मेरो महिनावारी
मलाई ‘छाडा’ र मेरी आमालाई ‘कस्ती आमा होली’ नभनिदिनु होला।
अन्नपूर्ण पोस्ट्को फुर्सदमा गत भदौ २८ मा छापिएको श्रेयज सुवेदीको लेख ‘पर–सरी’ पढेँँ। ‘रजस्वला नबार्ने महिलालाई नगद पाँच हजार पुरस्कार’ शीर्षकको समाचार करिब डेढ महिनाअघि पढेपछि आफ्नै एउटा लेखको सम्झना आयो।
रजस्वला हुने कारण हामी सबलाई थाहा छ। म त्यो लेखेर बोर गराउँदिनँ, यहाँहरूलाई।
एक्काइसौं शताब्दीमा आइपुग्दा पनि आधुनिक भनिएका हामी नै संस्कारभित्रका अनगन्ती कु–संस्कारलाई आँखा चिम्लेर मान्दै आएका छौं। पुरानो पुस्ता वा नयाँ पुस्ताका महिलामा रजस्वलासम्बन्धी उस्तै विचारधारा देखिन्छ। पुरानो पुस्ताका नारीहरू पाप लागेर नर्क जाने डरले रजस्वलालाई कडिकडाउ बार्दै र बार्न लगाउँदै छन् भने मेरो पुस्ताका कतिपय नारीहरू आमाले जे–जस्तो गरेको देखे, त्यसलाई निरन्तरता दिँदैछन्। यो आधुनिकतामा पनि पुराना मान्यता र संस्कार जो तार्किक छँदै छैनन्, तिनलाई जस्ताको तस्तै अनुसरण गरिरहँदा लाज आफैं लजाएको छ। रजस्वलाका मामलामा शोषण र पीडा पुरानो पुस्ताका नारीले नारीलाई नै दिँदै आएका छन्। र, ती नारी पुरुषवादी, पितृसत्तात्मक सोच–संरचनाले ग्रस्त हुन बाध्य छन्।
श्रेयज सुवेदीकै शब्दमा भन्दा ‘मिठाईजस्तो मीठो शब्द’ रजस्वला कसरी नमीठो सुनियो होला ? रजस्वला अर्थात् सृष्टिका लागि अनिवार्य र पवित्र प्रक्रिया। अनिवार्य कुन अर्थमा भने मैले यो लेखिरहनु नपर्ला। पवित्र यस मानेमा कि रजस्वला भएपछि नै हामी आमा बन्छौं र सृष्टि चल्छ। जन्मिएको शिशुलाई नेपाली संस्कारले भगवान्को रूप मान्छ। यस्तो विश्वास बोकेको रजस्वला कसरी अपवित्र हुन सक्छ ? पाप हो भनेर धार्मिक रूपमा मनमौजी वैधानिकता दिन कुन आधारमा खोजिन्छ ? रजस्वला हुनु पाप हो भने सृष्टि बोक्नु पनि पाप नै त हो। सन्तान भएनन् भने किन अर्की बुहारी खोजिन्छ ? के अर्की बुहारी हुन आउने नारी रजस्वला नभएकी हुन्छिन् हो ? कुनै नारीलाई रजस्वला भएन भने पनि पीर, भयो भने पनि पाप बोकिन्छ कि भन्ने पीर। शास्त्रहरूमा रजोधर्मका अवस्थामा नारीहरू अपवित्र हुन्छन् भनिएको छ तर पाप हो चाहिँ भनिएको कहीँकतै पाइँदैन। अपवित्र हुन्छन् भन्ने कुराको पनि खेद छ मलाई किनकि अपवित्र हुन्छन् शास्त्र भन्छ भने महिला मात्रै किन ? हरेक मानव जाति अपवित्र हुन्छ। रगत बग्दा अपवित्र भइन्छ भने शरीरको कुनै अंग काट्दा पनि शरीरबाहिर रगत बग्छ। त्यो बेला पनि अपवित्र मानिनु पर्यो हैन ?
