ममी, महँगी र म

ममी, महँगी र म

म चार/पाँच महिनाको गर्भमा हुँदादेखि ममी र मलाई छोडेका मेरो ‘बुवा’लाई मैले १७ वर्ष भएपछि नागरिकता बनाउनका लागि भेटेकी थिएँ, पहिलोपटक।


यो मेरी ममी र मेरो कथा हो। ममीले भोगेको त्यो कथा, जसलाई भन्न सक्ने हुन यतिका समय लाग्यो। धेरै समय द्विविधामा गुज्रिनु पर्‍यो। म आफैँसँग बक्क अनि छक्क परेँ— ममीले भोगेको कथा सुनाउन एउटी छोरी यति डराउनुपर्ने समय रहेछ !

म ४ कक्षा पढ्दासम्म ममी सधैं स्कुल पुर्‍याउने–लेराउने गर्नुहुन्थ्यो। पुर्‍याउन जाँदा प्रायः बसमा अनि घर फर्किंदा हिँडेर आउँथ्यौँ। ममी बस्ने सिटको भाडा पाँच रुपैयाँ थियो। पछि सात रुपैयाँ भएकोसम्म याद छ। उहाँको काख मेरो लागि रिजर्व सिट थियो। ममी बसेको सिटको भाडा सहचालकले लान्थ्यो, म बसेको सिटको भाडा ममीले कहिल्यै माग्नु भएन। उहाँ कहिलेकाहीँ सहचालकसँग ‘पाँच छैन, चार रुपैयाँ मात्र छ’ भनिदिनुहुन्थ्यो।

सहचालकले छुट दिन्थे। त्यसरी जोगाएको बाँकी एक रुपैयाँले म कहिले ढुंग्री त, कहिले सुन्तला बल किन्थेँ।

एक दिन स्कुल जान ढिलो भइसकेको थियो। ममीका पाइला हतारमा थिए। म पनि उहाँलाई पछ्याइरहेकी थिएँ। बाटोमा ढुंग्री बेच्ने पसल आयो। ‘ममी ! ढुंग्री किन्दिनु न’, मैले जिद्दी गरेँ। उहाँ सुनेको नसुन्यै गरेर हिँड्नुभयो। मैले घुक्र्याएँ तर पनि रोकिनुभएन। स्कुल पुग्न ढिलो नभएको भए किन्दिनुहन्थ्यो होला सायद। मेरो जिद्दी रोकिएन। पाइला चाल्नै छोडिदिएँ। आँखा भरिए। उहाँको केही लागेन। ‘जा गएर लेरा’ भनेर पैसा दिनुभयो। म खरायोझैं भएँ। तीनवटा औंलामा ढुंग्री लगाएर खाँदै स्कुल पुगेँ।

स्कुल छुट्टी भएपछि ममीलाई पर्खिइरहेँ। उहाँ आइपुग्ने बेला भइसकेको थियो तर आउनुभएन। आँखा टिलपिल भए। केही भयो कि भन्ने डर लाग्यो। ढिलो गरेर उहाँ आउनुभयो तर अनुहारमा उज्यालो थिएन। हस्याङफस्याङ गरिरहनुभएको थियो। मैले दौडिएर अँगालो हालेँ। ‘म आइहालेँ नि किन रुनु परेको’ भन्दै हात समातेर हिँड्नु भयो। तर उहाँको हात समाइ पहिलाको जस्तो थिएन। तिनमा पुरानो हातको जस्तो न्यानोपना हराएको थियो। केही त पक्कै गलत भएको छ— मैले उहाँको अनुहारको भाव पढ्न खोजेँ।

आँखामा हेरेर उहाँले सबै सुनाउनुभयो।

स्कुल आउने बेलामा पर्स हराएछ। जुन नहराउनुपर्ने थियो, त्यही चिज हरायो। उहाँले जोगाएर राखेका कैयौं चिज हराए। मेरो खुसी पनि हरायो। सबैभन्दा दुःखको कुरा त त्यसले उहाँको आँखामा आँसु ल्याएको थियो। त्यो मेरा लागि खुसीको कुरा थिएन।

मन ग्लानिले भरियो। ढुंग्री किन्न पैसा त्यही ब्यागबाट झिकेर दिनुभएको थियो, ममीले। ढुंग्री किनिसकेपछि सायद खस्यो कि भन्ने उहाँलाई लागेको हुनपर्छ। मलाई स्कुल पुर्‍याइसकेपछि दोहोर्‍याई–तेहेर्‍याई बाटोमा खोज्दा पनि कतै भेट्नु भएनछ। उहाँले दिउँसो कति बेरसम्म पीर गर्नुभयो होला भन्ने सोचेँ। उहाँले केही खानुभयो कि भएन ? कति हतास हुनुभयो होला ? हराएका कुन कुन चिजले धेरै पीर दियो होला ?

