जंगली च्याउ बेचेर दसैंमा मासु

जंगली च्याउ बेचेर दसैंमा मासु

बेसीसहर : सहरबजारमा दसैंको चहलपहल बढिरहेका बेला जिल्लाका कतिपय गाउँका मानिस दसैं खर्च जुटाउन जंगलमा च्याउ टिप्न ब्यस्त छन्।

तर दसैंमा खाने च्याउ खोज्न भने उनीहरू जंगल पसेका हैनन्। च्याउ बेचेर मासु, अरु खाद्यान्न, लत्ता कपडा र दानदक्षिणामा थपथाप गर्न उनीहरू च्याउ टिप्न गएका हुन्।

उत्तरी भेगमा पर्ने सिउरुङ, ताघ्रिङ, घेर्मु, ढगैं, सिलढुंगा र उस्ता लगायतका गाउँका बासिन्दा असोज पहिलो साताबाटै लेक पसेका हुन्। यो जंगली च्याउ टिप्ने मुख्य सिजन पनि हो।

वर्षमा एक पटक मात्रै यस्तो मौका आउने भएकाले केटाकेटीदेखि बुढाबुढी सबै लेकतिर लागेका छन्। दसैं नजिकै आएपनि यतिबेला त्यस क्षेत्रका बासिन्दामा घरको काम भन्दा पनि जंगलमा च्याउ टिप्ने चटारो छ। ‘वर्षमा एक पटक मात्र आउने मौका किन गुमाउने’, सिउरुङका उमरजंग गुरुङले भने, ‘दसैं खर्च पनि हुने, स्वाद फेर्न पनि पाइने।’

घरबाट लगेको मकैभट्टको सातु, सिन्कीको अचार, आलु र चामल खाएर तीन–चार दिन सम्म लेकमा नै च्याउ संकलन गर्ने गरिन्छ। सक्नेहरू यो सिजनमा चार पटक सम्म लेक पुग्छन। एक पटकमा ३० देखी ४० किलो सम्म च्याउ संकलन गर्न सकिने घेर्मुका कामसार्की गुरुङ बताउँछन्।

जंगलबाट ल्याएको च्याउ पाथीको ९०० रुपैयाँमा विक्री हुने गरेको छ। सहरबजारबाट अत्याधिक माग आएकाले एक परिवारले १५ देखि २० हजार रुपियाँसम्म आम्दानी गर्न सक्ने गुरुङ बताउँछन्।

'एकै घरका दुई/तीन जना गए भने २० हजार भन्दा बढी कमाउन सकिन्छ', सिउरुङ गाउँकी गौरी गुरुङले भनिन्, ‘हरेक बर्ष च्याउ बेचेरै गाउँलेले दसैं मनाउने गरेका छन्।’

च्याउ बेचेको पैसाले केटाकेटीलाई लुगाफाटो र मासु किन्ने गरेको गुरुङले बताइन्। मासु नखानेले दसैंमा यही च्याउ पनि खाने गर्छन्। च्याउ टिप्न गाउँलेहरू खिलापु, सिम्ले, पल्याङ, बाह्रपोखरी र कोप्रो लेकका जंगलमा पुग्छन्। च्याउ टिप्ने काम जोखिम र दुःख भएपनि सबै जना एकै थलोमा जमघट हुने र आम्दानी पनि राम्रै हुने भएकाले रमाइलो लाग्ने सिउरुङकी बनमाया गुरुङले बताइन्।

‘जंगल नै गाउँ जस्तो लाग्छ यो बेला’, वनमाया भन्छिन्, ‘गीतका भाकासँगै च्याउ खोज्दा दुःखको अनुभव नै हुँदैन।’ यो सिजनमा टिपेको च्याउ हिउँदमा सुकुटी बनाएर तरकारी खाने तथा इष्टमित्रका लागि कोसेली पठाउने पनि गरिन्छ। यो सिजनमा पाइने रातो, सेतो र पहेलो च्याउमा प्रशस्त प्रोटिन र चिल्लोको मात्रा कम हुने भएकाले स्वास्थ्यका दृष्टिले अति उपयुक्त हुने आर्युवेदका चिकित्सकहरू बताउँछन्।

यस्तै करिब १६ सय मिटरदेखि ३ हजार मिटरसम्मको उचाईमा पुगेर निगालोको टुसा खोजेर विक्री गरी दसैं खर्च बनाउने पनि उत्तिकै छन्। लेकमा भाँचिएका टुसा सदरमुकाम बेसीसहर लगायतका सहरहरूमा बेच्नका लागि गाउँलेहरू झर्ने गर्दछन्। उनीहरूले प्रति मुठा ६० रुपैयाँदेखि १०० रुपैयाँसम्म बेच्ने गर्दछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.