ठेक्कापट्टा लगाउनेहरू कम्युनिस्ट हैनन्

ठेक्कापट्टा लगाउनेहरू कम्युनिस्ट हैनन्

 नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेले आफूले जित्दै आएको भक्तपुर १ गत संघीय निर्वाचनमा नेता प्रेम सुवाललाई राजीखुसी छाडे । यसपालि महाधिवेशनमा पार्टी नेतृत्व त्यसरी नै अर्कैलाई दिने धेरैको अनुमान थियो । तिनलाई चकित पार्दै ८० वर्षीय बिजुक्छे पुनः अध्यक्षमा छानिए । ४५ वर्षदेखि नेमकिपा हाँकिरहेका उनी आफ्नो पार्टीबाहेक अरूलाई ‘कम्युनिस्ट’ देख्दैनन् । उनीसँग समसामयिक राजनीति, नेमकिपाको रणनीति, अन्तर्राष्ट्रिय परिस्थितिलगायत विषयमा अन्नपूर्णका अखण्ड भण्डारीईश्वरकाजी खाइजूले गरेको कुराकानीको सम्पादित अंश 

 एउटै पार्टी ४५ वर्षदेखि हाँकिरहँदा देशको राजनीतिलाई कस्तो देखिरहनुभएको छ ?

देशको स्थिति त भद्रगोलै छ । भद्रगोल भन्नुको अर्थ– शासक र दलहरू आफैं प्रस्ट छैनन् । व्यवस्थित गर्न सकेका छैनन् । प्रजातन्त्रमा प्रतिपक्षी दलको पनि धेरै भूमिका हुन्छ । त्यो पनि निर्वाह भएको देखिँदैन ।

बाटो कहाँ चिप्लियो ?

विगतमा सत्तामा रहँदा कांग्रेसले जे ग¥यो, अहिले नेकपाले त्यही गरिरहेछ । त्यसैले कांग्रेसले के भनेर सरकारको आलोचना गर्ने ? जबसम्म कांग्रेसले आत्मसमीक्षा गर्दैन, नेकपालाई आलोचना गरेर के फाइदा ? त्यसैले मैले भन्नुप¥यो भने कांग्रेसकै कारण देश अहिलेको स्थितिमा पुगेको हो ।

कसरी ?

सार्वजनिक क्षेत्रको निजीकरण गरेको कांग्रेसले हो । नेकपाले त्यसैलाई पछ्याएको हो । युवाहरूलाई विदेश पठाउने काम कांग्रेसले नै गरेको हो । डा. रामशरण महतको बजेटमै पहिलोपटक युवाहरूलाई विदेश पठाउने उल्लेख छ । उनले हरेक निर्वाचन क्षेत्रबाट २÷२ जना युवाहरूलाई विदेश पठाउने भनेर भनेकै हुन् । भ्रष्टाचार कांग्रेसले नै सुरु गरेको हो । आफ्ना मान्छेलाई ठेक्का र काम दिने सबै कांग्रेसले गरेको हो । राजदूत पैसा खाएरै पठाएका थिए । पैसा लिएरै न्यायाधीशहरूलाई नियुक्ति दिइएकै हो । अहिले नेकपा त्यही बाटोमा लाग्यो । सिकाउने कांग्रेसै हो ।

यस्ता विकृतिमा कर्मचारीतन्त्रको भूमिका पनि त होला नि !

हो, अहिले कर्मचारीहरूले कामै गरेन भनिन्छ । मैले सदनको पहिलो बैठकमै ‘स्प्वाइल सिस्टम’ (शासन फेरिँदा माथिल्लो तह पूरै हटाउने प्रणाली) राख्नुपर्छ भनेको थिएँ । किनभने, पञ्चायती व्यवस्थालाई जोगाउने कर्मचारीहरू नै हुन् । कर्मचारीहरूको दृष्टिकोण पञ्चायत टिकाउने थियो । प्रजातन्त्र आएपछि त्यो फिट हुँदैनथ्यो । त्यसैले मुख्य–मुख्य मान्छेहरू सबै हटाउनुपथ्र्यो । अमेरिका, फ्रान्सलगायत सबैतिर त्यस्तै हुन्छ । फरक पार्टीले चुनाव जित्यो भने पहिलेका महŒवपूर्ण पदका सबैले राजीनामा गर्छन् । यसो भन्दा संसद्मा सबै हाम्रो विरोधमा आए । कर्मचारीहरू त पूरै हाम्रा विरोधी । अहिले कराएर के गर्ने, २५ वर्ष भइसक्यो ।

त्यसले झन् असन्तुलन हुँदैन ? फाइदा के छ ?