शरीरमा दिसापिसाब, खकार, पिप, सिँगानजस्तो फोहोर संगृहीत हुन्छ। रजस्वला हुँदा बगेको रगतमा सोडियम, क्याल्सियम, आइरन, क्लोराइड हुन्छ। यति बेला बग्ने रगत र शरीरभित्र बगिरहेको रगत एउटै हो। यहाँँ बुझ्ने कुरा यो छ कि, मानव शरीरमा फोहोर उत्पादन भइरहन्छ तर रगतमा त शरीरका लागि अत्यावश्यक तत्त्वहरू हुन्छन्। जब रगत योनीद्वार हुँदै बाहिर निस्किन्छ, रगतसँगै पाठेघरका टिस्युहरू पनि निस्कन्छ। निस्किने क्रममा अन्य अंगसँग रगतको सम्पर्क हुँदा ब्याक्टेरियाहरू मिसिन्छन् अनि मात्रै त्यो रगतलाई फोहोर रगत भन्न मिल्ने अवस्था रहन्छ। पिसाब फेर्नु र रगत बग्ने प्रक्रियालाई उस्तै रूपमा हेर्न सकिन्छ। पिसाब फेरेपछि धुनेले हरेक चोटि धुन्छन्, नधुनेले नुहाउँदा मात्रै धुन्छन्। रजस्वला हुँदा पनि त्यस्तै हो। कसरी सफा गर्छन् भन्ने महिलाको व्यक्तिगत इच्छा र सचेततामा निर्भर रहन्छ।
पिसाब फ्याँकिँदा अपवित्र नहुने अनि रगत फ्याँकिँदा फोहोरी र अपवित्र भइने ? रजस्वला भएका बेला मन्दिर जान नहुने, पानी छुन नहुने, सूर्य हेर्न नहुने, दाजुभाइ हेर्न नहुने, भान्साघर पस्न नहुने, सोफामा बस्न नहुने, भुइँमा बस्नुपर्ने, खाटमा सुत्न नहुने, भुइँमा सुत्नुपर्ने जस्ता कुरीति र अविश्वास हट्नुपर्छ किनभने यो विश्वास अहिलेको वैज्ञानिक युगमा तर्कपूर्ण छँदै छैन। सुतेका लुगालाई कसैले सुनपानी छर्किएको र घाममा सुकाएको देखिकी छु। घाममा सुकाएको तार्किक छ किनभने सूर्यको चर्को प्रकाशले ब्याक्टेरिया निष्क्रिय पार्छ तर सुनपानी छर्किनु ? के तर्कपूर्ण छ यो कुरा ? धर्म, संस्कार र रीतिरिवाजको निर्माण सामाजिक विश्वासले निर्धारण गरेको हुन्छ। रजस्वलाका विषयमा हिन्दू समाजले जस्तो जग खन्यो, समाजले त्यसैलाई मान्यता दियो। सन् १९३० भन्दाअघि पाठेघरको क्रियाका बारे कुनै अध्ययन भएको थिएन भन्ने खोजले देखाउँछ। त्यति बेलासम्म विज्ञानले पनि पुरुष शरीरको मात्रै अध्ययन गर्यो। सन् १९२० मा मेडिकल साइन्सले महिलाको शरीर र महिनावारीका विषयमा एउटा जर्नल निकाल्यो जसमा महिनावारीका विषयमा सामान्य जानकारी थियो।
हाम्रो देशका कतिपय जिल्लामा हुने छाउपडी प्रथाका नाममा कति महिला बलात्कारजस्तो पीडाबाट गुज्रिनुपर्छ, कति सर्पको टोकाइले मर्छन्। रजस्वलाका बेला पोसिलो खानेकुरा र आरामको आवश्यकता हुन्छ तर छाउघरमा महिलालाई सुविधाहरूबाट वञ्चित गरेर राखिन्छ। यो केको सजाय दिएकोे ? रजस्वला भएको बेला पनि महिलाले अझै कठोर परि श्रम गर्नुपर्ने यथार्थ छर्लंगै छ। त्यो श्रमशोषण, शारीरिक, मानसिक शोषण महिलाले महिलालाई नै गर्दै आएका छन्। सत्य बोल्नुपर्दा पुरुषले यो विषयमा खासै बाधा पुर्याएको मैले थाहा पाएकी छैन वा म हुर्किएको समाजमा त्यस्ता पुरुष देखिएनन्, यसै भन्न सक्दिनँ। तर म हुर्किएको समाजमै महिलाले महिलालाई नै शोषण गरेको देखेकी छु। म यसलाई महिलाले महिलामाथि गर्ने अत्याचार भन्छु। तर, पनि यसको जगमा महिलाको भन्दा पुरुषवादी सोचकै इँटा छ। ‘भगवान् एक रूप अनेक’ भन्ने भनाइ नै छ। यसर्थ भगवान् जुन रूपका हुन्, केवल एक छन्। युरोपेलीहरूले रजस्वला बार्दैनन्, खोइ त पाप उनीहरूको प्रगतिमा बाधक बनेको ? विश्वमा प्रगति उनीहरूले नै गरेका छन्, होइन र ? भारतीय हिन्दूको कुरा छोडौं, राईलिम्बूले पनि बारेको थाहा छैन। नेवार समुदायमा पनि ‘गुफा’ बसेपछि महिनावारी बार्दैनन्। के हिन्दू होइनन् उनीहरू ? ब्राह्मण समुदायमा मात्रै किन यो विभेद रजस्वलाप्रति ?
