बाल्यकाल सम्झना : रोटेपिङ डाँडा र दसैं नाटक
प्यारा भाइबहिनीहरू, यो वर्षको दसैंले पनि छपक्कै छोपिसक्यो। अहिलेको तपाईंहरूको उमेरमा दसैं तिहारलाई लिएर कति उत्साहित भइन्छ। त्यो मलाई पनि राम्ररी सम्झना छ। किनकि मैले पनि त त्यो उमेर पार गरिसकेकी छु।
हाम्रो बेलामा अहिले जस्तो हातहातमा मोबाइल हुँदैनथियो। इन्टरनेट त परकै कुरा। तर पनि हामी कति रमाइलो गथ्र्यौं। अहिलेका बाबुनानीलाई हेर्दा उहाँहरू मोबाइल र इन्टरनेटबिना एकैछिनमा ‘बोर’ हुनुहुन्छ। बिदा काट्न त झनै मुस्किल परेको देख्छु।
सानो कुरामा निक्कै खुसी हुन्थेँ। नयाँ लुगालाई कयौ पटक दराजबाट निकाल्दै हेर्दै राख्दै गर्थें। टीकाको दिनभन्दा अगाडि त्यो लुगा लगाउन पाइन्नथियो। धैर्यको बाँध झन्डैझन्डै टुट्थ्यो। दसैंमा काँक्रोबाट बनाइने खल्पीको अचार मलाई खुबै मन पर्ने।
हामी हजुरबुवा हजुरआमासँगै बस्ने भएकोले काकाकाकी, भाइबहिनीसहित फूलपातीको एकदुई दिन अगाडि नै आउनुहुन्थ्यो। उहाँहरू आएपछि मलाई निकै रमाइलो लाग्थ्यो। त्यसैले घटस्थापनादेखिनै दिन गन्दै बस्थेँ। भाइबहिनीसँग घुम्न, खेल्न पाउने लोभ हुनुपर्छ मेरो।
त्यो बेला दसंैको मुख्य रमाइलो थियो नजिकैको स्कुलमा देखाइने नाटक।
अरूबेलाको याद धमिलो भए पनि। एउटा घटना भने कहिल्यै भुल्न सक्दिनँ। दसैं आयो कि त त्यही क्षणको याद झलझली आइहाल्छ। जनसेवा प्राथमिक विद्यालय जसलाई रोटेपिङ डाँडा स्कुल भनिन्थ्यो। कतिलाई त त्यो स्कुलको नाम जनसेवा हो भन्ने पनि थाहा थिएन होला। कुन स्कुलभन्दा रोटेपिङ स्कुल भन्थ्यौं हामी। पहिले त्यहाँ काठको रोटेपिङ लगाएको थियो रे हाम्रो हजुरबुवाको पालामा। त्यही भएर स्कुलको नाम पनि रोटेपिङ नै रहन गएछ। हो त्यही स्कुलमा हो मैले कखरा सिकेको।
त्यही स्कुलमा दसैंको प्रत्यक वर्ष नाटक देखाइन्थ्यो। एक महिना अगाडिदेखि त्यहीँ रिहर्सल सुरु हुन्थ्यो। दिउँसो गर्दा सबैले देख्ने भएको र नाटक यस्तो रहेछ भनेर हल्ला हुने भएकोले र पछि नाटक हेर्दा रमाइलो नहुने भएकोले होला रातिराति रिहर्सल गर्न सबैजना जम्मा हुनुहुन्थ्यो। हाम्रै घरबाट पनि मेरो दुवैजना दाजुहरू रिहर्सल गर्न जानुहुन्थ्यो। मेरो ठूलो दाजु गीत गाउन र अभिनय गर्नमा अगाडि हुनुन्थ्यो। राजविराजमा जागिर खाने उहाँ त्यो बेलाका नयाँनयाँ हिन्दी फिल्मका गीतहरू नाटकको बीचबीचमा गाएर सुनाउनु हुन्थ्यो। हिन्दी शब्दको सबै अर्थ नबुझे पनि त्यसको संगीतले सबै दर्शक जुरुकजुरुक उचालिएर ताली पिट्थे। सानो दाजु पनि गाउने नाच्ने र अभिनय गर्नुहुन्थ्यो।
घरबाट दुईदुई जना दाजुहरू रिहर्सलमा जाँदा मलाई पनि हेर्न जाउँजाउँ लाग्थ्यो। तर दाजुहरू लान मान्नुहुन्नथियो। नाटकमा भाग नलिनेले जान नपाइने नियम थियो। कुटकुट भएर बसिरहेको बेला काकाहरू दसैं मान्न घर आउनुभयो। सँगै आएकी थिई काकाकी छोरी बहिनी भावना। अब दिदीबहिनी भएर एउटा प्लान गर्यौं। दाजुहरूले नदेख्ने गरी उहाँँहरूको पछिपछि गएर लुकेर रिहर्सल हेर्ने। सधैं झंै दाजुहरू खाना खाएर निस्किनु भयो। हामी पनि उहाँहरूको पछिपछि छेल्लिँदै गयौं। स्कुलको एउटा बन्द कोठाभित्र रिहर्सल हुने रैछ। हामी बाहिर झ्यालबाट चिहाउन थाल्यौं।
तर अचम्म त्यो दिन रिहर्सल नै भएन त्यहाँ।
हामी आएको कुरा सबैले थाहा पाउनु भएछ। आज नगर्र्ने भनेर सबैजना हिँड्नुभयो। मलाई कस्तो दुःख लागेर आयो। फूलपातीको दिन थियो त्यो। नवमीको दिन देखाउने नाटकको कति तयारी गर्नुथियो होला। आप्mनो कारण यस्तो भयो भनेर मनमनमा पश्चाताप भयो। दाजुहरू आउनुभन्दा अगाडि नै कुदेर हामी घर आएर गुटुमुटु भयौं। अब गाली त खाइन्छ नै भन्ने थियो। ढोका कतिबेला खुल्ला र गाली नि पाइएला भनेर म ढुकढुक भएँ, तर दुई घण्टासम्म दाजुहरू आउनु भएन। पछि थाहा भयो हामीलाई भगाउन पो त्यो नाटक गरिएको रहेछ। हामी हिँडेपछि त मज्जाले रिहर्सल भएछ नि। तर एक प्रकारले खुसी पनि भएँ म। आप्mनो कारण उहाँहरूलाई केही अप्mट्यारो भएन। अहिले सम्झिँदा खुब हाँस उठ्छ।
नवमीको दिन भव्यताको साथ नाटक देखाइयो।
भाइबहिनीहरू ! हामी जति नै आधुनिक भए पनि सहर गाउँ जता बसे पनि आप्mनो रीतिरिवाज संस्कृतिलाई कहिल्यै भुल्नु हुन्न है ? बरु यसको जगेर्ना पो गर्नुपर्छ। भाइबहिनीहरूलाई मैले प्रायः पाहुना लाग्न जाँदा होस् कि आफ्नो घरमा पाहुना आउँदा, ग्याजेटहरूमा अल्मलिने गरेको देखेकी छु। यो दसैंमा मोबाइल, ट्याब, ल्यापटपबाट अलि टाढा रहेर दसैंलाई रमाइलो गर्नुस् ल ?