कति घट्ला नेप्से
काठमाडौं : गएको वैशाख–जेठमा करिब एक महिनाको व्यापारमा ‘ट्रिपल टप’ आकृति बनाएपछि ओरालो लाग्न थालेको सेयर बजार अहिले पनि वियरिस (घट्दो) प्रवृत्तिमै छ। पछिल्ला दुई सातामा ४८ अंक घटेपछि सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)को सूचकांक साढे १० अंक बढेर ११३५.५६ अंक पुगेको छ। यसअघि अर्थमन्त्री डा. युवराज खतिवडाको एउटा भाषणमा आधारित भएर दुई दिनमा ५० अंक बढेको सेयर बजार सूचक ११७३ अंकमा पुगेर झरेको थियो। सोमबार बजार सुरु भएदेखि ओरालो लागेर ११२१ अंकमा पुगेपछि बाटो मोडिएको थियो। अघिल्लोपटक ११२३ अंकबाट बढेको नेप्से अहिले त्यही स्तरबाट पुनः फर्किएको छ।
पछिल्लो ‘बाउन्स ब्याक’ ले नेप्सेको रेखाचित्रमा दुईवटा न्यूनतम् विन्दु रहेको ‘डबल बटम’ आकृति बन्नसक्ने सम्भावना देखाएको छ। यस्तो आकृति पूरा हुन नेप्से ११९५ अंकमा पुग्नुपर्ने हुन्छ। उक्त आकृति पूरा भएर नेप्से बढ्न थाल्यो भने नेप्से १२८४ अंकसम्म बढ्न सक्ने रेखाचित्र विश्लेषणले देखाउँछ। यदि ११७० अंकको स्तरबाट पुनः घटेर नेप्से ११२० भन्दा तल झरेमा चाहिँ त्यसको उल्टो ‘डबल बटम’ आकृति तयार हुन्छ। यस्तो आकृतिले नेप्से अझै ओरालो लाग्ने संकेत गर्छ।
सेयर बजारको प्राविधिक विश्लेषण गर्ने अर्को औजार पिभोटले नेप्से ९६१ अंकसम्म झर्नसक्ने संकेत गरेको छ। पछिल्लो एक वर्षको नेप्सेको पिभोट विश्लेषणले यस्तो देखाएको हो। उक्त विश्लेषणले एक हजार ४३ अंकमा पहिलो र ९६१ अंकमा दोस्रो टेवा पाउने देखाएको छ। पछिल्लो उच्च अंक (१७०९)लाई आधार मानेर गरिएको विश्लेषणले नेप्से ९१४ अंकसम्म झर्नसक्ने देखिन्छ। नेप्सेको हालसम्मकै उच्च अंक (१८८१) लाई आधार मान्दा चाहिँ ८५६ अंकसम्म झर्ने देखिन्छ।
पिभोटलाई सेयर बजारको विश्वसनीय प्राविधिक औजार मानिन्छ। तर, यसले मूलतः कम्पनी विशेषको मूल्य उतारचढावलाई चित्रित गर्ने भएकाले समष्टिगत बजारको विश्लेषण गर्दा शतप्रतिशत मिल्छ भन्ने चाहिँ हुँदैन। यही विश्लेषणले नेप्से अहिलेको अवस्थाबाट बढ्दै गए ११ सय ८० देखि १३ सय ७० अंकसम्म पुग्नसक्ने देखाएको छ। पछिल्लो एक वर्षको रेखाचित्र विश्लेषणले चाहिँ परिसूचक ११ सय अंकबाट तल जान मुस्किल पर्नसक्ने देखाउँछ।
सेयर ब्रोकरले लगानीकर्तामा चार्डपर्वको माहोल जम्न थालेकाले बजारप्रति कमैमात्र ध्यान दिन थालेको बताउँछन्। ‘दसैंलगत्तै असोज मसान्तको दबाब पर्ने र दसैं मनाउन पनि पैसा चाहिने अवस्था छ’, ती ब्रोकर भन्छन्, ‘त्यसले गर्दा बजारमा बिक्री चाप बढेको छ।’ यसले सेयर बजारले बाटो बदल्ने सम्भावना कमजोर रहेको उनले बताए।
सँगसँगै पछिल्लो समय नेपाली वित्तीय बजारमा लगानीयोग्य पैसा अभाव चर्किंदै गएको छ। यस्तो बेला सेयर बजार उकालो लाग्ने सम्भावना कम हुने सेयर विश्लेषक प्रकाश तिवारी बताउँछन्। पुँजी वृद्धिका कारण कम्पनीको लाभांश घट्ने अवस्था आएको बेला लगानी गर्ने पैसाको अभाव भएपछि लगानीकर्ता सेयर बेचेर बाहिरिने मनस्थितिमा छन्। यस्तो अवस्थामा सेयर बजार आंशिक रूपमा ५०–१०० अंक घटबढ भए पनि समग्र बजार अझै घट्न सक्ने उनी बताउँछन्। घट्दो बजारमा लगानीकर्ता हतोत्साही हुने अवस्था आउन नदिन नियामक निकायदेखि सरोकारवासम्मले विचार गर्नुपर्ने उनले बताए।