हुँदैन । जस्तो– कांग्रेसको सरकार थियो, एमालेका तीन–चार सांसदले एउटै विषयमा तीन–चारथरी कुरा गरे । शिक्षासम्बन्धी एउटा विषयमा त्यस्तै भयो । मैले उनीहरूलाई सोधें, ‘यस विषयमा पार्टीको दृष्टिकोण के हो ? ’ जवाफै दिएनन् । सत्तामा रहेका कांग्रेसकै सांसदहरूले सरकारको नीतिविरुद्ध बोले । मैले संसद्मै उठेर भनेको छु, ‘कांग्रेसका सांसदहरूले सरकारको विरोध गर्ने भए राजीनामा दिएर प्रतिपक्षको बेञ्चमा आउनुपर्छ । आन्तरिक झगडा पार्टीभित्रै गर्ने हो, संसद्मा होइन ।’ यो त पञ्चायतमा जस्तै भयो । पञ्चायतमा पो संसद्को हरेक सदस्यले आ–आफ्ना कुरा बोल्थे । भन्न खोजिएको– प्रजातन्त्र ल्याउनेहरूलाई नै प्रजातन्त्रकै मर्मबारे थाहै छैन ।

 भनाइको अर्थ, उनीहरूमा पार्टी अनुशासन भएन ?

भएन । पार्टीको सिद्धान्तका आधारमा हामी चल्छौं । पार्टीको घोषणापत्रका आधारमा हामीले चुनाव लडेका हौं । जनताले मलाई भोट दिएका होइनन्, पार्टीको घोषणापत्रलाई दिएका हुन् । त्यसैले घोषणापत्रभन्दा बाहिर जान पाउँदैन । भित्र जे–जे गर, झगडा गर । तर, बाहिर आउनु हुन्न । यसकारण अनुशासन नै छैन । अराजकता भनेकै यही हो ।

पार्टी नेतृत्वहरूको अवस्थाचाहिँ ?

केपी ओली र प्रचण्ड पनि जथाभावी बोल्नुहन्छ । हामीले नेकपालाई कम्युनिस्ट नै होइन भनेका छौं । प्रचण्डले भर्खरमात्रै कम्युनिस्टहरू कम्युनिस्ट जस्तै रहेनन् भन्नुभयो । यस्तो भन्ने हो भने प्रचण्डले पहिले पार्टीबाट राजीनामा दिनुपथ्र्यो । सिद्धान्त त त्यो हो नि । प्रधानमन्त्री नभएपछि बेठीक ? प्रधानमन्त्री हुँदैमा ठीक हुने भए प्रचण्ड दुईपटक प्रधानमन्त्री हुनुभयो । के गर्नुभयो ? हामीलाई सोध्ने अधिकार छ । शेरबहादुर देउवा पनि धेरैचोटि प्रधानमन्त्री हुनुभयो । हामीले त्यही प्रश्न गर्ने हो, के गर्नुभयो ? उहाँहरूले नीतिगत रूपमा म प्रधानमन्त्री हुँदा यो–यो काम गरें भन्नुपर्छ । कांग्रेसकै लेखकहरूले देउवाका पालामा भ्रष्टाचारबाहेक केही भएन भनी लेखेकै थिए । संसद्लाई फोहोर बनाउनेमा देउवा पनि एकजना हुनुहुन्छ । संसद् सदस्यहरूलाई पैसा खुवाउने, विदेश पठाउने र लुकाउने काम उहाँबाटै भयो ।

तपाईंले नेकपालाई कम्युनिस्टै होइन भन्नुभयो । यसले कम्युनिस्टका के–के गुण र विशेषता गुमाइसक्यो ?

