परिवार : प्रेमदेखि पैसासम्म

परिवार : प्रेमदेखि पैसासम्म

विवाह गरेर प्रेमले पारिवारिक सुखको अनुभूत गर्ने हाम्रो संस्कार सम्पत्ति, पद, शक्तिमा आएर सीमित हुन गएको छ; जसको परिणाम समाजमा चुलिएको पितृसत्तात्मक चरित्र अत्युत्कर्षसँगै अधोगतितर्फ पनि उन्मुख छ।


जेठको अन्तिम हप्ता नौलो नम्बरबाट फोन आयो। आवाज पनि नचिनेकै थियो। नरम स्वरमा कसैले बोल्यो— दिदी नमस्कार, म तेज भण्डारी।

अनि एकै सासमा उसले आफ्नो समस्या सुनायो। ऊ बोलिरहँदा मैले अँ अँ मात्र भनिरहेँ। लामो सास तान्दै उसले भन्यो— दिदी कुरा कति छन् कति। दिदी म तपाईंसँग भेटेर भन्छु। म हिंसामा परेँ। मेरो कुरा सुनिदिने कोही भएन। तपाईंको नम्बर पाएर फोन गरेको।

त्यसको केही दिनपछि अर्को एक जना मेडिकल डाक्टर भाइ उसैगरी फोनमार्फत जोडिए। उनको पनि समस्या उस्तै प्रकृतिको छ। केही हप्तापछिको अर्को एकजना यस्तो व्यक्तिको फोन आयो, जो न भेट्न चाहन्छन्, न आफ्नो नाम थर खुलाउन। आवाज पाकै उमेरको लाग्छ। रुन्चे स्वरमा भन्छन्— म ठूलै पदमा काम गर्ने मान्छे हुँ तर म यति धेरै हिंसामा छु कि न आफन्तलाई कुरा सुनाएर रुन सक्छु, न कानुनी उपचारमै जान सक्छु। रुँदै उनी निर्णयात्मक सल्लाह मागिरहेका थिए, म के गरौं ? कति पटक त आत्महत्याको प्रयास गरेको प्रसंग पनि सुनाए उनले। उस्तै प्रकृतिका घरेलु हिंसाका तीनवटा घटना अहिले एकै समय हेरिरहेकी छु म।

पहिलो मुद्दा : तेजबहादुर भण्डारी

वर्ष ३८। तेजबहादुर आर्मीमा जागिरे थिए। छोरो पनि जन्मिसकेको थियो। त्यही बेला पूर्वतिर जागिर सरुवा भयो। झापाकी तारा राईसँग भेट भयो। उनी विधवा थिइन्। उनी प्रेममा परे। आफूभन्दा केही वर्ष जेठी विधवासँगको उनको प्रेमसम्बन्ध कति प्रगाढ बन्यो भने उनी घर फर्कन नै असमर्थ हुन्छन्। झापा नै गएर बस्छन्।

त्यस बीचमा उनीहरूले माइती पक्ष राखेर विवाह गरिसकेका थिए र एउटी छोरी पनि जन्मिसकेकी थिइन्। ताराका पहिलेका पति इन्डियन आर्मीका भएकाले पेन्सन रोकिने डरले उनीहरूले बिहे दर्ता भने गरेनन्। तेजबहादुरलाई पनि लाग्यो, किन चाहियो विवाह दर्ता, त्योभन्दा कसिलो प्रेमको बन्धन छ। केही महिनापछि छिमेकीको अगाडि ठूलो घर बनाएर देखाउने रहर भएको भन्दै ताराले तेजबहादुरलाई विदेश जान जोड गर्न थालिन्। पत्नीले भनेपछि किन नमान्नु, उनी पैसा कमाउन भिजिट भिसामा दुबईतिर हानिए।

