मुस्किल छ।
हाम्रा लागि न्यायालयमा सुशीला कार्की हुर्काइदिन सक्ने समाजले एउटै पनि महुवा किन हुर्काएन होला ! हुर्काएको छ कि। छन् होला नि केही त। बोलेर पिठो बिकाएका। कामले, योजनाले गाउँ रिझाएका। तर बानेश्वर आइपुग्न गाडीले होइन, पार्टीले टिकेट दिनुपर्छ। अनि पार्टीले टिकेट दिन, पाइसकेकाले बाटो खोल्दिनुपर्छ।
धेरैलाई संसद् भवनमा टन्नै महिला सांसद देख्दा थाहा छैन होला, अहिले प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित महिला माननीय जम्मा ६ जना हुनुहुन्छ। त्यही ६ जनाको भरमा हो, अर्को चुनावमा पार्टी हिच्किचाउँदा, टिकेट माग्ने हरेक महिलाले, ‘हामीलाई पनि पत्याएका थिए, पत्याउँछन् है’ भन्न सक्ने।
तर तीन वर्ष हुन आँट्यो, एउटा पनि त्यस्तो समाचार आएन जसले संसद्मा महिला उपस्थिति छ है भनेर याद गराउन सकोस्। अँ, भिडियोचाहिँ आए। संसदको एसी बिग्रेको जस्तो गहन समस्या उठान भयो। कृषिप्रधान हाम्रो देशको कुनै बाँझो खेतका धर्साभन्दा अस्पष्ट अर्को प्रभावशाली भाषण फेसबुकका भित्ताभरि देखियो। यसरी बोलिदिनुभयो, मानांै ट्रोल पेजहरूलाई कन्टेन्ट नभएर खडेरी परेको बेला महिला सांसदलाई त्यो कन्टेन्ट पूरा गर्नमात्र चुनिएको हो।
गाउँपालिकाको उपाध्यक्ष, नगरपालिकाको उपमेयर अनि प्रतिनिधिसभाकै पनि उपसभामुख जस्तो ‘उप’मा अड्किएको हैसियत होइन ती ६ चुनिएका प्रतिनिधिको। तीमध्ये एकजना मात्रैको एउटा भाषण भिडियोले दिक्क लाग्ने गरी हँसाउनुको साटो कुनै विशेष योजना र कार्य विवरण सुनायो भने ? सोचौं त ! कहाँ को कहाँ कार्यकर्ता भएर काम गरिरहेका महुवाको आवाजले अर्कोपटक राजधानी, त्यो पनि बानेश्वरको टिकट माग्ने हिम्मत गर्छ। सायद पाउँछ पनि।
राजनीतिक आस्था जे भए पनि, काम गरे पनि नगरे पनि, हरेक पल्ट गगन थापा संसद्मा बोल्दा कान ठाडो हुन्छ, जीउभरि काँडा उम्रन्छ। हाम्रो लागि बोल्न प्रतिपक्ष छ है भनेर खुब आश लाग्छ। तर ‘म महिला भएरै, नेपालमा रहेरै राजनीति गर्छु, स्थापित हुन्छु’ भन्नेलाई न गगनको उदाहरणले पुग्छ न महिला राष्ट्रप्रमुखको खोक्रो घमण्ड घोकाएर हुन्छ। महुवा, सुषमा त भूगोलै फरक।
एउटी रञ्जु दर्शनाको डोरी छ, त्यही डोरीमा आफैं मनमनै अनुभव थपेर झुन्डिरहेका छन् प्रायः। तिनै रञ्जुले पनि बाटो बिराइन् भने झुन्डेका सबै आशाको ज्यान जान्छ।
महुवाको भाषणले एकाएक परिवर्तन आउने होइन। थिएन। त्यो उनलाई पनि थाहा थियो। बहुमतले डम्म फुलेर बसेको जमातको प्रवृत्तिमा औंला उठाउनुको अर्थ छैन भन्न सकिन्थ्यो। तर बोली हो, जसले प्रतिपक्ष हुनुको आभास दिलाउँछ। बहुमतकै भरमा जे पनि गर्न सक्छु भन्ने शासकलाई नैतिक डर देखाउँछ। बोलीले फरक पार्छ।
अहिले यहाँ हामीकहाँ पनि बहुमत छ। बेलायती राजानीतिज्ञ तथा लेखक लर्ड जोन डालबर्ग एक्टनले भनेका थिए, ‘शक्तिको मातले कसैलाई छोड्दैन। महाभ्रष्ट बनाउँछ।’
शासक अछूतो हुने कुरै भएन। कुप्लुक्क खान खोज्छ लोकतन्त्र। तब बोल्ने कोही त हुनुपर्छ जसको डरले लोकतन्त्र बाँचोस्। प्रतिपक्षले त्यही डर जोगाउन तलब खाने हो।
अँ, त्यो तलबमा लैंगिक भेदभाव हुन्न। बराबर बाँडिन्छ। किनकि लोकतन्त्र न एउटा लिंगको पेवा हो न जोगाउनु एकजनाको मात्रै ठेक्का।
माननीयज्यूहरू ! हाम्रो हैसियत साँच्चै यत्ति हो कि हजुरहरूले जाँगर नगर्नु भा मात्रै ? यति दुःखले आर्जेको ३३ प्रतिशत। तीन प्रतिशत औचित्य देख्न पाए। अझ, सुन्न पाए। सुनाइदिनु न।
संसद्को अमूल्य समयबाट पाएको केही मिनेटको महत्त्व कसैले हजुरहरूलाई सिकाउन नपर्ला। एसीभन्दा बेसी स्वदेशी समस्याहरू छन् जसले हजुरको आवाज पर्खिरहेका छन्।
कापी हेरेर पनि प्रस्ट नबोल्देपछि अब हजुरका लागि प्रस्ट बोल्न अरूको नैतिकताले कसरी दिन्छ ?