कम्युनिस्ट भनेर सरकारमा गइसकेपछि कम्युनिस्ट सिद्धान्तअनुसार काम गर्नुपथ्र्यो । जस्तै– उत्पादनका साधनहरूको समाजीकरण गर्नुपथ्र्यो । भएको छैन । व्यक्तित्व विकासमा समान अवसर दिनुपथ्र्यो । दिइएको छैन । यसको मतलब सबै नेपालीलाई पढ्ने अवसर दिनुप¥यो । धनीले मात्रै पढ्ने हो भने सबै धनीहरूले पढेकै थिए । गरिबहरूले कसरी पढ्ने ? अत्यन्त बहुमत जनताले खोई त पढ्न पाएका ? साथसाथै अस्पतालहरूलाई राम्रो पार्नु पर्दैन ? पैसा भएकाले मात्रै बाँच्न पाउने हो र ? स्वास्थ्योपचार सबै निःशुल्क हुनुपर्छ । कम्युनिस्ट सरकारले गरेको खोइ ? चुनावमा पैसा खर्च गर्ने र ठेक्कापट्टामा भाग लगाउनेहरू कम्युनिस्ट होइनन् । हामीले पञ्चलाई गाली ग¥यौं । अहिले हामीले त्यही काम गर्न हुन्छ ?

तपाईंहरू पनि उस्तै त हुनुहुन्छ होला नि !

हामीले मेडिकल कलेजसहितको ख्वपः विश्वविद्यालय चाहेको हो । १० लाख रुपैयाँमा डाक्टर पढ्न पाउँछ । हामी गरेर देखाउँछौं । तर, स्वीकृति नै दिइएन । जहाँ पूर्वाधार कम छ, त्यहाँ विश्वविद्यालयको स्वीकृति दिइयो, हामीलाई दिइएन । किन दिएन ? जबकि संसदीय टोलीले सबैभन्दा राम्रो भौतिक पूर्वाधार ख्वपः विश्वविद्यालयको छ भनेर सिफारिस गरेको थियो । तैपनि दिइएन । हामी चाकडी गर्दैनौं । टायर बाल्दैनौं । हामीबाट कसैलाई खुसी पार्ने काम पनि हुँदैन ।

अंगीकृत नागरिकतामा निकै कठोर देखिनुभयो नि ?

यसबारे मैले राष्ट्रपतिलाई पनि भनेको छु । उहाँहरू पार्टी नेता हुँदा महिला–पुरुषको समान अधिकार खोज्नुभयो । नागरिकता पाउँदा छोराछोरीमा भेदभाव गर्नु हुन्न भनी खुब लाग्नुभयो । त्यसको मैले कडा विरोध गरें । त्यसो गर्दा भान्जाभान्जी सबैलाई नागरिकता दिनुपर्छ । यसले देशै बर्बाद हुन्छ भनेर कांग्रेसका महिला सांसदहरूलाई भनें । एकदुई वर्ष उहाँहरू चुप लाग्नुभयो । पछि सबै गैससहरूले दबाब दिन थाले । अहिले देशको स्थिति कस्तो भयो ? हिजो देशको २७ प्रतिशत जनसंख्या भएको तराईमा अहिले ५२ प्रतिशत पुग्यो ।

त्यसो भए छोरीलाई मूलधारमा कसरी ल्याउने ?

मैले राष्ट्रपतिलाई देशलाई जोगाउन एउटा अर्को काम गर्नुहोस् भनें । त्यो के हो भने पहाडी क्षेत्रका ५० प्रतिशतभन्दा बढी महिलालाई आङ खस्ने समस्या छ । पुरुष डाक्टरलाई देखाउँदै देखाउँदैनन् । भागी–भागी हिँड्छन् । त्यसको एउटा उपाय छ– ५ वर्षमै समाधान हुन्छ । अहिले हामीलाई जति छात्रवृत्ति आउँछ, हरेक जिल्लाको राम्रो परिणाम ल्याउने छोरीहरूलाई डाक्टर पढ्न पठाइदिऔं । पाँच वर्षमा उनीहरू पढाइ पूरा गरेर फर्कन्छन् । हरेक साल त्यसरी नै छात्रवृत्तिमा पढ्न पठाइदिऔं । एक वर्ष सबै महिलालाई पठाइदिऔं । दोस्रो वर्ष आधा महिला र आधा पुरुषलाई पठाऔं । यसरी पढेका सबै डाक्टरलाई जिल्ला–जिल्लामा काम गर्न पठाइदिऔं । यसले दुइटा फाइदा हुन्छ । एक त आङ खस्ने समस्या न्यूनीकरण हुन्छ । अर्को, पढेका महिलाले काम गर्ने रहेछन्, पढाउनुपर्छ भन्ने भावना जाग्छ । यसले आधा जनसंख्या अगाडि आउँछ ।