पर्स भेटिएन। भेटेको मान्छेले फिर्ता गरिदिएनन्। हराउने मान्छेको के के हराउँछ भन्ने कुरा भेट्टाउने मान्छेले सायद सोच्दा पनि सोच्दैनन्। जब कि, तिनै केही भेट्टाउनेहरू जीवनमा कुनै समय केही गुमाउनुको मनोदशाबाट गुज्रेका पनि हुन्छन्, तर पनि बिर्सिन्छन् आफ्नै पीडा !

म उदास भएँ। मेरोभन्दा बढी उदास मन उहाँको थियो। किनभने, महिनाभरिको घरखर्च हराएको थियो।

धन्न मेरो स्कुल फी तिर्नु नपर्ने बेला थियो त्यो। मामाकी दिदी निर्मला म्यामको स्कुलमा छात्रवृत्ति दिएकै कारण मलाई त्यति परको स्कुलमा पढ्न पठाउनुभएको थियो। म पढ्न पनि राम्रै पढ्थेँ। तर बाँकी खर्च धान्न ममीलाई पैसा जुटाउन गाह्रो थियो। पूर्ण छात्रवृत्ति भने पनि स्कुलबाट कहिलेकाहीँ ‘एक्जाम फी/एक्स्ट्रा फी’ भनेर बिल आउँथ्यो। त्यो बिल उहाँका लागि भारी हुन्थ्यो। छात्रवृत्तिमा पढेको भएकाले त्यसरी बिल त नआउनुपर्ने भन्ने उहाँलाई लाग्थ्यो। तर अरू पैसा तिर्नु नपरेको भएर यति तिरिदिऊँ भन्ने पनि सोच्नुहुन्थ्यो सायद। जेनतेन गरेर जुटाउनुहुन्थ्यो।

महिनैपिच्छे खर्च नलागे पनि वर्षैपिच्छे नयाँ किताबकापीको पैसा एकैपल्ट आउँदा उहाँका लागि भारी हुन्थ्यो। कक्षा ५ सम्म पढेको स्कुलमा कपीको रूपभन्दा कपीभित्रको सार, लेखिएको कुरा ज्यादा महत्त्वपूर्ण हुन्थ्यो। किताब कुन कुन किन्ने भनेर लिस्ट स्कुलबाट आउँथ्यो। केही किताब ममी र म बजार गएर ल्याउँथ्यौं, केही साइँलो मामाले ल्याइदिनुहुन्थ्यो। स्कुलको ड्रेस जहाँबाट ल्याए पनि फरक पर्दैनथ्यो।

५ कक्षा पास गरेँ। ६ कक्षाबाट भने अर्कै स्कुल पढ्ने निधो भयो। अब पढ्ने स्कुल न मेरो मामाको साथीको थियो, न ममीको साथीको। ‘ठूलो’ स्कुल थियो। विद्यार्थी धेरै थिए। त्यहाँ पढ्नेको चुरीफुरी पनि धेरै हुन्थ्यो। फी धेरै त हुने नै भयो। यो स्कुलमा पढाइ र पढाइबाहेकका क्रियाकलाप राम्रो थियो। स्कुल त मेरो पुरानो स्कुलजस्तै हो तर धेरै कुरा फरक पर्न थाले।

कपी, किताब, स्कुलको लुगा, जुत्ता, टाई सबै स्कुलले भनेको ठाउँबाट मात्र लिनुपर्ने नियम थियो। विद्यार्थीको परिवारको आर्थिक स्थिति जे भए पनि स्कुलमा सबै एकै वर्गको भनेर पुष्टि गर्न पनि हो कि हरेक कुरा एकनासको बनाउन खोजेको थियो स्कुलले। तर त्यही कारण भए पनि स्कुलले भनेका ठाउँहरूमा सामानहरू बाहिरको भन्दा महँगो थियो। यस्तो मेरो नयाँ स्कुलले मात्र नभई अन्य धेरै स्कुलले पनि गर्न थालेका रहेछन्। त्यही भएर पनि होला सायद, अभिभावकहरूले त्यो ज्यादतीलाई ‘सामान्य’, ‘नियति’, ‘नयाँ चलन’ भनेर लिन थाले र प्रतिकार गरेनन्।

मेरी ममीले प्रतिकार गर्न सक्ने कुरै भएन।

ममी त्यति खेर एकजना दिदीको बच्चा हेर्ने काम गर्नुहुन्थ्यो। उहाँले मभन्दा बाहेक अरू तीनजना बच्चा हुर्काउनुभयो। यो पेसाको नाम के हो मलाई थाहा छैन तर उहाँ यो काममा अब्बल भएकै कारण धेरैले कलिला मुटुका टुक्रा उहाँको जिम्मा लगाउँथे। उहाँले अरूका बच्चाहरू स्याहारेर आएको पैसाले मलाई पढाउन थाल्नुभयो। जसोतसो फी तिरिरहनुभएको थियो तर त्यो पर्याप्त भने थिएन।

