नेकपामा ‘सी विचारधारा’ : प्रशिक्षणको परकम्प
प्रशिक्षण देश विकासका लागि आवश्यक वैचारिक छलफल र अनुभव साटासाट गर्नु मात्र थियाे
उत्तरतिरको स्थल सिमाना नै १४१४ किमि जोडिएको छिमेकी मुलुक चीनसँगको नेपालको सम्बन्ध शदीयौं पुरानो छ। सातौं शताब्दीमा तिब्बतका स्रोङचोङ गम्पोसँग नेपालकी चेली भृकुटीसँग वैवाहिक सम्बन्ध स्थापित हुनुभन्दा तीन सय वर्षअगाडि अर्थात् चौथो शताब्दीमा नै भिक्षु बुद्धभद्र चीन पुगेको पाइएको छ। दक्षिण तथा पश्चिमका व्यापारी र पादरीहरूको तिब्बत जाने मुख्य पैदल मार्ग नेपाल हुँदै थियो। यो ऐतिहासिक, सांस्कृतिक सम्बन्ध हुँदाहुँदै पनि सन् १९५५ मा आधुनिक चीन र नेपालबीच कूटनीतिक सम्बन्धले औपचारिकता पाएको थियो। नेपालसँग दौत्य सम्बन्ध कायम भएको ६ दशकमा आर्थिक, भौतिक समृद्धिमा ठूलो फड्को मारेको छ भने नेपाल कछुवा चालमै छ।
आधुनिक चीनको प्रारम्भिक चरणमा माओत्से तुङ गृहयुद्धमा फसेको चीनलाई मुक्त गराए र जनता एकजुट गराएर कम्युनिस्ट शासन प्रणाली लागू गरे। दोस्रो चरणमा देङ स्याओ पिङले चीनलाई खुला अर्थनीतिका माध्यमबाट अनुशासित आर्थिक समृद्धिमा डोर्याए। देङपछि चीनको नेतृत्व गरेका जियाङ जमिन र हु जिन्ताओले विदेश नीतिमा साइलेन्ट पोलिसी अवलम्बन गरेर आफ्ना पूर्ववर्ती नेता माओ र देङले निर्माण गरेको आधारशिलामा अडिएर देशलाई आर्थिक समृद्धिको बाटोमा नेतृत्व गरे।
सन् २०१२ मा सी जिनपिङ सत्तामा आएपछि देङकै पालादेखि अवलम्बन गरेको साइलेन्ट वा डिफेन्सिभ पोलिसिभन्दा माथि उठी अफेन्सिभ वा प्रोएक्टिभ विदेश नीति अवलम्बन गरे। विश्व मञ्चमा चीनको बलियो उपस्थिति देखाए। देङले आफ्नो कार्यकालमा पाँचपटक मात्र देश छाडे भने जियान जमिन र हु जिन्ताओले आफ्नो कार्यकालमा १० देशको भन्दा बढी भ्रमण गरेनन्। सी चीनको इतिहासमै सबैभन्दा धेरै विदेश भ्रमण गर्ने नेतामा पर्छन्। सीले प्रोएक्टिभ विदेश नीतिअनुसार विश्व मञ्चमा चीनको प्रभावशाली उपस्थिति गराएर शीतयुद्धपछिको विश्व राजनीतिको एकल धु्रवीय शक्ति अमेरिकाकोे विकल्पका रूपमा चीनलाई स्थापित गर्ने क्रममा छन्। उनले चीनलाई विश्वको दोस्रो आर्थिक शक्तिका रूपमा स्थापित गरि नै सके भने व्यापारमा पहिलो बनाए। सीले चिनियाँ विशेषताको समाजवादी मोडल निर्माण गरे। उनकै पालामा चीनको गरिबी निवारण गति चमत्कारित रूपमा अघि बढ्यो। उनी सत्तामा आएपछि सात वर्षमा आठ करोड जनतालाई गरिबीमुक्त बनाए।