अहिलेको सरकारले गति नलिएको कारण के हो जस्तो लाग्छ ?

एक त सरकारको योजनै छैन । बरु कांग्रेसको योजना थियो । खाने भए पनि कांग्रेसीहरू योजनाका साथ आउँथे । अर्को नेकपामा राप्रपा, कांग्रेस सबै घुसे । कामै गर्न दिँदैनन् । फाइदा, फाइदा, फाइदा र लुटपाटबाहेक केही गर्दैनन् । पार्टी ठूलो बनाउने हो कि राम्रो बनाउने हो ? पञ्चायतकालमा पनि सबै पञ्च नेपाली थिए, सबै नेपाली पञ्चै थिए । त्यो भएन भनेर हामीले बदल्यौं, अनि त्यही काम हामीले गर्न मिल्छ ?

सत्तारुढ नेकपाले चिनियाँ राष्ट्रपति सी चिनफिङको पथमाथि प्रशिक्षण चलायो, कसरी हेर्नुभएको छ ?

नेकपाले अरू कम्युनिस्टलाई हामी कम्युनिस्ट नै हौं भनी देखाउन यसो गरेको हो । नेपालीमा छापिसकेको कुरालाई चिनियाँहरू आएर हामीलाई तालिम दिनुपर्छ र ? फेरि कांग्रेसले यसलाई उल्काइदियो । गान्धीजीको कुरा गर्नुहुन्छ, सीको कुरा गर्न हुन्न ? माओत्से तुङको कुरा गर्न हुन्न ? बुद्धको बारे संसारले कुरा गर्नुहुन्छ भने कन्फुसियसको विषयमा कुरै गर्न हुन्न ? अमेरिकी स्वतन्त्रता आन्दोलन हामीले पढाउन हुन्न कलेजमा ? एकदम पढाउन हुन्छ । चिनियाँ स्वतन्त्रता आन्दोलनमा अमेरिकी स्वतन्त्रता आन्दोलनको धेरै प्रभाव छ । माओत्से तुङ आफैंले यस विषयमा भन्नुभएको छ । त्यसैले संकीर्णताको पनि हद हुन्छ । बरु नेकपाका लागि यो भालुलाई पुराण सुनाएजत्तिकै हो । भ्रष्टाचारी नै भ्रष्टाचारीहरूले त्यो कहाँ सुन्छ ?

यो तालिम यताको चाहना हो कि उताको ?

नेकपाले पढाइदेऊ भन्यो, उनीहरूले पढाइदिए । चीनको चाहना छैन । यसमा सबैभन्दा ठूलो दोष नेपाली कांग्रेसको छ । चिनियाँहरूले नेपाली कांग्रेसलाई पनि बोलाउँछन् । तर कांग्रेसीहरूले एक शब्द पनि बोल्दैनन्, पढ्दैन । सँगैको छिमेकी देशसँग उनीहरूले राम्रो सम्बन्ध राख्नुपर्दैन ? के कांग्रेस दलाल होइन ? कांग्रेसकै कारण नेकपा आएको हो । अनि माओवादीहरूलाई भारतले बन्दुक दिएको होइन ? तालिम दिएको होइन ? भारतले माओवादीको काँधमा बन्दुक राखेर नेपाललाई हानेको हो । उनीहरूले नै विदेशीहरूलाई सैनिक सूत्र दिएका हुन् । अनि, माओवादी कसरी कम्युनिस्ट हो ? कम्युनिस्ट भएको भए काम गथ्र्यो, जमिन जोत्नेको गथ्र्यो । मजदुरहरूको हितमा गथ्र्यो । प्रगतिशील कर लगाउँथ्यो । अर्बौं खर्च गरे करै नलाग्ने, दुईचार लाखको काम गर्नेलाई लगाउने ? शिक्षकले कापी जाँच्नेमा कर लगाउने ? कहीं हुन्छ यस्तो कम्युनिस्ट सरकारमा ?