दुबईमा उनले अफगानिस्तान लैजाने एक जना विदेशी भेटे। पूर्वसैनिक भएकाले अफगानिस्तानमा नेटो सेनाको खाना बनाउने काममा उनी सीधै छानिए। ०६४ सालदेखि ७१ सालसम्म अफगानिस्तानको नेटो सेनाको भान्सामा उनले काम गरे। एक लाख पचास हजार नेपाली रुपैयाँ तलब आउँथ्यो। बचेको समयमा कार्ड बेचेर तलब बराबर अरू पैसा पनि कमाउँथे। यसरी उनले पाइपाइ कमाई जोडेर तारालाई पैसा पठाए। त्यसबाट उनीहरूले एउटा घर, एक बिघा जग्गा र एउटा स्कुल चलाइरहेका थिए। जब उनी विदेशबाट आए, तब घरमा पैसाकै विषयलाई लिएर झगडा सुरु भयो।

उनले पठाएको पैसा के केमा खर्च भयो भन्ने प्रश्नमा तँलाई किन हिसाब चाहियोबाट झगडा सुरु भयो। ‘घरपरिवार, जागिर, यौवन, जात सबै कुरामा सम्झौता गरेर उनैमा समर्पित भएको मान्छे हुँ। यत्ति सोध्ने मेरो हक थिएन र ? ’ उनले भने, ‘तर तँलाई किन चाहियो हिसाब भन्ने मात्रै उसले जवाफ दिई।’ प्रेमबाट सुरु भएको उनीहरूको सम्बन्ध पैसामा आएर विसर्जन हुने अवस्थामा पुग्यो।

हप्ता, महिना र वर्ष बित्दै जाँदा सुत्ने कोठा पनि पत्नीले फरक पार्न थालिन्। जति बेला ताराले आफ्नै आमाको अगाडि उसको कठालो समातेर दुव्र्यवहार गर्न थालिन्, त्यति बेलादेखि उनी घरमा बस्नै नसक्ने भए। ‘आमाको अगाडि श्रीमतीको छाडा गाली र झापड खानु जति नराम्रो कुरा केही हुँदो रहेनछ। त्यही भएर आमालाई पनि घर पठाएँ’। तेजले भक्कानिँदै भने, ‘त्यो दिन त सकियो तर दिनदिनै बाहिरका मान्छे ल्याएर पिटाउन थाली। एक दिन घरको ढोका बन्द गरेर ममाथि कुटपिट भयो। उपाय नलागेपछि राति २ बजे घरबाट निस्केर हिडेँ।’

विवाह दर्ता गरे इन्डियन आर्मीमा रहेका ताराका पूर्वपतिको पेन्सनपट्टा रोकिन्छ भनेर पहिले विवाह दर्ता गर्न उनले मानेकी थिइनन्। अहिले भने तारा तेजबहादुरले नै विवाह दर्ता नगरिदिएको आरोप लगाउँछिन्। पत्नीबाट बारम्बार कुटपिट र हिंसा सहेका तेजबहादुर विक्षिप्तजस्तै भौंतारिइरहेका छन्।

दोस्रो मुद्दा : राजेश साह

पर्यटन बोर्डको एउटा कार्यक्रममा थिएँ। म डा. राजेश साह बोलेको, तपार्इंलाई एकैछिन भेट्छु भन्दै उनले धेरै पटक फोन गरे। उनलाई भेट्न त्यहीँ बोलाएँ। धेरै दिन नसुतेका जस्ता निन्याउरा आँखा, जिङ्रिंग भएको कपाल अनि रसिला आँखा भएको हुलिया लिएर आए उनी। उनले आफ्नो समस्याको बेलिविस्तार लगाए। ‘हामी पतिपत्नी दुवै डाक्टर। विवाह गर्नासाथ हामी दुवै मेडिसिन पढ्न चीन गयौं तर त्यहाँ नीलम मसँग बसिनन्। थाहा पाएँ, उनी अर्को केटासँग बसिछन्। पहिले त मैले यो कुरा भनिनँ तर जब घर जाने बेला भयो, तब भने घरमा पनि उनी अनौठो अनौठो व्यवहार गर्न थालिन्। मैले भनेँ, ‘तिमी यसरी अनेक काम गर्ने अनि एउटै भएर कसरी बस्न सकिन्छ ? ’ पत्नीसँग यसरी मनमुटाव सुरु भएको रैछ उनको। उता पत्नी नीलम भने चाहेजति दाइजो दिन नसकेपछि लोग्नेले यस्तो आरोप लगाएको दाबी गर्छिन्। पत्नीले लगाएको आरोपको पत्रकार सम्मेलन नै गरेर राजेशले खण्डन गरेका छन्।