मेरै कुरा गरौं, कक्षा १० पढ्दा पहिलो पल्ट रजस्वला भयो। म्याङ्लुङ बजारको त्यो घरमा हामी सबै थियौं। न म अरू कसैको घरमा गएर बसेँ, न त छुट्टै कोठामा। भाइसँगै हुन्थेँ म। स्कुल पनि गएँ भनौं, मैले पहिलो पल्टको रजस्वला पनि सामान्यजस्तै गरी बिताएँ। ममी भन्नुहुन्थ्यो, ‘भाइ नछो, पानी नछो, उदाउँदो सूर्य नहेर।’ खाना त ममीले नै पकाउनुहुन्थ्यो। किचनमै गएर खान्थेँ सबैसँग। सानैदेखि म अलिक विद्रोही सोचकी थिएँ। पहिलो पल्ट ‘छुनु हुँदैन’ भन्ने शब्दलाई मेरो अटेरी स्वभावले परास्त गर्यो। पानी छोएँ। भाइ बोकेँ र सूर्य पनि हेरेँ। मन नपरेकी बुहारीलाई कजाउन अनेक बहानामा दुःख दिन्थे सासूहरूले। त्यस क्रममा नछुने भएकी बुहारीले छल गरी भनेर देवी चढेको भन्दै जंगल पस्ने महिला पनि देखेकी थिएँ। तिनै आफन्त महिलालाई रजस्वला भएको बेला थुप्रै चोटि खानाखाजा खुवाएकी छु मैले। तर ती महिला जंगल पसेको कुनै दिन देखिनँ मैले।
उच्च शिक्षाका लागि काठमाडौं छिरेपछि रजस्वलाका वैज्ञानिक कारणबारे थप बुझेँ। ममीले बार्नुपर्छ भन्दा बुवा समर्थन गर्नुहुन्थ्यो मेरो। रजस्वला भएको बेला खाना पकाएँ। मन्दिर गएँ। हिजो मात्रै होइन, आज पनि गर्दै छु। नुहाइधुवाइ गरी पूजा गर्ने ठाउँमा उभिएर हामीले मान्दै आएका ढुंगे अस्तित्वमा रहेका देवतालाई मैनबत्ती सल्काएर आफूलाई दिएको जीवनप्रति धन्य हुँदै आउँदा दिनका लागि आशीर्वाद माग्छु। यो लेखिरहँदा कस्तो संस्कारमा हुर्किएकी होली यो ? कस्ती आमा होली ? भन्ने आलोचनात्मक सत्तोसराप र गालीका बारेमा नसोचेको पनि होइन मैले। पूजापाठ गर्ने ब्राह्मण पुरुषबाहेक सामान्यतया पुरुषहरूले रजस्वलाका बारेमा चासो दिएको मैले थाहा पाएकी छैन। हरेक घरमा धर्म संस्कार जोगाउने जिम्मा के महिलाको मात्रै हो ? आमा हुने गुणको विकासचक्र हुँदा किन आपत्ति जनाउनुहुन्छ सज्जनवृन्द ? कोही कसैलाई बार्न मन छ भने सफा र तार्किक ढंगले बार्दा हुन्छ तर कोही कसैमाथि आफ्नो अन्धविश्वास नथोपर्नुस्। कसैले रजस्वलाप्रति उदारभाव राख्छ भने कुरा नकाट्नुस्।
मलाई छाडाको उपनाम र मेरी आमालाई ‘कस्ती आमा होली’ नभन्नुहोला, पाठक महोदय। यहाँ मेरी आमाको कुनै गल्ती छैन। मैले पनि कुनै गल्ती गरेजस्तो लाग्दैन। रजस्वला हुनु–नहुनु मेरो व्यक्तिगत चक्र हो। म रजस्वला भएँ भनेर बुवा, ससुराबुवा, देवर, जेठाजु, भाइ र घरमा आउने आगन्तुकलाई किन थाहा दिऊँ ? मैले मेरी आमालाई सम्झाउन सके पनि मेरी सासूआमालाई सम्झाउन सक्दिनँ। सासूआमाको मनमा गाडिएको भ्रम–विश्वासको जग गर्लम्मै ढाल्ने प्रक्रियामा मन दुःखाउन सक्दिनँ। सासूआमासँग भएका बेला यो प्राकृतिक चक्र उहाँकै नियमअनुसार बस्छु। जीवनयापनका क्रममा अहिले घरदेखि टाढा छु। रजस्वलाका बेला सबै काम आफैं गर्नुपर्छ, जुन मेरो चाहनानुसार नै छ। यसबाहेक हरेक दिन यो धर्तीमा हुने अनेक चामत्कारिक शक्ति, जसलाई हामी देवता भन्छौं, तिनलाई पनि सल्काउँछु।