नेकपाचाहिँ चीनतिर ढल्किएको हो त ?

नेपाललाई दिएको सहयोग चीनले दान दिएको हो र ? नेपाललाई दान दिएपछि उनीहरू स्वर्ग जाने हो र ? छिमेकी गरिब भए भने दुःख हुन्छ । राम्रो भयो भने व्यापार पनि चल्छ । नेपालीहरू गरिब भए भने चिनियाँ उत्पादन किन्दै किन्दैनन् । नेकपालाई चिनियाँहरू पत्याउँदै पत्याउँदैनन् । राष्ट्रिय पुँजीपति वर्गको विकास नै नभएको ठाउँमा कम्युनिस्ट आन्दोलन कसरी हुन्छ ? त्यसकारण चिनियाँहरू बोल्दैनन् । चिनियाँहरू क्रान्ति निर्यात हुनेमा विश्वास गर्दैनन् ।

सत्तारुढ दलको विदेश नीति कस्तो पाउनुभएको छ ?

देशको स्वतन्त्रता र सार्वभौमिकतालाई प्राथमिकता दिएर आर्थिक नीतिलाई जोड दिनुपर्छ । तर, हाम्रो उत्पादन नै छैन भने कसरी व्यापार गर्छौं ? पहिले उत्पादन बढाउनुप¥यो । अनि मात्रै व्यापार हुन्छ । ल चीनले किन्दिन्छ, तर नेपालले के बेच्ने ? नेपालसँग बेच्नलाई मालसामान नै छैन । श्रीलंकालाई दाल दिन भारतले रोकेको छ । बंगलादेशले नेपालसँग ढुंगा मागेको छ, दिँदैन । टिम्बर मागेको छ, भारतको भन्दा बढी पैसा दिए पनि दिँदैन । नेपाली तरकारी र सुन्तला खोजेको छ, दिएको छैन । एकै दिनमा बंगलादेशको ढाका पुग्छ, भारतले बाटो दिँदैन । सरकारले यस विषयमा बार्गेनिङ गर्दैन ।

भेनेजुयला हुँदै इन्डो–प्यासिफिकसम्म आइपुग्दा नेपाल सरकारसँग अमेरिका बिच्किएजस्तो देखिन्छ । यसलाई कसरी हेरिरहनुभएको छ ?

यो भारतले ट्रिक गरेको हो । प्रचण्डलाई भारतले फसाइदिएको हो । उहाँ दिल्ली जानुभयो । त्यहाँ कसले भेनेजुयलाबारे कुरा सिकायो । भेनेजुयलाको कुरा गर्नेबित्तिकै अमेरिका रिसायो, परराष्ट्रमन्त्रीलाई अमेरिका पठाएर सही गराइदियो । यो त ज्ञानेन्द्रबहादुर कार्की अर्थमन्त्री छँदै हस्ताक्षर भइसकेको रहेछ । अहिले नेकपालाई पनि सही गराएको मात्रै हो । रिसाउन दिएर न बोलाएको हो, यो भारतको ट्रिक हो ।

आऊँ, तपाईंकै पार्टीतिर । अरूको आलोचना गर्नुहुन्छ, नेमकिपामा पृथकता के छ ?

हामी नेकपा र कांग्रेसबाट नकारात्मक शिक्षा लिन्छौं । म उनीहरूका कार्यकर्ताहरूलाई भन्छु, ‘चुनावमा मेरो पार्टीलाई मद्दत गर्नुप¥यो है ।’ उनीहरू सोध्छन्, ‘के पाउँछु दाइ ? ’ अरूले ठेक्का दिन्छु, जागिर दिन्छु, पैसा दिन्छु, छात्रवृत्ति दिन्छु भन्छन् । कार्यकर्तालाई राजनीतिक सिद्धान्तले तालिम गर्ने हो कि पैसाको लोभ देखाउने हो ? गलत यहीं भयो । हामी त्यसो गर्दैनौं।

नेमकिपाचाहिँ खास कम्युनिस्ट हो ?