न्युजिल्यान्डमा छात्रवृत्तिमा पढ्न राजेशको नाम निस्कियो। उनी पढ्न त्यतातिर हानिए। यता नीलमले आमाबुवालाई धम्क्याउने, घरमा पस्न नदिने गर्न थालिन्। उनले आफूसँग दाइजो मागेको र कुटपिट भएको प्रचार गरिन्। राजेशका आमाबुवा यस्तो व्यवहार सहन नसकेर घर छोडेर निस्के। त्यसपछि नीलमले आफूसँग दाइजो मागेको भन्दै राजेशविरुद्ध मुद्दा हालिन् र राजेश न्युजिल्यान्डबाट नेपाल फर्के। प्रेममा बाँधिएर अघि बढ्नुपर्ने सम्बन्ध पैसामा नापजोख हुन थालेपछि अहिले आरोप लगाउँदै एकअर्काको मुख पनि हेर्न नसक्ने अवस्थामा छ यो जोडी।

फोनबाटै जोडिएको अर्को समस्या

बैनी नमस्कार, मेरो परिचय खुलाउँदिनँ। म एक सम्पन्न परिवारमा हुर्केबढेको, सरकारको उच्च तहको कर्मचारी हुँ। हड्डी लुलो हुने समस्याका कारण पेन्सन हुनुअघि नै जागिरबाट अवकाश लिएकाले पेन्सन पकाउन सकिनँ। अवकाशमा आएको पैसा उसै सकियो। जसोतसो बनाएको एउटा घर छ काठमाडौंमा। अंश चाहेजति पाइनँ भनेर छोरो पनि मलाई अपराधीलाई जसरी हेर्छ। उमेर र रोगले ज्यान यस्तो भएको छ। अब त एकै ठाउँ बसौं, त्यस्तै पुस्तक हेरौं, आफ्ना साथीहरूसँग गफियौंजस्तो हुन्छ। तर एउटा घर पनि बनाउन सकिनस् भनेर घरमा छोरा र पत्नीको सधैं कचकच बेहोरिरहेको छु।

उनलाई अशक्त अवस्थामा तनाव हुन्छ र कहिले घरै छोडेर जाऊँ जस्तो लाग्छ। ‘घर जेलजस्तो छ अनि म कैदीजस्तै’ यसो भनेर उनी फोनमै घुँक्क घुँक्क रोए। उनले आफू दिनभरि कतै एकान्तमा गएर बस्ने, साँझ घर फर्किने गरेको बताए। ‘घरै नफर्कौंजस्तो हुन्छ तर कहाँ जानु, ठाउँ पनि त छैन’ उनले भने, ‘गह्रुँगो ज्यान लिएर घर फर्कन्छु। साथीभाइ, आफन्त भेट्न मन लाग्दैन, भेटे पनि न तिनीहरूसँग रुन सक्छु।’ एकजना वकिललाई आफ्नो पीडा सुनाउँदा मेरो फोन नम्बर पाएर फोन गरेको उनले बताए।

मैले परोक्ष रूपमा देखेका यी प्रतिनिधि घटनाले परिवारमा प्रेम होइन, विनिमयको सम्बन्ध मौलाइरहेको बुझ्न कठिन छैन। हरेक सम्बन्ध नाफानोक्सानका आधारमा भएर निर्मित र विघटित भइरहेका छन्। फरक के छ भने, हिजो समाजका यस्ता घटनामा पुरुषहरूलाई बढी सहुलियत थियो, यस्ता सम्बन्धको प्रताडना महिलाले बढी बेहोर्नुपर्थ्यो। अहिले कानुनले दिएको सकारात्मक विभेदको सहुलियत प्रयोग गरेर महिलामा यो दानवता सरेको छ। अरू रोएको, अरूलाई दुखेको, आपत्मा परेको जेसुकै देख्नुपरे पनि आफ्नो जिन्दगी नाफामा लैजाने होड समाज र परिवारमा देखिँदै आएको छ।

