राजा ज्ञानेन्द्रले हामीले लेखेर दिएको वक्तव्य पढेका थिए : माधव नेपाल
काठमाडौं : एमाले वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले पढेको वक्तव्य तत्कालीन एमालेले ड्राफ्ट गरेर दिएको दाबी गरेका छन्। भरतमोहन अधिकारी स्मृति फाउण्डेशनले शनिबार राजधानीमा गरेको कार्यक्रममा बोल्दै नेता नेपालले यस्तो बताएका हुन्।
उक्त वक्तव्यको ड्राफ्टसमेत भरतमोहन अधिकारीले गरेको उनको भनाइ छ। ‘त्यो राजाको वक्तव्यको ड्राफ्ट भरतमोहनजीले नै गर्नु भएको थियो।’
नेता नेपालले राजालाई कांग्रेस र एमालेले छुट्टाछुट्टै ड्राफ्ट गरेको समेत खुलासा गरे । ‘कांग्रेस र हामीले छुट्टाछुट्टै ड्राफ्ट दिएका थियौं। दरबारको पनि छुट्टै थियो। हामीले हाम्रो ड्राफ्टअनुसार राजाको सम्बोधन हुनुपर्छ भन्ने अडान राखेपछि ज्ञानेन्द्रको ९ बजेका लागि हुने भनिएको घोषणा राति ११ बजे भयो’, नेपालले भने, ‘सुरुमा प्यारा देशबासीहरु र अन्तिममा श्रीपशुपतिनाथले हामी सबैको कल्याण गरुन् भन्ने बाहेक राजाले सबै हामीले लेखेर दिएको पढे।’
नेता नेपालले राजाको त्यही वक्तव्य राजतन्त्र अन्त्यको गज भएको दाबी गरेका छन्। ‘वास्तवमा भन्ने हो भने त्यही घोषणा नै राजतन्त्र अन्त्यको गज थियो’, उनले भने।
पूर्वअर्थमन्त्री स्वर्गीय अधिकारीको व्यक्तित्वबाट सबैले सिक्नुपर्ने उनको भनाइ छ। ‘भरतमोहनजीमा नयाँनयाँ काम गर्न सक्ने खुबी थियो’, नेता नेपालले भने, ‘भरतमोहन अधिकारी व्यक्ति एक व्यक्तित्व अनेक भएको व्यक्ति हो।’
आर्थिक विभाग र मन्त्रालय नै जिम्मा लिँदासमेत उनी विवादमा नआएको उनको भनाइ छ। ‘अर्थमन्त्री र लामो समय पार्टीको आर्थिक विभागमा बसेर काम गर्दा कहिल्यै विवादमा आउनु भएन’, नेता नेपालले भने, ‘सुशासनका पक्षमा उहाँ दृढ हुनुहुन्थ्यो।’
०४७ सालको संविधान मस्यौदा समितिको सदस्य र दुईपटक संविधानसभा सदस्यका रुपमा अधिकारीले संविधान निर्माणमा अतुलनीय योगदान गरेको पनि नेता नेपालले सम्झना गरे।
कार्यक्रममा पूर्वमन्त्री राधाकृष्ण मैनाली, स्वर्गीय अधिकारीका बालसखासमेत रहेका नेता कमल कोइराला, प्राध्यापक कृष्ण पोखरेल, डा. गोविन्दबहादुर थापा र अधिकारी पत्नी सविता अधिकारीलगायतले उनको व्यक्तित्व र कृतित्वको चर्चा गरेका थिए। वक्ताले अधिकारी सरल, तल्लो स्तरका ग्रामीण जनताप्रति माया भाव राख्ने स्वभावका र समन्वयकारी व्यक्तित्वका धनी भएको बताए।