कृषि विषय अनिवार्य हुनुपर्छ
कीर्तिपुर टौदहस्थित शुभकामना एकेडेमी २०५४ सालदेखि जसोतसो चलिरहेको थियो। स्कुलको अवस्था दिनप्रतिदिन नाजुक हुँदै गएपछि बालसाहित्यकार तथा लेखक विजयराज आचार्यले यसका लागि केही गर्ने सोच बनाए। सोही अनुरूप उनले २०६४ सालबाट विद्यालयको नेतृत्व सम्हाले। नभन्दै आफ्नो नेतृत्वमा आचार्यले विद्यालयको मुहार नै फेरिदिए।
२०३३ माघमा प्युठानमा जन्मेका आचार्य हाल काठमाडौंको कीर्तिपुरस्थित टौदहमा बस्छन्। आफू बसेको ठाउँका बालबालिकालाई ज्ञान बाँडेर शिक्षा क्षेत्रमा केही योगदान गर्न सके राम्रो हुन्छ भन्ने उनलाई लाग्यो। ‘म बालसाहित्य लेख्ने मान्छे र बालिबालिकाकै क्षेत्रमा काम गरिरहेकोले मलाई स्कुल क्षेत्र पनि राम्रै लाग्यो र जिम्मेवारी लिएँ। ’ तर, यसअघि उनले कहिल्यै विद्यालयमा शिक्षण गरेका थिएनन्।
कुनै पनि संस्थालाई राम्ररी चलाउनका लागि आफ्नै भवन हुनुपर्छ। यस्तो सोचाइ राख्ने आचार्यले सबैभन्दा पहिले विद्यालयका लागि जग्गा किनेर चारतले भवन बनाए। भन्छन् ‘पहिले मुस्किलले १५ जना अट्ने कक्षाकोठा थियो। तर अहिले प्रशस्त हुन्छ। यताउता सार्न नपरोस् भनेर दिगो उपाय खोजेको हुँ। ’ शिक्षा क्षेत्रमा लाग्नुभन्दा पहिले काठमाडौंलगायत देशभरिका धेरै विद्यालयमा पुगेर उनले बालबालिकालाई कथा लेखनसम्बन्धी प्रशिक्षण दिइसकेका छन्।
प्रधानाध्यापकको दायित्व
‘विद्यालय भनेकै प्रधानाध्यापक हो र प्रधानाध्यापक भनेकै विद्यालयको मस्तिष्क हो’, आचार्यले प्रिन्सिपलको विशेषता बताउँदै भने, ‘प्रिन्सिपल एकदमै क्षमतावान्, हरेका कुराको व्यवस्थापन गर्न सक्ने र समग्र विद्यालयको हित हुने काम गर्न सक्ने हुनुपर्छ। ’ सबै कुराका व्यवस्था मिलाउनु प्रिन्सिपलको दायित्व हो त्यसैले प्रधानाध्यापक पद निकै चुनौतीपूर्ण पद रहेको उनको ठम्याइँ छ।
परम्परागत घोकन्ते शिक्षालाई हटाएर विद्यार्थीलाई प्रयोगात्मक शिक्षा दिनु र सिर्जनशील बनाउनु उनको उद्देश्य थियो। तर, आफ्नो उद्देश्य पूरा गर्न खोज्दा उनले विभिन्न आक्षेप सहनु पर्यो। भन्छन्, ‘विद्यार्थीलाई नयाँ काम गराउन खोज्दा गाउँघरका मानिस वा अभिभावक बच्चाले केही नजाने पनि घोकेर भए पनि टप गरेको हेर्न चाहन्छन्। ’ यसरी विद्यार्थीले प्रगति गर्न सक्दैन भन्ने उनको बुझाइ छ। त्यसैले अभिभावकलाई यस्ता विषय सम्झाउनु उनका लागि ठूलो चुनौती बन्यो। ‘अतिरिक्त क्रियाकलापमा बढीभन्दा बढी सहभागी गराउने त्यसमा पनि लेखन क्षेत्रमा बढी प्राथमिकता दिने गरेको छु’ आचार्य भन्छन्, ‘पाठ्यपुस्तकमा दिइएका पाठलाई पाठका रूपमा मात्र नभई प्रयोगात्मक तरिकाले पढाउने वातावरण सिर्जना गरेको छु। ’