महिलाहिंसाका डरलाग्दा समस्या समाजमा देखापरेका बेला पुरुषमाथि बढेका हिंसा पनि देखिएका छन्। यही बेला पहिलेकी स्वास्नी मरेर अर्की स्वास्नी भित्र्याएको एउटा व्यापारीले दोस्रीमाथि नोकरजस्तो व्यवहार गरिरहेको मुद्दा पनि नजिकबाट हेरिरहेकी छु। सभ्य र आधुनिक भनिएको समाजमा सबै कुरा व्यापारिक बन्दै जाँदा जिउनका लागि चाहिने प्रेम र सम्मान पनि लिलामीमा चढ्न थालेको छ। मानवता र प्रेमको ठाउँमा सम्बन्धमा नापजोख र व्यापार जन्मने प्रसव वेदनामा समाज छटपटाइरहेको छ।

मसँग यसरी समस्या बोकेर आउनेलाई म भने उनीहरूलाई पूर्ण धैर्य लिन र आफूमा निहित आन्तरिक सम्पत्तिको जगेर्ना गर्न सुझाव दिन्छु। पहिले आफैंमाथि बिनासर्त प्रेम गर्न हरेकलाई सुझाएकी छु। एकजनासँग प्रेम गर्न नसक्नेले अर्को कसैसँग पनि प्रेम गर्न सक्दैन। प्रेमले हरेक समस्या सुल्झाउँछ, जसरी लालसाले हरेक समस्या पैदा गर्छ।

परिवार बनाएर बस्न थालिएको इतिहास पढ्दा मानिसले आपसमा प्रेमबाट त्यस्तो संस्था टिकेको भेटिन्छ। कहिलेदेखि मान्छेले परिवार बनाएर बस्यो भन्ने यकिन थाहा नभए पनि त्यसबारे ऋग्वेदमा उल्लेख गरेको पाइन्छ। जहाँ विवाह र वैवाहिक सुखबारे उल्लेख छ। त्यहाँ पनि कसैको विवाहको नभई सूर्य र सरण्यूको विवाह भनी उल्लेख गरेको पाइन्छ। (ऋग्वेद,१० मण्डल,१७ सूक्तको, १४ ऋचा) यही कुरा हिन्दू सभ्यताका महिलाबारे लेखिएको पुस्तक ऋग्वैदिक नारी चरित्रमा पनि उल्लेख छ। (मदनमणि दीक्षित, ऋग्वैदिक नारी चरित्र, २०६९, सूर्य विवाह)

प्रेम समर्पण र साथले जीवन सुन्दर बनाउन पारिवारिक संरचनाको कल्पना हुँदा हुँदै प्रयोग हुँदै आएको हो पारिवारिक प्रचलन। प्रेम एकत्रित गर्दै पाँच हजार वर्षअघि सुरु भएको विवाह संस्थामा अबचाहिँ अहंताको खिया लागेको छ। सूचना र सञ्चारको उच्च विकास भएको सभ्य समाज भनिरहँदा परिवार र सम्बन्ध भने बजारको नाफाघाटामा बन्न थालेपछि विवाह संस्था अत्यन्त नाजुक अवस्थामा आइपुगेको हो। विवाह संस्थाको विघटनको पूर्वाभ्याससँगै अत्युत्कर्षमा पुगेको पितृसत्ता कमजोर बन्न पुगेको छ।

फेरि समाजमा हिंसा मात्र छ भन्नु पनि गलत हुन्छ। आफूलाई बदलिएको समयअनुसार ढालेर जिउनेहरू पनि प्रशस्त। महिला र पुरुषको एकअर्कालाई समानतामा हेर्न सक्ने अवस्था पनि उसै गरी जबरजस्त स्थापित छ। हिजो महिलालाई म म हुँ र तिमी वस्तु हौ भन्थे, पुरुष। तिमी तिमी हौ र म वस्तु हुँ भन्थे महिला। तर आज म म हुँ र तिमी तिमी हौ भन्छ पुरुष। तिमी तिमी हौ र म म हुँ भन्छन् महिला। नारी र पुरुष एउटै अवस्थामा रहनका लागि दुवैतिरबाट भरपूर प्रयास भएको अवस्था हो यो। दुवैले दुवैको अस्तित्व स्वीकार गरेको, एकअर्काको कुरामा ध्यान दिएको समाजको सर्वोत्कृष्ट अवस्था र पितृसत्तात्मक समाजको अत्युत्कर्षको अवस्था हो।

