अटेरी हुँदै छन् हात्ती
इटहरी : शनिबार राति कोसीटप्पुवन्यजन्तुआरक्षबाट एउटा मत्ता बाहिर निस्कियो। थाहा पाएपछि आरक्ष प्रशासन ट्र्याक्टर लिएर हात्तीलाई फर्काउन गयो। सामान्यतया ट्र्याक्टरको आवाज सुनेर, आकार र लाइट देखेर हात्ती डराउँछ र भाग्छ। तर शनिबार निस्किएको हात्ती सजिलै भाग्नेवाला थिएन। किनकी उसमा सहवासको उन्माद तीव्र थियो।
‘रोक्न खोज्दाखोज्दै पनि मद्ले चूर भएर तारबार नाघेर धानबालीमा पस्यो,’ आरक्षका वार्डेन रामदेव चौधरीले भने, ‘ट्र्याक्टरलाईसमेत नटेरी उफ्रियो।’
धेरैबेर लगाएर जसोतसो नियन्त्रणमा लिएर आरक्षको हात्तीसारमा लगेर बाँधियो। अनि त्यहाँ रहेको ढोईसँग समागम गर्न दिइयो। ‘त्यसपछि मात्र बल्ल मत्ता शान्त भयो,’ उनले बताए।
गाउँ पसेका हात्ती खेद्न आजकल ट्र्याक्टर प्रयोग गरिन्छ। पहिले नाङ्लो ठटाउँदा हात्ती भाग्थ्यो। ‘तर आजकल ट्र्याक्टरलाई पनि टेर्दैन, डोजर नै देखाउनुपर्छ,’ आरक्ष नजिकैको कोसी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारी भन्छन्, ‘हात्ती अटेरी बन्दै गएका छन्।’
कोसीटप्पुचरा र अर्नाका लागि नेपालमै विशेष आरक्ष मानिन्छ। तर हात्तीले बस्तीमा पसेर मानिस मार्ने क्रम बढेको छ। अन्सारीका अनुसार पछिल्लो दुई वर्षमा कोसी गाउँपालिकाका १३ जनालाई आरक्षबाट निस्किएका जंगली जनावरले मारेका छन्।
‘पोहोर भुनीदेवी चौधरीलाई मार्यो, परार रघुलाल उराउलाई मार्यो,’ मध्यवर्ती क्षेत्र प्रकाशपुर उपभोक्ता समितिका अध्यक्ष अमर गुरुङ भन्छन्, ‘साँझ परेपछि प्राय : हात्ती बस्ती पस्छ, कहिले घर भत्काउँछ, कहिले धान, मकै खान्छ, कहिले मान्छे नै मार्छ।’
मारिनेमध्ये मध्यवर्ती क्षेत्रका परिवारले मात्र सरकारबाट १० लाख रुपैयाँ क्षतिपूर्ति पाउँछन्, अन्नबालीको क्षतिपूर्ति पनि दिइन्छ। बाहिरकाले त्यो पनि पाउँदैनन्।
सुनसरीमा बराहक्षेत्र नगरपालिकाको वडा नम्बर ९, १० र ११ अनि कोसी गाउँपालिकाको वडा नम्बर १, २, ३ र ६ मध्यवर्ती क्षेत्रअन्तर्गत पर्छ। सप्तरी र उदयपुरको केही क्षेत्र पनि समेटिएको छ। मध्यवर्ती क्षेत्र र बाहिर हात्तीको आतंक उस्तै छ।
आरक्षका हात्ती रोक्न सोलार फेन्सिङ प्रविधि अपनाइएको छ। तर यो पछिल्लो दिनमा असफल भइसकेको अन्सारीको भनाइ छ। किनकी हात्ती अब बाठो भइसके। ‘फेन्सिङमा करेन्ट आउँछ भनेर हात्तीले सुकेको रुख हालेर पनि पार गर्न थालेको छ,’ उनी भन्छन्, ‘अब फेन्सिङ कसरी छल्ने भनेर हात्तीले जानिसक्यो, त्यसैले अब ट्रेन्च बनाउनुपर्छ।’