हामी आफूलाई कम्युनिस्ट हौं, माक्र्सवादी, लेनिनवादी, माओत्से तुङ विचारधारा मान्छौं भनेर खुलेआम भन्छौं ।

भनेपछि कम्युनिस्टको पूरै चरित्र यसमा छ ?

अँ, हामी त्यही भन्छौं ।

भन्छौं कि खासमा छ ?

छ, हामीमा छ, किन छैन ? बरु के छैन, त्यो भन्नुहोस् । (लामो हाँसो)

यसको आकार देशव्यापी हुन नसक्नुको कारण नेपालमा कम्युनिस्ट सान्दर्भिक नभएर हो ?

होइन । नबुझेर र हामीले बुझाउन नसकेर हो । अर्को कुरा, हाम्रो देश विभिन्न जातजाति र भाषाभाषीको हो । बहुमत बाहुन–क्षेत्रीको छ । तर, अपवादबाहेक क्षेत्री–बाहुनले अरू जातका नेताहरूलाई मान्दैनन् । हिसाब गरेर हेर्नुस् ।

तर नेमकिपा त जातीय पार्टी होइन ?

एकदम होइन । कम्युनिस्ट पार्टी हो ।

अनि किन आकार लिन सकेन ?

अरूले नेमकिपा जातीय पार्टी भनेर प्रचार गरे÷गराए । हाम्रा विरोधीहरूले नेमकिपालाई नेवार पार्टी, ज्यापू पार्टी भन्छन् । नेमकिपा मजदुर किसानहरूको पार्टी हो । यो गरिब वर्गको पार्टी हो । हामीलाई गरिब किसानलाई हेर्छ भनेरै विरोध गर्छन् । जमिनदारहरूले आफ्नो जग्गा किसानलाई आधा दिनुपर्ने भएकाले पनि नेमकिपाको विरोध गर्छन् । मलाईसमेत जुन कूलमा जन्म्यो, त्यहीं कूलमा आगो लगायो भनी विरोध गर्छन् । यो वर्ग संघर्ष हो ।

तर, त्यो संघर्ष साँघुरिँदै गयो नि ?

हामी जातको कुरा गर्दैनौं । भाषाको कुरा गर्दैनौं । जाँडरक्सी खुवाउँदैनौं । पैसा दिँदैनौं । जहिले बुझ्छ, तहिले गर्ने हो । हामीले जे बीउ रोप्यौं, त्यहीं फल्छ । जात, भाषा, साम्प्रदायिकताका हामी विरोधी हौं । त्यसैले हामीले सदनमा प्रस्ताव राख्यौं, जातका आधारमा पार्टीहरूलाई स्वीकृति दिन हुन्न । भाषाका आधारमा, धर्मका आधारमा र क्षेत्रीय सम्पद्रायका आधारमा पार्टीलाई स्वीकृति दिनु हुन्न । त्यसपछि झन् मधेसी दल बनेर आयो । हामीले जे–जे भन्यौं, त्यसको ठीक उल्टो काम भइरहेको छ । उनीहरूले के बुझे होलान् भने हामीले भनेजस्तो नगरे कम्युनिस्ट बढ्छ कि क्या हो ?

अब पार्टीको दीर्घकालीन रणनीति के छ ?

गाउँगाउँमा जहाँ दलित, पीडित छन् ती ठाउँमा तल्लो तहदेखि काम गर्ने पार्टीको दीर्घकालीन रणनीति हो । धनीहरूलाई त हामी पार्टी सदस्यता नै दिँदै दिन्नौं । जस्तै– जुम्लामा हाम्रो मत किन घटिरहेको छ भन्दा हाम्रा कार्यकर्ता दुःख गरेर घरघर गए । एमालेहरूले मोबाइल बाँडेछन् । जताततै हेलो–हेलो गर्छन् । अर्को आएर भटाभट टर्चलाइट बाँडेछ, पैसा बाँडेछ । त्यति पैसा त जुम्लामा कसैले देखेकै छैन रहेछ । सबै मान्छेले सबै कुरा बुझेको हुँदैन । समय लाग्छ । फेरि चुनावबाट जितेर समाजवाद आउँछ भने पनि हामी पत्याउँदैनौं ।

चुनावमा भागचाहिँ किन लिइरहनुहुन्छ ?