हिजो समाजमा हाँस्नु हुन्न भन्ने सिक्दै महिला हुर्किए भने पुरुष रुनु हुन्न भन्ने सिकेर हुर्किए। आज त्यो बदलिएको छ। एकले अर्काेलाई रुवाउँदै र पीडा भोग्दै, अब अरूलाई रुवाउनु हुन्न र सबै खुसी हुनुपर्छ भन्ने चेतनाको जन्म हुने चरणमा पुगेको छ।

केहीले यस्तो अवस्था हिन्दू सभ्यता र संस्कृतिमा मात्रै छ भन्ने प्रचार गर्छन्। तर यो कुरा हिन्दू सभ्यतामा मात्र सीमित छैन। विश्वमा नै महिलाभन्दा पुरुष बढी तनावमा छन्। ६ महिनाअघि मार्चमा बीबीसीले पोस्ट गरेको रिपोर्ट यहाँ राख्न उचित ठान्छु। विश्व स्वास्थ्य संगठनको गएको वर्षको तथ्यांकअनुसार संसारभर सात लाख ९३ हजार जनाले आत्महत्या गरे। तिनमा महिलाभन्दा पुरुषको संख्या चार गुना बढी छ, तनावको दर पनि उस्तै छ। विश्व स्वास्थ्य संगठनले रिपोर्ट पेस गर्दै भनेको छ— सन् १९८१ सम्म पुरुष र महिलाको आत्महत्या गर्ने संख्या बराबर थियो। ३० वर्षको अन्तरालमा यसको संख्या बढेर चार गुना बढी भयो। मतलब पछिल्लो तथ्यांकले पुरुषलाई झनै तनावमा लाँदैछ भन्ने देखाउँछ। (हेलेन सुमाखर, मार्च १८ २०१९, बीबीसी रिपोर्ट)

आदिमकालमा विवाहको परम्परा आइसकेको थिएन। त्यस बेला कुमारी आमा हुन्थे। एक्लै र स्वतन्त्र भएपछि आमाहरू शक्तिशाली थिए। तिनैको उदाहरण हुन् दुर्गा, काली, चण्डी; जसले असुरहरूबाट देवतालाई बचाएका थिए। तिनलाई अहिले पनि हामी पूजा गर्छौं।

यस अवस्थाले मातृसत्तात्मक समाज निम्त्याउन सक्ने भन्ने कुरा धेरैलाई शंका लाग्न सक्छ। हिजो समाजको चरित्र कस्तो थियो र आज यस्तो अवस्थामा आयो भनेर बुझ्न महाभारतको एउटा सन्दर्भ राख्न सान्दर्भिक ठानेँ।

उहिले उहिले स्त्रीहरू अरू पुरुषसँग घुलमिल नभएका हुँदैनथे अर्थात् अनावृत्त हुन्नथे। उनीहरू कति स्वतन्त्र थिए भने जोसँग विहार गर्न मन लाग्यो, त्यसैसँग गर्थे। कौमार्यदेखि नै तिनीहरू कसैको नियममा बस्दैनथे। त्यसलाई अधर्म पनि मानिँदैनथ्यो। बरु त्यही नै धर्म थियो। त्यही पुरातन धर्म पशुपन्छी, कीरा आदि काम र द्वेष छोडे र अहिले पनि पहिलेदेखि देखिएर आएको यही धर्मको आदर महर्षिहरू गर्छन्। उत्तर कुरुमा अहिले पनि त्यही धर्म कायम छ।