उनले प्रस्ताव गरेको ट्रेन्च भनेको आरक्ष वरिपरी खनिने गहिरो खाडल हो। खाडल पार गर्न खोज्ने हात्ती त्यहीँ फँस्छ। तर बर्दियामा यो प्रविधि डेढ वर्षमै असफल भएको वार्डेन चौधरी बताउँछन्। ‘ट्रेन्चमा पनि घस्रेर हात्तीले निस्कने बाटो बनायो,’ उनी सुनाउँछन्। कुनै पनि अवरोधले लामो समय छेक्न नसक्ने हात्तीसम्बन्धी वन्यजन्तुविदहरू बताउँछन्। अवरोध छल्ने उपाय हात्तीले चाँडै निकाल्छ।
भोकले रन्थनिएको हात्ती पाकेको मकैको वास्नाले आरक्ष क्षेत्र पार गरेर मानव बस्तीमा पस्छ। झन् सम्भोगको नसा चढेर के गरौं, कसो गरौं भएपछि त हात्तीलाई रोक्न गाह्रै हुन्छ। ‘ढोई चाहिएपछि कानको छेउ र आँखाको बीचमा सानो प्वाल हुन्छ त्यहाँबाट मद् (तरल पदार्थ) निस्केर मुखमा पस्छ,’ वार्डेन चौधरी भन्छन्, ‘त्यसपछि बहुलाएको हात्तीलाई रोक्न डार्ट हानेर लठ्याउँछौं र बेहोस पार्छौं।’
एक पटक लठ्याएपछि हात्ती २० दिन जतिलाई शान्त हुन्छ। तर यसरी लठ्याउने औषधि र प्राविधिक पनि चितवनबाट मगाउनुपर्छ। वार्डेन चौधरीका लागि भने हात्ती रोक्ने तत्कालको प्रभावकारी उपाय सोलार फेन्सिङ नै हो। स्थानीयले नै फेन्सिङको तार बेचेर दुरुपयोग गरेपछि हात्तीको आक्रमण बढेको उनको आरोप छ। तर दिगो उपाय भने सिमेन्टेड पर्खाललाई मान्छन् उनी।
अर्को उपाय हात्तीको घाँटीमा रेडियो कलर बाँधिदिनुहो। महँगो भएकाले अहिले आरक्षमा रहेको मकुना हात्तीलाई मात्र यस्तो कलर लगाइएको छ। एउटा कलरको ३० लाख रुपैयाँ पर्छ। कलरको सहयोगमा रिसिभरले हात्ती कहाँ छ भनेर जानकारी दिन्छ। ‘अझ जीपीएस सेटेलाइट कलर लगाइदिने हो भने त हात्ती आउँदै गरेको सूचना गाउँलेले पहिले नै पाउँछन्,’ उनी भन्छन्, ‘प्रविधि त धेरै छन्, तर खर्च गर्न नसकेर हाम्रोतिर मान्छे मारेको मार्यै छ।’
वासस्थान तथा आहाराको कमीले हात्ती गाउँ पस्ने गरेको छ। हात्तीका लागि आरक्षको क्षेत्रफल नै अपुग छ। उनका अनुसार प्रति हात्ती ५० वर्गकिलोमिटर चाहिन्छ। टप्पुको कुल क्षेत्रफल १७५ वर्गकिलोमिटर मात्र छ भने ३ छावासहित १७ हात्ती छन्। क्षेत्रफल बढाउन उत्तरमा चुरेसम्मै पुर्याउनुपर्ने उनको प्रस्ताव छ। चुरेमा हात्तीले घना वन भेट्न सक्छ।
त्यसो त टप्पुअर्नाको लागि प्रख्यात छ। यहाँ झन्डै ५ सय अर्ना छन्। अर्नाले पनि मानिस मार्ने गरेको छ। अर्ना र हात्तीबाट जोगाउन नसके स्थानीयको मनमा जंगली जनावरप्रति वितृष्णा फैलिने डर रहेको उनी बताउँछन्।