सरुभक्तले ल्याए उपन्यास प्रतिगन्ध

सरुभक्तले ल्याए उपन्यास प्रतिगन्ध

 पोखरा : ‘मलाई अल्छी मान्न जाँगर चल्छ’, उनले भने, ‘जुन बेला अल्छी मान्न जाँगर चल्दैन, त्यो बेला रचना गर्छु ।’ ५० भन्दा बढी कृतिका लेखक सरुभक्त आफ्नो सातौं उपन्यास प्रतिगन्ध लोकार्पणमा प्रष्टोक्ति दिँदै थिए । २०६१ सालमा अमेरिका गएर फर्केपछि लेख्छु भन्ने सोचेको उपन्यास १५ वर्षमा ल्याउन सकेको उनले सुनाए । उनकै शब्दमा उपन्यास भने ४ वर्षे काठमाडौं बसाइमा लेखिएको हो । 

आफूलाई सधैं अनुज पुस्तासँगको सामीप्य रुचि लाग्ने बताएका साहित्यकार सरुभक्तको उपन्यास युवा उपन्यासकारहरु सरस्वती प्रतीक्षा, तीर्थ गुरुङ र गनेस पौडेलले आइतबार गृहनगर पोखरामा लोकार्पण गरे । 

उपन्यासकार सरुभक्तले प्रतिगन्ध डायस्पोराको भिन्न कथा भएको सुनाए । ‘डायस्पोरामै बसेर पनि थुप्रैले त्यहाँको कथा लेख्नुभएको छ, डायस्पोराको कथा एकनासको हुनुहुन्न, अलि भिन्न हुनुपर्छ भनेर यो उपन्यास लेखेको हुँ’, उनले भने, ‘६१ सालमा नेपाल प्रज्ञा प्रतिष्ठानमा सदस्य छँदा राष्ट्रकवि माधव घिमिरेको गीति नाटक मालती मंगले देखाउन अमेरिका गएको थिएँ, त्यतिबेला २ महिना बसें, जेजति अध्ययन गरें, पछिका बसाइमा जेजति अध्ययन गर्न सकें, त्यसैका आधारमा उपन्यास लेखें ।’ उनले उपन्यास मूल्यांकनको जिम्मा पाठकहरुलाई सुम्पिए । 

पहिलोपटक आफ्नो कृति निर्ममतापूर्वक सम्पादन गरेको सरुभक्तले सुनाए । ‘एउटा उपन्यासै जति २ सय पेज फालें’, उनले भने, ‘समयको आवश्यकतालाई महसुस गरेर सम्पादन गरें। पहिलापहिला हामीमा सम्पादनको चेतना थिएन, अहिलेका पुस्तामा चाहिँ छ ।’

कवि तथा आख्यानकार सरस्वती प्रतीक्षाले विदेशिएका नेपालीको कथा प्रतिगन्ध भएको बताइन् । ‘यसमा रमाइलो छैन, सुस्केरै सुस्केरा छन्, ऐंठनै ऐंठन छन्’, उनले भनिन्, ‘आतंकवाद मुन्तिर पिल्सिएको मरन्च्याँसे मानवता उपन्यासमा पाइन्छ ।’

महिला सहनशीला सुशीलाको विम्ब मानिएकोमा सरुभक्तको उपन्यास प्रतिगन्धले पुरुषलाई सहनशील सुशीलका रुपमा पस्केको प्रतीक्षाले सुनाइन् । उपन्यास प्रेम, घृणा, समर्पण र संघर्षको कक्टेल भएको उनको भनाइ थियो । 
अर्का उपन्यासकार तीर्थ गुरुङले प्रतिगन्ध अमेरिकी लाहुरेको कथा भएको सुनाए । आख्यानकार गनेस पौडेलले सरुभक्तका अघिल्ला कृतिमा भन्दा बेग्लै भाषाशैली रहेको बताए । ‘सरुभक्त पढिरहँदा एउटापछि अर्काे कृतिमा अलिअलि फरक पाइन्छ तर प्रतिगन्धमा उहाँको रिबर्थ भएको छ’, उनले भने, ‘अहिलेसम्मका कृतिमध्ये भाषा र शैलीका हिसाबले प्रतिगन्ध सरुभक्तको दुस्साहस हो ।’

कवि तीर्थ श्रेष्ठले सरुभक्तमा सधैं लेखकै भएर बाँचिरहने स्वभाव रहेको खुलाए । ‘संसारले सबै चिज देखेको हुन्छ, तर देखेको चिज आफूमा समावेश गर्ने सामथ्र्य सबैमा हुँदैन, जुन सरुभक्तमा छ’, उनले भने, ‘विविधतासँग खेल्न खोज्ने सरुभक्तले साहित्यमा सधैं बेग्लै स्वाद पस्केको छ ।’यसअघि २०५९ मा चुली उपन्यास ल्याएका सरुभक्तका समय त्रासदी, अँध्यारो कथा, तरुनी खेती, पागल बस्ती र एक अभिनवको आत्मकथा उपन्यास प्रकाशित छन् । पागल बस्तीका लागि उनले २०४८ सालमा मदन पुरस्कार प्राप्त गरेका थिए । प्रतिगन्ध उपन्यास बुकहिल प्रकाशनले छापेको हो । 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.