आकासियो प्याजको भाउ

आकासियो प्याजको भाउ

भैरहवा : दसैं पर्वको मुखैमा प्याजको मूल्य आकासिएको छ। अधिकांश खानाका परिकारमा अत्यावश्यक प्याजको मूल्य एकाएक वृद्धि भएपछि माग घटेको छ। मुलुक प्याजमा भारतनिर्भर छ।

भारतमा यस वर्ष प्याज उत्पादनमा आएको कमीले नेपालमा असर परेको हो। भारतमा ढिला गरी सुरु भएको मनसुन र लगातारको वर्षाले खेती नष्ट भएपछि प्याजको मूल्यवृद्धि भएको बताइएको छ। 

‘वर्षाले भारतमा ठूलो मात्रामा प्याज खेती नष्ट भएको छ’ प्याज आयातकर्ता एवं अम्बे इन्टरनेसनलका सञ्चालक मोहन बनियाँले भने, ‘जसको असर मूल्यमा परेको छ। अहिले आयात भइरहेको प्याज पुरानो स्टक हो। ’

हाल भारतको नासिक, इन्दौरलगायत स्थानबाट स्टक गरिएको प्याज आयात भइरहेको छ। नयाँ प्याज तयार भएर आयात नभएसम्म मूल्यवृद्धि यथावत रहने सञ्चालक बनियाँको विश्लेषण छ। नयाँ प्याज नोबेम्भर÷डिस्मेबरसम्म तयार हुन्छ। 

भदौदेखि प्याजको मूल्यवृद्धि हुन सुरु भएको थियो। प्याज व्यापारीका अनुसार साउनमा प्याजको थोक मूल्य प्रतिकिलो २५ रुपैयाँ थियो भने भदौमा ४० रुपैयाँ पुगेको थियो। असोजलगत्तै प्याजको मूल्य ह्वात्तै बढेर ९५ रुपैयाँ प्रतिकिलो पुगेको छ। तर, सर्वसाधारणको भान्सासम्म प्याज पुग्दा प्रतिकिलो एक सय २० देखि एक सय ३० रुपैयाँसम्म पुग्छ। 

मूल्यवृद्धि भएसँगै मध्यम परिवारको घरेलु बजेटमा पनि असर परेको छ। प्याज थोरै परिमाणमा प्रयोग गर्न थालिएको छ। एकाएक दुई महिनाको अन्तरालमा प्याजमा प्रतिकिलो ६५ रुपैयाँले वृद्धि भएपछि मध्यम परिवारलाई समस्या परेको हो। 

मूल्यवृद्धि भएसँगै बजारमा प्याजको माग घटेको छ। दैनिक २० टन प्याज बिक्री हुने गरे पनि हाल ५ टन नहुने सञ्चालक बनियाँ बताउछँन्। 

भैरहवा नाकाबाट आयात हुने प्याज काठमाडौँ, पोखरा, चितवन, बाग्लुङ, बेनी, स्याङजालगायत स्थानमा जाने गर्छ।  प्याजसँगै टमाटरको मूल्य पनि बढेको छ। मागअनुसार टमाटर पनि भारतबाटै आयात हुन्छ। टमाटर खेतीमा पनि असर परेकाले मूल्यवृद्धि भएको बताइएको छ। विगतमा ६० रुपैयाँ प्रतिकिलो पाइने टमाटर अहिले भान्सासम्म पुग्दा एक सय देखि एक सय १५ रुपैयाँसम्म पुग्छ। 

‘पर्वको मुखमा टमाटर र प्याजको मूल्यवृद्धिले समस्या परेको छ’, भैरहवाका अच्युत आचार्यले भने, ‘जसकारण टमाटर र प्याज कम उपभोग गरिरहेका छौँ। ’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.