प्याज लुकाउँदै व्यापारी, सीमापारी रोकिए प्याजका गाडी
काठमाडौं/भैरहवा : भारतले निर्यातमा प्रतिबन्ध लगाएको मौका छोपी व्यापारीले प्याज लुकाउन थालेका छन्। भारत सरकारले आइतबारदेखि अर्को आदेश नहुञ्जेलसम्म प्याज निर्यातमा प्रतिबन्ध लगाएको छ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले सोमबार कालिमाटी बजारमा गरेको अनुगमनमा व्यापारीले मौकाको फाइदा उठाएर प्याज लुकाउन थालेको भेटिएको छ। विभागका अनुगमन अधिकृत रमेशकाजी श्रेष्ठका अनुसार कालिमाटीस्थित अर्याल आलु प्याज सप्लायर्सले अनुगमन टोलीलाई प्याज नभएको ढाटेको फेला पारिएको छ।
अनुगमन टोलीले उक्त सप्लायर्सको गोदाममा छापा मारेपछि दुई सय बोरा प्याज भण्डारण गरी राखिएको फेला परेको थियो।
श्रेष्ठले भने, ‘सुरुमा गोदाम देखाउनै मानेन, गोदाममै छापा मारेपछि ठूलो परिमाणमा प्याजको बोरा भेटियो। भारतले प्याजको निर्यातमा प्रतिबन्ध लगाएपछि व्यापारीले धमाधम प्याज लुकाउन थालेका छन्।’
प्याज लुकाएको अभियोगमा उक्त सप्लायर्सलाई आवश्यक कागजातसहित विभागमा उपस्थित हुन अनुगमन टोलीले निर्देशन दिएको थियो। श्रेष्ठका अनुसार व्यापारीले फाइदा उठाउँदै एक दिनमै प्रतिकिलो प्याजमा ३० रुपैयाँ मूल्य थप गरेको अनुगमनका क्रममा फेला पारिएको छ।
सीमापारी रोकिए प्याजका गाडी
भारतले प्याज निर्यातमा रोक लगाएसँगै नेपाल आउन लागेका प्याजका गाडी सीमापारी रोकिएका छन्। भारतीय भन्सारले प्याज भन्सा विन्दुमा रोक लगाएको छ।
भारतको केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्रालयले विदेश व्यापार महानिर्देशनालयलाई अर्को आदेश नआएसम्म आइतबार प्याज निर्यातमा प्रतिबन्ध लगाउन निर्देशन दिएको थियो। भारतमा प्याजको मागअनुसार आपूर्ति गर्न समस्या परेपछि भारतले निर्यातमा रोक लगाएको बताइएको छ। आइतबारदेखि बेलहिया नाकाबाट प्याज आयात नभएको भैरहवा भन्सार कार्यालयका अधिकृत यामबहादुर थापाले जानकारी दिए।
‘निर्यात/आयात प्रक्रियामा गइसकेका प्याज आउने सम्भावना रहन्छ’, उनले भने, ‘आइतबारबाट एक गाडी पनि प्याज आएको छैन।’ भारत सुनौली भन्सार भन्सारका प्रमुख ए.के. द्विवेदीले अर्को आदेश नआएसम्म माथिल्लो स्तरबाट आएको परिपत्रअनुसार प्याजका गाडी रोकिएको बताए।
केही समय अघि प्याजको बढ्दो अभाव र अहिले निर्यातमा रोकसँगै व्यापारीले प्याजको मूल्यवृद्धि गर्न सुरु गरेका छन्। स्थानीय प्रशासनले प्रभावकारी अनुगमन गर्न सकेको छैन। ४० रुपैयाँ प्रतिकिलो प्याज अभावसँगै असोज पहिलो सातामा ह्वात्तै बढेर ९५ रुपैयाँ प्रतिकिलो पुगेको छ। तर, सर्वसाधरणको भान्सासम्म प्याज पुग्दा प्रतिकिलो एक सय २० रुपैयाँदेखि एक सय ३० रुपैयाँ पुग्छ। प्याजको आयात रोकिएसँगै यो मूल्य थप वृद्धि हुने सम्भावना देखिएको छ।
भारतमा यस वर्ष प्याज उत्पादनमा आएको कमीका कारण नेपालमा असर परेको हो। भारतमा ढिला गरी सुरु भएको मनसुन र लगातार ठूलो वर्षाका कारण प्याजखेती नष्ट भएपछि भारतमा प्याज अभाव हुने थालेको हो। यसको असर नेपालमा पनि देखिँदैछ। नेपाल प्याजमा भारत निर्भर छ। नेपालमा खपत हुने ९८ प्रतिशत प्याज भारतबाट आयात हुन्छ।
शनिबारसम्म भारतको नासिक, इन्दौरलगायत स्थानबाट स्टक गरिएको प्याज आयात भइरहेको थियो। प्याजको नयाँ उत्पादन नभएसम्म समस्या रहनसक्ने प्याज आयातकर्ता एवं अम्बे इन्टरनेसनलका सञ्चालक मोहन बानियाँको विश्लेषण छ। भारतमा अब नयाँ प्याज अगामी नोबेम्भर/डिसम्बर महिनासम्म तयार हुन्छ।
बेलहिया नाकाबाट आव ०७५/०७६ मा तीन अर्ब ११ करोड बढी रुपैयाँ बराबरको एक लाख १० हजार बढी टन प्याज आयात भएको थियो। चालु आव ०७६/०७७ को असोज आठ गतेसम्म यस नाकाबाट ७२ करोड १६ लाख रुपैयाँ बराबरको २० हजार चार सय बढी टन प्याज आयात भएको भैरहवा भन्सार कार्यालयले जनाएको छ।