म जति कक्षा पास हुँदै गएँ, त्यति स्कुलको फी बढ्दै गयो। म हुर्किंदै गएँ। ममीले काम गर्ने ठाउँको बच्चा पनि हुर्किए। हुर्किएकी आफ्नी छोरीलाई पढाउन उहाँलाई समस्या हुन थाल्यो। बच्चा हेर्न जानु नपर्ने भयो। ‘अब काममा जानु पर्दैन कि जस्तो छ,’ उहाँले एक दिन सुनाउनुभयो। म दंग परेँ। अब उहाँले हरेक दिन बिहान मलाई हतारहतार खुवाएर स्कुल लैजानु पर्दैनथ्यो। त्यसरी काममा गएपछि साढे सात/आठमा बल्ल घर आइपुग्नुपर्ने बाध्यता हट्थ्यो।

तर त्यो जागिर नभए मलाई पढाउने उहाँको क्षमता पुग्दैन भन्ने कुरा मैले ख्याल नै गरिनछु।

उहाँले एक दिन ‘अब यो काममा जानु नपरे एउटा घरमा लुगा धुने काम गर्छु’ भन्नुभयो। मेरो आङ सिरिंग भयो। भक्कानो फुट्यो। अलिक बुझ्ने भइसकेकी रहेछु। मेरा लागि उहाँले गर्नु परेको दुःख मसम्म सरिसकेको रहेछ। उहाँको अगाडि उभिन सकिनँ। ट्वाइलेट गएर बेस्सरी रोएँ। ती आँसुसँग कुनै विकल्प थिएनन्।

काम त कुनै ठूलोसानो हुँदैन तर मैले मेरा आफन्तहरूका घरमा लुगा धुने मान्छेलाई गरेको व्यवहार देखेकी थिएँ। त्यो कुराले मलाई ज्यादा दुखाएको थियो। उहाँले कहिल्यै कसैलाई छोटो व्यवहार गर्नु भएन। अरूले गरेको सहन गाह्रो हुन्छ। मैले उहाँलाई त्यस्तो काम गर्नु पर्दैन भनेँ। तर मेरो भनाइसँग पनि कुनै विकल्प थिएन।

केही महिनाको वि श्रामपछि ममीले फेरि अर्को एकजना नानी हुर्काउने काम पाउनुभयो, जुन म कक्षा ९ मा हुँदासम्म गर्नुभयो। ममी यो नयाँ कामका लागि ‘नेपाल यातायात’मा पुतलीसडकसम्म जाने–आउने गर्नुहुन्थ्यो प्रायः सधैं उभिएर। एक हातमा ज्वानोको झोल भएको थर्मस र अर्को हातले बसको डन्डी समातेर। दैनिक सकसपूर्ण यात्राले ममीको ढाड दुख्ने समस्याले नेटो काटिसकेको थियो। केही समयपछि पित्त थैलीमा ढुंगा रहेको थाहा भयो। अपरेसन गर्नुपर्ने भयो। त्यसपछि ममीले अरूको बच्चा हेर्ने काम गर्नुभएन।

मेरो स्कुले जीवनमा सबैभन्दा गाह्रो समय कक्षा १० हुँदा आयो। एसएलसी नामक भूतले मलाई, मेरो ममी र उहाँकी आमा (मेरी हजुरममी)लाई बहुतै सताएको थियो। स्कुलको अन्तिम कक्षापछि अनिवार्य कोचिङ पढ्नुपर्थ्यो। स्कुलले मेरो अंकलाई अघिल्लो सेसनको विज्ञापन सोचिसकेको थियो। तर त्यो कोचिङ कक्षाको फी महँगो थियो। आकाशबाट झरेको ढुंगा भएर त्यो झथ्र्याे। थर्किएर घरमा भुइँचालो जान्थ्यो। हजुरममीले वरपर चिनेका जतिकोमा जाँदै, ‘लौन ! मेरी नातिनीले एसएलसी पास गर्न नपाउने भई’ भन्दै पैसाको जोहो गर्नुभयो। ममीको दुःख उस्तै थियो।