प्रचारका लागि चुनावको प्रयोग गरेको हो । पुँजीवादी व्यवस्थामा दुई राजनीतिक अवस्थामा जनता सडकमा आउँछन् । एउटा आमहडतालको आन्दोलनका बेला र अर्को चुनावका बेलामा । चुनावमा कांग्रेसको आलोचना गर्न हाम्रो उम्मेदवार नभई त हुँदैन । नेमकिपा सानो पार्टी, ज्यापू पार्टी, भक्तपुरे पार्टी केके भन्छन् तिनीहरू । हामी पनि खण्डन गर्छौं, तर झगडा हुँदैन । हाम्रो उम्मेदवार छैन भने मारपिट भइहाल्छ ।

नेमकिपालाई राजावादी कम्युनिस्ट पनि भन्छन्, किन होला ?

बुझ्दै नबुझेपछि केको राजावादी ? त्यसको एउटा कारण छ । राजाले भूमिसुधार लागू गरे । कति कम्युनिस्टले राजाको भूमिसुधारको विरोध गरे । तर, त्यसले किसानलाई मोहीयानी हक दियो । यसअघि धानबालीमा किसानले चार भागको एक भाग मात्रै पाउँथे । जमिनदारले कामै नगरी तीन भाग पाउँथे । भूमिसुधारले त्यसमा आधा गरिदियो । गहुँको बाली तिर्नै परेन । पहिले आधा थियो । साँवाभन्दा बढी ब्याज छ भने तिर्नुपरेन । पार्टीले आधा मागेको हो, तर आधाभन्दा बढी दियो । हामीले त्यसको समर्थन ग¥यौं । त्यसैले राजावादी भनिदिए ।

विप्लवहरूसँग अहिले तपाईंको सम्पर्क छ कि छैन ?

दुई वर्षअघि विप्लवहरूसँग एकदुई चोटि कुरा भएको थियो । त्यसयता भएको छैन ।

विप्लवको जस्तो भूमिगत राजनीतिलाई कुन रूपमा हेर्नुहुन्छ ?

उहाँहरू पहिले माओवादी नै हो । उहाँहरूका मनमा धेरै हडताल भएपछि छिटो क्रान्ति हुन्छ भन्ने दृष्टिकोण छ । कलकारखाना नभएको नेपालमा हडताल गर्ने भनेको सहर बन्द गर्ने मात्रै हुन्छ । अब मजदुर नै नभएको ठाउँमा मजदुरको हकहित के हुन्छ ? खालि व्यापार बन्द गर्ने, सबैलाई दिक्क पार्ने जस्तोमात्रै भयो । हाम्रो परिस्थिति, युरोप र रूसी क्रान्तिको धेरै फरक छ । हडताल गर्नु भनेको पुँजीपति वर्गलाई नोक्सान गर्न हो । यहाँ त साधारण जनतालाई मात्रै दुःख हुन्छ ।

 सशस्त्र युद्ध नि ?

त्यो पनि जनताले बुझ्नुप¥यो, केका निम्ति युद्ध ? माओवादीको जनयुद्ध त पैसा दिएर गरिएको हो । क्रान्तिको कुरा पनि गरियो, पैसा पनि दिइयो । भारतले पैसा दियो । चीनमा पनि युद्धैयुद्धले जनता आजित भएका थिए । फेरि क्रान्ति गर्नेभन्दा उनीहरूले किन गर्ने भने । उनीहरूले क्रान्तिलाई पनि युद्ध माने । त्यसमा शर्त राखियो जग्गा दिने । त्यसैले जग्गा जोत्नेको सिद्धान्त ल्यायो । त्यही आधारमा उनीहरू अघि बढे । किसान क्रान्ति भयो । नेपालमा यस्तो गरेकै छैन । किसानको कुरै उठाउँदैनन् । देख्नुभएको छ ? छैन । बीपी कोइरालाको रचनामा बरु जसको जोत उसको पोत भन्ने छ । तर त्यो पढाउँदै पढाउँदैनन् ।

नेकपाको सरकारले विप्लवलाई प्रतिबन्ध किन लगायो ?