एकपटक श्वेतकेतु बाबु महर्षि उद्दालकका र आमा बसिरहेको बेला उनका बाबुकै अगाडि उनकी आमाको हात समातेर जाऊँ भनी एकजना ब्राह्मणले भनेछन्। बलजफ्ती आमालाई लान लागेको देखेर छोराले रिसाउँदै भनेछन्— यस्तो किन हुन्छ ? अनि यस्तो बेला तपाईं किन नबोल्ने ? रिसाएका छोरा श्वेतकेतुलाई सम्झाउँदै बाबुले भनेछन्— छोरा नरिसाऊ, यो नै सनातन धर्म हो। सबै वर्गका स्वास्नीमान्छेहरू उहिले अनावृत्त नै हुन्थे, जस्तो अहिले गाईबस्तु छन्।

यस्तो देखेर र बाबुको कुरा सुनेका श्वेतकेतुले तत्काल स्त्री र पुरुषका मर्यादा बनाई भने— यो पातिव्रत्य उल्लंघन गर्नेलाई भ्रूणहत्यासरह पाप लाग्नेछ। त्यसैले भनिन्छ, श्वेतकेतुले बनाएको यो मर्यादा त्यही बेलादेखि मानिसमा लागू भयो। मानिसमा मात्र लागू भएको यो नियम अरू जन्तुमा छैन। त्यही बेलादेखि आफ्नो मर्यादा भनेर साँध लगाएको समाज अहिलेसम्म चलिरहेको छ। (पाण्डुले कुन्तीलाई सम्बोधन गरेको वैशम्पायनको क्रभाषामा, महाभारत आदिपर्व, ११३ अध्याय, ४–१७ ,श्लोकमा लेखिएअनुसार )

त्यो बेलाको समाज बुझ्न उपनिषद्को अर्को एक प्रसंग हेरौं। हारिद्रुमत गौतमकहाँ गएर सत्यकाम जावालले भने— हजुरसँग वेद पढ्ने इच्छा छ मेरो। मलाई वेद पढाइदिनुस्। उनको वेद पढ्ने इच्छा सुनेर हारिद्रुमतले सोधे— ए बाबु तिमी कुन गोत्रका हौ ? उनले आफू कुन गोत्रको हो भनेर आमालाई पनि थाहा नभएको, आमाको धेरैसँग सम्बन्ध भएकाले कसबाट मलाई पाएको हो भन्ने यकिन छैन भनी आमाले भन्नुभएको कुरा सुनाउँदै उनले भने— आमा जावाल भएकोले जवाला भएँ। नाम सत्यकाम भइहाल्यो। यस कारण म सत्यकाम जावाल हुँ। यस्तो जवाफ सुनी हारिद्रुमतले तिमी ब्राह्मण नै रहेछौ भनी पढाउन थाले भनी उपनिषद्मा उल्लेख छ। (छान्दोग्योपनिषद् ४ अध्याय, ४ खण्ड, १–५)

पछि विवाहको प्रचलन आयो र महिलाको स्वतन्त्रता खोसियो। महिलाको हातबाट नेतृत्व पुरुषको हातमा पुग्यो। अहिलेको कुमारी आमा बन्ने तरखरको समाजले उसैगरी स्वतन्त्र र शक्तिशाली महिला नेतृत्व देओस्, न कि पितृसत्तात्मक समाजजस्तो शासक र शोषितको अवस्था।

हिंसा हिंसा नै हो, त्यो पुरुषले गरून् या महिलाले। हिजो एकातिर मात्र हिंसा थियो, आज दुवैतिर छ। तर लामो समय हिंसामा रहेर पनि चुप रहेका महिला घरबाट मात्र हैन, समाजमै अलग स्थान बनाएर बस्ने पूर्ण तयारीमा देखिन्छन्।

त्यसको एउटा उदाहरण हो, महिलाहरू एकल आमा बन्न पाऊन् भनी तयार भएको विधेयक। यसले बिहे नगरे पनि आमा बन्ने अधिकारलाई कानुनी मान्यता दिनेछ। यसले पनि विवाह नगरी बस्न चाहनेको संख्या बढाउनेछ। अनि विस्तारै यो अवस्थाले छिट्टै विस्तारित रूप लिनेछ। यसका आधार हेरौं— पहिलो, आधार विवाह हुने तर एक दुई वर्षमा सम्बन्धविच्छेद हुने आँकडा बढेर जानु। दोस्रो, विवाह गर्भधारणकै लागि मात्र हुने। तेस्रो, अस्पतालमै शुक्रकीट किन्न पाइने व्यवस्था, अनि एक्लै आमा बनेर बच्चा हुर्काउन सक्ने आत्मनिर्भर आमा बन्नु। यसरी बढेको विकासक्रमले व्यवस्था फेरिन कोल्टे मात्र फेर्दै छैन महिलाको आत्मनिर्भरता बढाउँदैछ र आत्मनिर्भरताले हिंसा कम गर्छ।