सन् २०२० सम्म देशलाई गरिबीबाट पूर्णरूपमा मुक्त गराउने सीको योजना पूर्ण नहोला भन्न सकिँदैन। हाम्रै छिमेक चीनमा संसारलाई आश्चर्यमा पार्ने द्रूत गतिको विकास र समृद्धिको साक्षी नेपाल पनि हो। नेपालले आफ्नो छिमेकीले कुन विधि र प्रक्रिया अपनाएर द्रूत समृद्धिको बाटो लियो भन्ने छिमेकी देशको हैसियतले चासो राख्नु स्वाभाविक हो। सोहीअनुसार नेपालको सत्तासीन पार्टीको स्कुल विभाग र चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागको संयुक्त आयोजनामा ‘सी जिनपिङको विचारधाराबारे चिनियाँ कम्युनिस्ट पार्टीको धारणा तथा नेपाल कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीबीच विचारधारात्मक छलफल’ कार्यक्रम राखियो। यो कार्यक्रम बाहिर भनिएजस्तो कुनै प्रशिक्षण कार्यक्रम नभएर वैचारिक छलफल थियो।
यो दुईदिने कार्यक्रममा गरिबी निवारण, संगठन अभ्यास, बीआरआई, स्कुल विभाग, पार्टी सदस्यता वितरण र नियन्त्रण आदि विषयमा चिनियाँ अनुभव र नेपाली जिज्ञासासहितको छालफल प्रश्नोत्तर कार्यक्रम थियो। नेपालमा ‘सुखी नेपाली’ भन्ने नाराजस्तै चीनमा पनि ‘सहज जीवन’ भन्ने नारा लिइएको छ। जीवन सुखी अर्थात् सहज बनाउन चीनले अवलम्बन गरेका नीति कार्यक्रमका बारेमा जानकारी दिइयो। चीनमा अभ्यास गरिएका नीति कार्यक्रम चिनियाँ विशेषताका छन् र नेपालका लागि हुबहु अनुकरणीय नभए पनि सहयोगी हुन सक्छन्।
दुईदिने छलफल कार्यक्रम सी पथ वा माओ पथको प्रशिक्षण नभएर चीनको नयाँ समाजवाद र विकासको मोडल अनि गरिबी निवारणमा अपनाइएका रणनीतिको चिनियाँ अनुभव लिनु मात्र थियो।
स्थल सिमाना जोडिएको छिमेकी, विश्व महाशक्तिका रूपमा उदाउँदो समृद्ध मुलुकका प्रतिनिधिसँग नेपालका सत्तासीन पार्टीले अन्तरक्रिया गर्नु, अनुभव आदानप्रदान गर्नु देशका लागि राम्रो हो। यो कार्यक्रमका कारण नेपाल चीनतिर ढल्कियो वा अमेरिका, ईयू र भारतलाई चिढ्याइयो भन्ने खालका तर्क देशलाई यथास्थितिवादबाट अघि बढ्न नदिने कायर तर्क हुन्। महŒवपूर्ण कुरा त के हो भने चीन र नेपालका सत्ताधारी पार्टीका प्रतिनिधिबीच भएको छलफलबाट नेपालले केकस्तो र कति सिक्यो अनि सिकेका राम्रा कुरा नेपाली ढाँचामा कार्यान्वयन प्रयास गर्छ वा गर्दैन भन्ने मुख्य हो।