ड्याङडुङ गरियो, त्यसैले । कसैले यो भारतले गराएको भन्छन् । कति सत्य हो, हामीलाई थाहा छैन । प्रचण्डहरूको भित्रभित्र त्यही भन्ने छ । उहाँहरूलाई जसरी गरायो, विप्लवलाई पनि त्यसरी नै गरायो भन्ने बुझाइ हुन सक्छ ।

तपाईंले पहिले संघीयताको खुब विरोध गर्नुभयो, अहिले संघीयता कार्यान्वयनमा आइसक्यो । कुन रूपमा देखिरहनुभएको छ ?

हामीले सैद्धान्तिक रूपमा भनेका हौं । विकेन्द्रीकरण र स्वायत्तता दिने हो भने संघीयता आवश्यक छैन । देशको विकटता हेरेर यो भनेका थियौं । त्यो अरूलाई मान्य भएन । त्यसपछि संघीयता आयो । अब यसलाई कसरी जोगाउने ? कसरी यसबाट बहुमत जनताको हित गर्ने ? त्यतातिर हामीले ध्यान दियौं । विरोधमात्रै गरेर के गर्ने ? अहिले राजधानीसमेत तोक्न सकेनन्।

कसरी जोगाउने त ?

यसका लागि राजनीतिक संस्कार चाहिन्छ । जातजातिको कुरा गरेर हुँदैन । जातले विभाजन गरिदिन्छ । चेतनाको स्तर नभएका ठाउँमा जातको कुरा गर्दिन्छन् ।

 मुख्यमन्त्रीहरूले नै केन्द्रले हामीलाई अधिकार दिएन भनी गुनासो गरिरहेका छन् नि ?

त्यसैले नेताहरूले जे पायो त्यहीं बोल्न भएन । गाउँ–गाउँमा सिंहदरबार पठाउने भनेपछि सिंहदरबार माग्दैनन् जनताले ? यो त प्रचण्डजीले दिन्छु भनेकै हो नि । दिन्छु भनेपछि माग्दैनन् ? अब व्यवस्थित गर्नुपर्छ । यो–यो अधिकार प्रदेशलाई दिने र यो–यो अधिकार स्थानीय तहलाई दिने भनेर स्पष्ट भन्नुपर्छ ।

राजावादीहरू सल्बलाएको नेताहरू नै बताउन थालेका छन्, खास के हो ?

राजा फर्के पनि अब चल्दैन । जस्तै– अफगानिस्तानमा राजालाई ल्याउन खोजियो, तर उनी अब म बस्दिनँ भनेर फर्के । ठूलो भएपछि केटाकेटीको लुगा लगाउँछु भनेर कहाँ ठीक हुन्छ ? अब सारा पार्टी लागेर पनि नसक्ने अवस्थामा राजाले सक्छन् ?

नेपाली राजनीतिमा तेस्रो शक्ति छ कि छैन, जसले जनताले विश्वास गर्न सकोस् ?

अब तेस्रो शक्ति आउँछ को ? राजा आए पनि त्यस्तै छ । गुण्डैगुण्डा छ । पहिलेकै माफिया, सबै मण्डलेहरू छन् । नयाँ पार्टी जन्मिनलाई र अगाडि बढ्नलाई नेमकिपा नै ४५ वर्ष भयो । अवस्था यही हो । विदेशको पैसाले पार्टी जन्मिए विदेशी प्रभाव आउँछ । त्यसकारण अहिलेकैमा सबैभन्दा राम्रो भनेको जो सत्तामा छन्, जो ठूलाठूला एवं मुख्य पार्टी छन्, तिनीहरू नै नैतिक रूपले आउनुपर्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.