त्यस्तो अवस्थामा महिला पनि एक्लै हुनेछन्। तर उनीहरू विवाहपछि बाँधिनुपर्ने बाध्यताबाट छुट्कारा पाउँछन्। यसले स्वतन्त्रतातर्फ उनीहरूलाई लैजान्छ। पति नहुँदा पनि सन्तान हुर्काउन सक्ने आमा हामीले समाजमा देखेका छौं। तर, पत्नी मरेपछि एकल जीवन जिउन पुरुषलाई भने कठिन हुनेछ।

समाज हिजो मातृसत्तात्मक थियो र विस्तारै पुरुषको हातमा गयो भनेर पश्चिमा सभ्यताका समालोचकहरूले पनि स्वीकारेका छन्। चर्चित नारीवादी लेखिका सिमन बोउवा वेदका ऋचाहरूमा महिलाको बारे जुन वन्दना छ, पुराणमा आएर यसलाई हीन बनाइयो। यसबाट सावित हुन्छ कि मातृसत्तात्मक समाजको अवतरण वास्तवमा महिलाका लागि सबैभन्दा ठूलो ऐतिहासिक हार थियो। तर समाज यसैगरि फेरबदल भइरहने बताउँछिन्। (सिमोन द बोउवा, सेकेन्ड सेक्सको भूमिका, प्रकाशन सन् १९४९, अमेरिकाबाट)

हाम्रो सामाजिक संरचनाले लामो समय पुरुषलाई स्वतन्त्र र महिलालाई अनेकौं बन्धनमा राख्यो। यसले गर्दा समाजका सबै खालको स्रोतमाथि पुरुषको एकलौटी स्वामित्व भयो। ज्ञान, सीप, सम्पत्ति, सञ्चार सबै स्रोत आफ्नो हातमा भएपछि ऊ शक्तिमा भयो र शक्तिहीनलाई दबाबमा राख्यो। यसरी धेरै शताब्दीसम्म महिलाहरू एकोहोरो हिंसामा परे। पछिल्लो समय सूचना र सम्पत्तिमा महिलाको पनि पहुँच बढ्दै प्रेमको स्थान सम्पत्ति र अन्य कुराले लिन थालेको छ। महिलाहरू ज्ञानी होलान्, उनीहरूले पुरुषजस्तो सम्पत्तिका लागि अरूको दुःखलाई दुःख नदेख्ने, अरूको चिच्याहटमा रमाउने हुँदैनन् होला भन्ने आमधारणा थियो। तर समाजमा चाहे पुरुष होस् वा महिला; सम्पत्ति, शिक्षा र सूचनामा पहुँच भएपछि मान्छेमा ज्ञान बढ्नुको सट्टा अहम् पलाउने रहेछ। यसले प्रेमको प्रकाश नभएर अहम्को ताप उत्पन्न गराउँछ सम्बन्धमा। प्रेम सकिएपछि आकांक्षा र स्वार्थको बन्धन मात्र बन्नेछ परिवार। अनि जसले जुन बेला पनि बाहिरिन तयार हुनपर्नेछ आफ्नै घरबाट। अहिले भइरहेको पनि यही हो।

यसरी विवाह गरेर प्रेमले पारिवारिक सुखको अनुभूत गर्ने हाम्रो संस्कार सम्पत्ति, पद, शक्तिमा आएर सीमित हुन गएको छ; जसको परिणाम समाजमा चुलिएको पितृसत्तात्मक चरित्र अत्युत्कर्षसँगै अधोगतितर्फ पनि उन्मुख छ।

@binuebhi


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.