परम्परादेखि चल्दै आएको एक उखान ‘शिक्षक भनेको कुमाले हो र विद्यार्थी भनेका काँचो माटो हो’ भन्ने भनाइलाई उनी मान्दैनन्। उनी भन्छन्, ‘विद्यार्थीलाई उनीहरूको रुचिअनुसारको विषय पढ्न दिनुपर्छ। ’
विद्यार्थीलाई उनले लेखन क्षेत्रमा बढी जोड दिन्छन् भने बेलाबेलामा आफंै नाटक लेखेर उनीहरूलाई अभिनय पनि गराउँछन्। अहिले एउटा कक्षाकोठा भित्र विभिन्न थरीका नेता छन्, पाइलट छन्, डाक्टर छन्, इन्जिनियर छन्, साहित्यकार रहेकाले उनीहरूको प्रतिभालाई पहिचान गरेर सहज बनाइदिने काम शिक्षक वा प्रिन्सिपलको रहेको उनको धारणा छ। त्यस्ता शिक्षक आफैंमा अध्ययनशील र परिवर्तशील हुनुपर्ने उनी बताउँछन्।
उनी प्रिन्सिपल भए पनि विद्यार्थीसँग प्रत्यक्ष भेटेर कुराकानी गर्ने गर्छन्। विद्यार्थीले उनको अफिसमा पुगेर सीधै आफ्ना कुरा राख्न सक्ने वातावरण विद्यालयमा छ। जुन विद्यालय देखावटी रूपमा विद्यार्थीलाई कडा गरिन्छ त्यहाँ विद्यार्थी झनै बिग्रेका र कुलतमा फसेका उदाहरण उनी दिन्छन्। त्यसैले विद्यार्थीमा बनावटी अनुशासन लाद्नु नहुने उनको भनाइ छ।
समग्र शिक्षा क्षेत्रमा देखिए समस्या र समाधान
नेपालको शिक्षा २१औं शताब्दीमा आइपुग्दा पनि व्यावहारिक र उपयोगी हुन नसकेको उनको अनुभव छ। शिक्षा क्षेत्रमा साँच्चै सुधार ल्याउनका लागि प्रयोगात्मक शिक्षा अति आवश्यक रहेको उनी बताउँछन्।
‘नेपाल कृषि प्रधान देश भनिएको छ। नेपालमा कृषि विषयलाई कक्षा ८ देखि नै अनिवार्य गर्नुपर्ने हो, तर छैन। देशका युवाहरूको कृषि कर्म कसरी गर्ने भनेर खाडी मुलुकमा गएर सिक्छन्’, शिक्षा क्षेत्रमा आवश्यक विषयलाई प्राथमिकता नदिइएको उनको बुझाइ छ।
शिक्षा क्षेत्रमा राजनीति हाबी भएकोले यस क्षेत्रमा विकास हुन नसकेको उनी बताउँछन्। भन्छन् ‘सरकारले विभिन्न योजनाहरू ल्याएको हुन्छ। तर, ती सबै पूर्ण रूपमा कार्यन्वयन हुन सकेका छैनन्। ’ शिक्षक वा प्रिन्सिपल पार्टीगत हितभन्दा विद्यालयको हितको लागि काम गर्न सके शिक्षा क्षेत्रमा सुधार हुन सक्ने उनको सुझाव छ।
उनी आफ्ना विद्यार्थीलाई होकवर्क दिँदैनन्। बरु वर्षमा चार वटा एक्स्ट्रा किताब दिन्छन् र त्यसको समीक्षा लेख्न लगाउँछन्। यसरी विद्यार्थीलाई सिर्जनशील बनाउने प्रयत्नमा प्रिन्सिपल आचार्य लागेका छन्। भन्छन् ‘विद्यार्थी सिर्जनशील भए समाज वा देश आफैं बन्छ। ’