हटाउने उपकरण नहुँदा बिग्रेको गाडी सडकमै

हटाउने उपकरण नहुँदा बिग्रेको गाडी सडकमै

नौबिसे (धादिङ) : नौबिसे–नागढुंगा सडकको दुरी १२ किलोमिटर छ। खानीखोलाबाट अगाडि बढ्नेबित्तिकै उकालो सुरु हुन्छ। क्षमताभन्दा ५ गुणासम्म बढी भार बोकेका मालवाहक सवारीसाधन उकालो लाग्न थालेपछि बाटैमा रोकिन्छन् ।

दुई लेनको साँघुरो सडक एकापट्टि गाडी बिग्रिनेबित्तिकै गाडी बिग्रिएको लेनमा जाम भइहाल्छ । बिग्रिएको गाडी तत्काल तानेर पाखा लगाउन ट्राफिक प्रहरीसँग उपकरण छैन। शुक्रबार थाक्रे गाउँपालिका–८ चार किलोमा २ वटा कन्टेनर ठोक्किएर राजमार्गमै तेर्सिएपछि भएको जाममा रोकिँदा एक बिरामीको बसभित्रै मृत्यु भएपछि गृहमन्त्रीको समेत ध्यान तानियो। मन्त्रीको निर्देशनपछि प्रहरी प्रधान कार्यालयले खानीखोला प्रहरीलाई एउटा र्‍याकर (गाडी तान्ने क्रेन) पठाएको छ ।

र्‍याकरले शनिबार १ दर्जन बढी गाडी तानेर उकालो कटाएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी डीएसपी रूपक खड्काले बताए। ‘मानवीय रूपमा पर्याप्त जनशक्ति भए पनि सुविधासम्पन्न उपकरण नभएकाले बिग्रएको गाडीलाई तत्कालै पाखा लगाउन प्रहरीलाइ गाह्रो हुन्छ’, उनले भने, ‘प्रहरीको आफ्नै स्काभेटर र लोडर छ तर त्यसले बिग्रिएका गाडी तान्न मिल्दैन ।’

नागढुंगा–नौबिसे भएर काठमाडौं पस्ने देब्रे लेन ठाउँठाउँमा खाडल पर्दा निकै जीर्ण छ। हेभी गाडीको चाप थेग्न नसकेपछि सडकको यो लेन ठाउँठाउँमा धसिएका हुन्। ‘जुन लेन बिग्रिएको छ त्यही लेनमा गुड्नुपर्छ ठूला गाडी। यो बाटोमा सधैं जाम हुने प्रमुख कारण नै लामा तथा ठूला मालवाहक गाडी हुन्’, धादिङका प्रहरी प्रमुख एसपी राजकुमार बैदवारले भने, ‘बाटो साँघुरो छ, गाडी नबिग्रे पनि घुम्ती नपुगेर कतिपय अवस्थामा जाम भइरहेको छ ।’

बिग्रिएका गाडी हटाउन प्रहरीका लागि र्‍याकर अनिवार्य जस्तै हुन्छ। तर राजमार्गमा रहेका व्यवसायीका डोजर भाडामा प्रयोग गरेर राजमार्ग अवरुद्ध खुलाउने गरिएको छ। जाम हटाउन र सवारी आवागमन सुचारु गराउन प्रहरीले विशेष टोली खटाएर काम पनि गरिरहेको छ। तर बढी भार बोकेका सवारीसाधन बिग्रने र लामा सवारीसाधनलाई मोड नपुग्दा सडक जाम हुने गरेको छ ।

दसैंका यात्रीका लागि सहज होस् भनेर मालवाहक ट्रकलाई रातको समयमा मात्रै उपत्यका छिर्न मिल्ने गरी व्यवस्थापन गरिरहेको डीएसपी खड्काले बताए। ‘खानीखोलाभन्दा तल्लो क्षेत्रका प्रहरी युनिटले आफ्नो क्षेत्रको सडकका खाली ठाउँमा दिनभर मालवाहक सवारीसाधन रोकिराख्ने र राति ९ बजेपछि मात्रै राजधानी प्रवेशका लागि पठाइने गरी व्यवस्थापन मिलाएका छौं’, उनले भने। शनिबार २ सयभन्दा बढी मालवाहक ट्रक दिउँसो राजमार्गमै रोकिएको थियो ।

१२ गते आइतबारदेखि चितवनको नारायणगढबाटै ठूला मालवाहक गाडीहरू भित्रिन नदिने यातायात व्यवस्था विभागले निर्णय गरिसकेको छ। यसबीचमा नागढुंगाको जाम अन्य दिनभन्दा शनिबार केही हदसम्म सहज देखिएको छ। दसैंतिहार लक्षित गरी दैनिक १२ हजार सवारीसाधन र मालवाहक साधन राजधानी भित्रिन्छन्। १८ हजार बढी सानाठूला सवारीसाधन राजधानीबाट बाहिरिन्छन्। तीमध्ये ७ सय बढी १८ चक्केदेखि २२ चक्के भारतीय मालवाहक साधन आउन थालेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.