एउटा आर्थिक, प्राविधिक, व्यापारिक, सामरिक हिसाबले विश्व शक्तिका रूपमा उदीयमान राष्ट्र जोसँग स्थल सिमाना मात्र जोडिएको होइन, परापूर्वकालबाट सांस्कृतिक, धार्मिक, वैवाहिक र व्यापारिक सम्बन्धसमेत जोडिएको नेपालको स्थायी मित्र, समृद्ध मुलुकसँग विचारको आदानप्रदान, छलफल, अन्तरक्रिया गर्नुलाई असंलग्न परराष्ट्रनीति, अन्तर्राष्ट्रिय राजनीतिक खिचातानी, भारत, युरोप, अमेरिका, इन्डो–प्यासफिक स्ट्राटेजी आदिसँग जोडेर शंकाउपशंका गर्न जरुरी छैन। यस्ता कार्यक्रम अर्को छिमेकी भारतसँग पनि हुन आवश्यक छ। अन्य विकसित देशसँग पनि विकासका मोडलबारेमा ज्ञान लिन छलफल र अन्तरक्रिया गर्नु राम्रो हुनेछ। अहिलेको यो दुईदिने छलफल कार्यक्रम कुनै प्रशिक्षण कार्यक्रम हुँदै होइन, मात्र एक वैचारिक छलफल र अनुभवको साटासाट मात्र हो।
चीनले सामानको निर्यात गर्छ प्रणालीको निर्यात गर्दैन। चीनले नेपाललाई आफ्नो जस्तै एकदलीय प्रणाली लागू गर कहिल्यै भनेन, भन्दैन पनि। चीनको चासो नेपालमा स्थिर सरकार, शान्ति र स्थिरता होस्। सरकार जुनसकै विचारधाराले निर्देशित भएको भए पनि चीनलाई तात्विक असर गर्दैन। चीनको मुख्य चासो नेपालमा पश्चिमा र अमेरिकी शक्ति खेलेर चीनको तिब्बत पठारलाई खल्बलाउने प्रयास नगरून् भन्ने मात्र हो। यस अर्थमा चीनको चासो नेपालमा रहँदै आयो र अहिले स्थिर सरकार भएको बेला अलि चासो बढेको पक्कै हो। हुन त छिमेकी मुलुकको मात्र नभएर नेपालको भौगोलिक अवस्थिति र राजनीतिक स्थिरताले नेपालप्रति अन्तर्राष्ट्रिय जगत्मा नै चासो बढेको छ, जुन हाम्रा लागि गर्वको विषय त हो नै, त्यत्तिकै अवसर र जोखिमयुक्त अवस्था पनि। संयोगवश पछिल्लो समय चीन र भारतबीच मधुमास चलेको बेला अमेरिकाले पनि दक्षिण एसियाका मुलुकसँग स्वतन्त्र सम्पर्क विस्तार गर्न चाहेको छ। नेपालजस्ता साना मुलुकका लागि यो कूटनीतिक क्षेत्र र महत्त्व बढाउने एक अवसर पनि हो।
यस्तो बेला कूटनीतिक सन्तुलन राख्न सकिएन भने नेपाल विश्व कूटनीतिक मञ्चमा एक्लिन सक्ने खतरा पनि उत्तिकै छ। नेपाल स्वाधीन र सार्वभौमसत्ता जनतामा निहित रहेको लोकतान्त्रिक मुलुक हो, जसले आफ्ना निर्णय आफंै गर्न सक्छ। राजा महेन्द्रले कोदारी राजमार्ग खोल्ने सम्झौता चीनसँग गरेर आउँदा केही छिमेकी नेपालमा कम्युनिस्ट प्रणाली आउने भयो भनेर पिरोलिँदा साम्यवाद ट्याक्सी चढेर आउँदैन भन्नुपरेको थियो। त्यसैले यो दुईदिने छलफल कार्यक्रम पनि कुनै सी पथ वा माओ पथको प्रशिक्षण नभएर चीनको नयाँ समाजवाद र विकासको मोडल अनि गरिबी निवारणमा अपनाइएका रणनीतिको चिनियाँ अनुभव लिनु मात्र थियो।
हो, हामीलाई थाहा छ, नेपाल दुई ढुंगाबीचको तरुल हो तर कमजोर बिरुवा होइन। बरु चट्टान फोरेर पनि उम्रिन र बढ्न सक्ने आफ्नो अस्तित्व जोगाउन सक्ने तरुल हो, मुलुक हो।