तर ममी र हजुरममीले त्यस्तो गाह्रो गरी जम्मा गरिदिएको मेरो स्कुलको फी भने मेरो बुवाको नाममा आउँथ्यो। उहाँले मलाई हुर्काउन एउटा सिन्को पनि भाँच्नुभएको थिएन। म चार/पाँच महिनाको गर्भमा हुँदादेखि ममी र मलाई छोडेका मेरो ‘बुवा’लाई मैले १७ वर्ष भएपछि नागरिकता बनाउनका लागि पहिलोपटक भेटेकी थिएँ। हजुरममी मसँग अहिले पनि गुनासो गर्नुहुन्छ, ‘यति दुःख गरेर फी तिर्नेचाहिँ ममी, नाम आउनेचाहिँ उसको बाउको ? जसले फर्केर नि अनुहार हेरेनन् !’ मैले स्कुलमा पटकपटक ममीको नाम लेखिदिनुस्, मेरो ममी मात्रै हुनुहुन्छ भन्दा पनि मानेनन्। मैले भनेको कारण सायद उनीहरूले बुझ्दैनथे।

अहिले भने त्यो स्कुलमा पढ्ने केटाकेटीको आईडी कार्डमा आमाको नाम देख्दा पनि खुसी लाग्छ।

हजुरममी भन्नुहुन्थ्यो, ‘कमसेकम एसएलसी पास भइस् भने आफैं केही गर्छेस्, फीको चिन्ता नली है तँ !’ तर सँगै हुर्किएकी छोरीमा पनि पीर सर्छ भन्ने उहाँलाई थाहा थियो। मलाई चिन्ता नहोस् भनेर त्यस्तो भन्नुहुन्थ्यो। मैले ९ र १० कक्षा पढुन्जेलमा उहाँहरू कति आर्थिक संकटमा पर्नुभयो र त्यसले कति मनोवैज्ञानिक चिन्ता थप्यो।

‘महँगी’ हाम्रो घर छिरिसकेको थियो। त्यसले साधारण घरको सुखलाई देख्न नसक्ने रहेछ। ममी विवश हुनुभयो। म विवश भएँ। उहाँले त्यसरी कमाएर पढाएकी म यो अवस्थामा आइपुगेकी छु। तर देशको अवस्था अझै पनि फेरिएको छैन।

अहिले स्कुल जाने साना नानीहरूलाई देख्दा सानोको आफूलाई सम्झिन्छु। छोराछोरीलाई साधारण बोर्डिङ तर महँगो पर्ने स्कुलमा पढाउने बाध्यतामा परेका ममीबाबुहरूको अनुहार ममीको अनुहार भएर देखिन्छ। मेरो त्यो बेलाको विवश ममीजस्तै अहिले पनि छोराछोरीलाई पढाउन, स्कुलको फी तिर्न अनेक जोहो

गरिरहेका ममीबुवा हजारौं छन्। तिनीहरूको हालत के होला होला ? जब कि अहिले तरकारी मात्रै पनि १०० प्रतिशतभन्दा बढी महँगो छ। अहिले पनि छोराछोरी पढाउन ममी–बुवालाई हम्मे हम्मे छ, मेरो ममीलाई भएको जस्तै।

शिक्षामा व्यापार जोडिएको छ। स्कुलभित्रबाट सबै कुरा किन्नुपर्ने देखिन्छ। ‘एक्स्ट्रा’ शीर्षकमा बिलमा पैसा बढाउने क्रम निरन्तर छ। यस्तो बेलामा अभिभावक एकजुट भएर प्रश्न नसोध्ने हो भने लोकतान्त्रिक देशमा यो लुट भई नै रहन्छ। सरकारले केही गर्दैन भन्नुभन्दा पहिले अभिभावकहरू एकजुट हुनुपर्छ। र स्कुल प्रशासनसँग जवाफ मात्रै होइन, परिआएको खण्डमा सबै अभिभावकले आफ्नो बच्चालाई उक्त स्कुलबाट निकालेर अर्कोमै राख्ने चेतावनीसमेत दिनुपर्छ। कुनै पनि स्कुलले विद्यार्थी गुमाउन नचाहने हुनाले अभिभावकको दबाबले काम गर्न सक्ने अवस्था रहन्छ।

समाजमा महँगो स्कुल राम्रो हुन्छ भन्ने भ्रम पनि छ। यो जरुरी छैन। महँगो हुँदैमा स्कुल राम्रो हुन्छ भन्ने छैन। मुख्य कुरा, के के कुराको कति कति पैसा तपाईंलाई थाहा दिएर लिइरहेको छ भन्ने हो। स्कुलमा तपाईंको बच्चाले किताबमा लेखेको मात्रै पढ्न जानिरहेको छ कि जीवन पनि पढ्न सक्ने भइरहेको छ भन्ने हो।

म अहिले ममीसँगै छु। उहाँ पहिलेकी ममी हुनुहुन्न। तर पनि बेलाबेला अहिलेका केटाकेटी स्कुल गएको देख्दा यही कुराले मनमा पोलिरहन्छ।

@ranju_darshana


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.