बाजुरामा उपभोग्य वस्तुको मूल्य आकाशियो
बाजुरा : मार्तडी-कोल्टी सडक तीन महिनादेखि बन्द छ। सडक नखुल्दा स्थानीयलाई यात्रा गर्न समस्या मात्र भएको छैन खाद्य संकट पनि भित्रिएको छ। असारदेखि अवरुद्ध भएको सडक नखुल्दा बाजुराको पूर्वी उत्तरी क्षेत्रका ४ वटा स्थानीय तहकाका बासिन्दा प्रभावित भएका छन्।
बुढिनन्दा नगरपालिका,स्वामीकार्तिक खापर,जगन्नाथ, हिमाली गाउँपालिका र कर्णाली प्रदेशका हुम्ला, कालिकोट र मुगुको खत्याड क्षेत्रमा खाद्य संकट उत्पन्न भएको स्वामीकार्तिक खापर गाउँपालिकाका अध्यक्ष चिरन्जीवी शाहीले बताए ।
उपभोग्य सामानाको चरम अभाव छ।पसलमा भएको सामानको मुल्य आकाशिएको नागरिक समाजका अगुवा जनेश भण्डारीले बताए ।स्थानीयले सडक संचालन गरिदिन प्रदेश सरकारलाई भाद्र १४ गते ज्ञापन पत्र बुझाएका थिए।तर अहिलेसम्म सडक खलाउने कुनै पहल भएको छैन। सडक सञ्चालनमा स्थानीय सरकार, प्रदेश सरकार बेखबर बनेको भण्डारीको आरोप छ।
वर्षातको समयमा प्रत्येक वर्ष मार्तडी कोल्टी- सडकखण्ड अबरोध हुँदै आएको छ । हिउँदको समयमा टयाक्टर र जीप मात्र सञ्चालनमा हुन्छन् ।उक्त सडक बन्द हुँदा पूर्वी उत्तरी क्षेत्रको कोल्टी बजारमा दैनिक उपभोग्य सामानको चरम अभाव भएको स्थानीय व्यापारी मनबहादुर विकले बताए ।
मार्तडी–कोल्टी सडकखण्ड अवरोध हुँदा बिरामी बोकेर उपचारका लागि सदरमुकाम मार्तडी ल्याइदै । तस्बिर : पदम सिंह
सामान ल्याउन खच्चड र भरियाको प्रयोग गर्नुपर्ने भएकाले ढुवानी महंगो भएकाले सामनाको मुल्य बढेको विकले बताए। हो।उनले भने, 'अप्ठेरो बाटो-घाटो र खोला नालाले सामान ढुवानीमा समस्या हुने गरेको छ।'
मार्तडीदेखि कोल्टिसम्म टयाक्टरमा प्रतिकिलो ५ रुपैयाँका दरले सामान ढुवानी हुने गरेको भएपनि हिजोआज भरिया र खच्चरमा प्रतिकिलो ३० रुपैयाँमा ढुवानी हुने गरेको स्थानीय व्यापारीले बताए।
बिरामी मर्कामा
गएको जेठदेखि आंसिकरुपमा बन्द हुँदै आएको सडक असार १५ गते देखि पूर्णरुपमा अवरुद्ध भएपछि बिरामी, वृद्धवृद्धा प्रभावित भएको जिल्ला अस्पताल बाजुरा कार्यालयका प्रमुख डा. रुपचन्द्र विश्वकर्माले बताए ।
पूर्वी उत्तरी क्षेत्रको कोल्टी प्राथामिक स्वास्थ्य केन्द्रमा उपचार नभएपछि जिल्ला अस्पताल र अन्य ठाउँमा रिफर गरिएका बिरामी झनै समस्यामा पर्दै आएका छन्।गर्भवती तथा सुत्केरीलाई सेवा दिँदै आएको कोल्टी प्राथामिक स्वास्थ्य केन्द्रमा दुई महिनादेखि चिकित्सक नहुँदा बिरामी मारमा परेका छन्।
स्याउ ढुवानीमा समस्या
पूर्वी उत्तरी क्षेत्रमा स्याउ अत्याधिक फलेका छन्। सडककै कारण दुवानी गर्न समस्या भएको किसानले बताए। बाजुराको अर्गानिक स्याउलाई बजारीकरण गरी स्याउ किसानको आयाआर्जन बढाउने उद्देश्यले जिल्ला कृर्षि ज्ञान केन्द्रले ढुवानी अनुदान दिएको छ।
तर सडक संचालनमा नआउँदा ढुवानी प्रभावित भएको जिल्ला कृर्षि ज्ञान केन्द्र बाजुराका निमित्त प्रमुख गोबिन्द्र सिजापतिले बताए।बारीबाट पीलुचौर सडकसम्म खच्चड र भरीयाले ढुवानी गरिरहेका छन्।
ठाउँ ठाउँमा लोड गरेर ढुवानी महंगो हुँदा सुदूरपश्चिको धनगढी पुर्याउँदा पनि बजारसँग प्रतिष्प्रधा गर्न नसकिएको सिजापतिले बताए।