आज क्षमता देखाउन नसक्नु हिजो आफैंले कमाएको आरक्षणको आफैं धज्जी उडाउनु होइन ?
आज पाउँदा नगर्नेले भोलि पाएनौं भन्न लाज हुँदैन ?
अब हँसाउनु पर्दैन। हँसाउनका लागि इन्डियन र अरू विदेशी स्ट्यान्ड अप कमेडीका पन्च लाइनलाई राम्रोसँग नेपालीमा अनुवादसम्म नगरेका स्ट्यान्ड अप कमेडीका भिडियो युट्युबमा छ्यापछ्याप्ती छन्। अपांगता भएकालाई खिल्ली उँडाउँदै हाँसोको पात्र बनाएका कमेडीहरू प्रशस्तै छन्। हामी हाँस्ने अरू माध्यम खोजौंला तर तपाईंहरूचाहिँ बोल्नुस्। यसरी बोल्नुस् कि लडेर पाएको हकको साख जोगियोस्। महिलावादको नाक जोगियोस्। जुन बोलीले गाली दियो, त्यही बोलीले ताली सुनाउनेछ।
प्रेमीले त ‘म माया गर्छु, मनभित्र छ तर भन्दिनँ’ भनिरह्यो भने प्रेम फुत्किन सक्छ। छ भने देखाउनु पनि पर्छ। सक्षम हुनुहुन्छ भने देखिनुपर्छ। चामल छ ? बोल्नुस्, अनि बिक्छ।
त्योभन्दा अघि कहिल्यै नभएका कुरा, सपना, योजनाका बारे नबोलेको भए आजका यी परिवार जोडिन्नथ्यो, समाज जोडिन्नथ्यो, धर्मसंस्कृति, राष्ट्र केही जोडिन्नथ्यो। मान्छे नामक प्राणीको यही बोल्ने क्षमतालाई सलाम गर्दै अहिलेको संसारभरिकै सनसनीपूर्ण पुस्तक ‘सेपियन्स’मा हरारीले लेखेका छन्, ‘कल्पना गर्नुस्, मानिस जातिले यी भइरहेका खोला, रूख, सिंहबाहेक अरू त्योभन्दा अघि हुँदै नभएका कुराबारे बोल्न नसकेको भए कानुन बनाउन, चर्च बनाउन, राज्यहरू बनाउन कति गाह्रो हुने थियो !’
त्यसैले माननीयज्यूहरू ! तपाईंको बोलीले अरूलाई सपना देख्न सजिलो हुने गरी बोल्नुस्।
सम्झिनुस्, यो देशको सानो गाउँमा कतै कुनै स्कुल र कलेजमा पढिरहेकी कुनै फुच्चीले वादविवाद र वक्तृत्वकला प्रतियोगितामा गज्जब बोलिन् ! तररर ताली पड्कियो। खुसीले बररर आँसु तप्कियो। उनले प्रतियोगिता जितिन्। जित्नैबित्तिकै खुसीले राता गालाका आँसु पुछिरहेकी फुच्चीलाई वरपर कसैले सोध्यो, ‘नानी तिमी ठूली भएर कुन महिला नेत्रीजस्तो बन्छ्यौ ? ’
त्यो फुच्चीले उत्तर दिन खोज्दा कुनै पनि नेपाली महिला नेताको नाम दिमागमा आएन।
त्यति मीठो बोलेर भर्खरै जितेकी फुच्चीले क्या नमिठो गरी हार्छे है ?