गढीमाई मेलामा राष्ट्रपतिले गरिन् फोनबाटै सम्बोधन
बरियापुर : विश्वप्रसिद्ध बाराको गढीमाई मेलाको आइतबार शोभा यात्रा निकालिएको छ । गढीमाई सञ्चालन तथा विकास समिति र महागढीमाई नगरपालिकाको संयुक्त आयोजनामा मेलाको शोभायात्रा निकालिएको हो ।
शोभा यात्राको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम थियो । बिहानैदेखि परेको वर्षाका कारण राष्ट्रपति भण्डारी गढीमाइमा उपस्थित हुन् सकिनन् । आफू उपस्थित हुन नसकेपछि राष्ट्रपति भण्डारीले मोबाइलबाटै शोभा यात्रालाई सम्बोधन गरेकी हुन् ।
सम्बोधनका क्रममा राष्ट्रपति भण्डारीले इच्छा हुँदाहुदै पनि वर्षाका कारण गढीमाई आउन नसकेकोमा दुःख व्यक्त गर्दै मेलाको सफलताको कामना गरिन् । एतिहासिक महत्व बोकेको गढीमाइले नेपाललाई विश्वभर चिनाएको र गढीमाई मेलाकै लागि लाखौं भक्तजन नेपाल आउने गरेको हुँदा यसको संरक्षणमा राज्य अग्रसर हुनुपर्ने बताइन् ।
‘गढीमाइले एतिहासिक, धार्मिक, सांस्कृतिक महत्व बोकेको छ । विश्वसामु नेपालको पहिचान स्थापित गराउन गढीमाइको पनि भूमिका छ’, सम्बोधनका क्रममा राष्ट्रपति भण्डारीले भनिन्, ‘गढीमाइलाई विश्व सम्पदाको सूचीमा ल्याउनुपर्छ । यसका लागि सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’
एक महिने मेलामा आउने भक्तजनका लागि आवश्यक पिउनेपानी, बसोबास, शौचालय, सडकलगायतको व्यवस्था गरी सम्पन्न गर्न आग्रह गर्दै राष्ट्रपति भण्डारीले सरकारलाई पनि यस विषयमा ध्यानाकर्षण गराएको बताइन् ।
राष्ट्रपति भण्डारीपछि कार्यक्रममा सहभागी प्रतिनिधिसभा सदस्य रामसहाय यादव, रामबाबु यादव, राष्ट्रिय सभा सदस्य रमेश यादव, अस्थायी इजलास उच्च उदालत जनकपुर वीरगन्जका मुख्य न्यायधीश डिल्लीराज आचार्यलगायतले सम्बोधन गरेका थिए । राष्ट्रपति भण्डारीले फोनबाटै शोभा यात्रा सुरु गर्न अनुरोध गरेपछि उपस्थित अतिथिले रथको पुजा गर्दै यात्राको शुभारम्भ गरेका थिए । गढीमाई मेला मंसिर महिनाभर चल्नेछ ।
बलिका लागि विश्वप्रसिद्ध बाराको गढीमाइ मेलाको शोभा यात्रामा सवार हात्ती । तस्बिर : दिवाकर भण्डारी