रजस्वला भएको बेला मैले दसैंमा टीका लगाएकी छु, तिहारमा भाइ पुजेकी छु। गर्न नहुने र पाप लाग्ने भनिएका सबै काम गरेकी छु। आजका मितिसम्म आइपुग्दा जे छ र जहाँ छु, म एकदमै खुसी र सन्तुष्ट छु। पाप लाग्थ्यो भने सायद केही भइसक्थ्यो होला अहिलेसम्म। बुवा, भाइ छुँदा वा पुज्दा बुवा, भाइलाई हानि हुन्थ्यो भने भइसक्थ्यो होला यी पन्ध्र वर्षसम्ममा। अघिल्लो पुस्ताको त कुरै छोडौं, यही पुस्ताका दिदीबहिनी पनि मलाई मिन्स भएको आज यति दिन उति दिन भनेर बिनाप्रसंग सुनाउनुहुन्छ। सुनाउनुपर्ने कारण के ? नरम कि कडा कस्तो खाले मल त्याग्नुभयो ? बाक्लो कि पातलो कस्तो खाले डिस्चार्ज भयो ? त्यो पनि भन्दा हुन्छ नि किन भन्नुहुन्न ? किन हामी महिला यी र यस्तै कुरामा प्यारप्यार गर्न छोड्दैनौं ? यस्तै व्यवहार र सोचले गर्दा हो पुरुषले महिला बढी प्यारप्यार गर्छन र किलकिले नभएका भन्ने पनि।
अब हामीले नै सुरुआत गर्नुपर्छ नवीन सोचको। रजस्वला नबार्ने शुभ साइतको थालनी हरेक घरबाट हुनुपर्छ अनि मात्र यससँग जोडिएका भ्रमहरू तोडिन्छन् र छाउप्रथाजस्तो कु–संस्कार अन्त्य हुन्छ।
भारतको आसाममा रहेको कामाख्या देवीको पीठमा रजस्वला भएकी कामाख्या देवीको पूजा गरिन्छ। पीठमा देवीको योनि मात्रै छ भन्ने पढेकी हुँ। मन्दिरभित्र रजस्वला भएकी ती देवीको पूजा हुन्छ तर उक्त मन्दिरमा पूजा गर्न रजस्वला भएका महिलाहरू भने छिर्न पाउँदैनन्। कस्तो अचम्म ! नारीलाई देवी भन्छ शास्त्र अनि त्यही ढुंगाको देवीको रगत बगेको यौनांग पूजा गर्छ तर ज्यूँदो सशरीर उभिएकी नारीलाई अपवित्र मान्छ ? देवीको रजस्वलाको रगत मिसिएको पानी पवित्र मानेर मानिसहरूले स्नान तथा सेवन गर्छन्। देवीको रगत मिसिएको पानी पिउन हुने तर सशरीर उभिएकी राजस्वला भएकी महिलाले दिएको पानी पिउन नहुने ? अन्धभक्तको पनि सीमा त छ तर त्यो सीमा मिच्ने आँट कसले गर्ने ? कहिले गर्ने ? सोचौं न एक फेर !
अन्त्यमा आउँदा दिनमा सुवेदीको जस्तै क्रिस्टल क्लियर मन होस् सबै महिलापुरुषको। रजस्वलाजस्ता कु–संस्कारप्रति र उनले जस्तै सबै दाजुभाइले आफ्नी दिदीबहिनीलाई प्याड उपहार दिन सकून्। रजस्वला हुनुपूर्व र भएको अवधिमा हुने शारीरिक र मानसिक परिवर्तनलाई लेखक श्रेयज सुवेदीले जस्तै बुझ्न सकून्।