‘राजनीतिक मायाजाल’को पीडा

‘राजनीतिक मायाजाल’को पीडा

लोकतन्त्रमा मतदाता सर्वशक्तिमान हुन्छन् तर तिनले आफूलाई राजनीतिक मायाजालबाट मुक्त गर्न सकेनन् भने नेपालमा विकास, सम्बृद्धि र स्थिरता असम्भव हुनेछ


गत साता प्रदेश नं २ को सिरहाबाट फर्किएँ। त्यहाँका केही स्थानीयले पीडा पोख्दै भने, ‘हामी प्रदेश र केन्द्र सरकार दुवैको भ्रष्टाचार र दलीयकरणको मारमा परेका छौं। प्रशासन र स्थानीय निकायहरू यति भ्रष्ट छन् कि कुरै नगरे हुन्छ। त्यसमा पनि दलको कार्यकर्ताको सहयोग नभए तपाईंलाई बाँच्न पनि मुस्किल छ।’ उनको त्यो टिप्पणीले मलाई केही महिनाअघि सुदूरपश्चिम प्रदेशको दार्चुलामा आयोजित एउटा कार्यक्रममा एकजना सहभागीले पोखेको अर्को पीडाको याद दिलायो।

उनले भनेका थिए, ‘हेर्नोस्, हाम्रो क्षेत्र यस्तो भइसक्यो, यहाँ कांग्रेसले व्यवस्थापन गरेको बनमा कम्युनिस्ट घाँसदाउरा गर्न जाँदैनन्, कम्युनिस्टले व्यवस्थापन गरेको बनमा कांग्रेस घाँसदाउरा गर्न जाँदैनन्। कांग्रेसको घरमा कम्युनिस्ट मलामी जाँदैनन्, कम्युनिस्टको घरमा कांग्रेस मलामी जाँदैनन्। कांग्रेस र कम्युनिस्ट परिवारको बीचमा बिहेवारी चल्दैन।’

माथि उल्लिखित दुई टिप्पणी प्रदेश नं २ वा सुदूरपश्चिमको मात्र कथा होइन। त्यही नै रूपमा नभए पनि, त्यस्तै कथा विभिन्न स्वरूपमा सुदूरपूर्व, सुदूरउत्तर, सुदूरदक्षिण अनि मध्य काठमाडौंमा पनि प्रतिध्वनित हुने गर्छ। काठमाडौं क्षेत्र नं एकबाट गत संघीय निर्वाचन लड्दाका मेरा दुई अनुभव कम विडम्बनापूर्ण छैनन्।

काठमाडौं डिल्लीबजारस्थित घट्टेकुलाको बस्ती मूलतः हाम्रो पुस्ताले निर्माण गरेको हो। त्यहाँभित्र केही यस्ता गल्ली रहेछन् जहाँ मोटरसाइकल पनि पस्दैन। समयको यो कालखण्डमा आएर राजधानीको लगभग केन्द्रमा त्यस्तो गल्ली निर्माण गर्नुले हाम्रो विकासको विडम्बनालाई छर्लंग पार्छ। मोटरसाइकल नै नपस्ने त्यो गल्लीमा साँझ परेपछि किशोरकिशोरी हिँड्न सुरक्षित नहुनु स्वाभाविक हो। त्यहाँ आपतकालीन परिस्थितिमा एम्बुलेन्स र फायर ब्रिगेड जान सक्दैन। त्यस्तो साँघुरो गल्लीको दुवैतर्फ पिलरमा बनेका घरको लहर छ। ती घरको छेउमा तीभन्दा अल्का अरू घर छन्। कयौं घरमा नयाँ शिशु जन्मिए भने घाममा राखेर तेल लागाउने ठाउँ छैन। तर तीमध्येको एउटा घरका मालिकले हामीलाई भने, ‘मलाई तपाईंहरू नै मन पर्छ, तपाईंहरूको पार्टीले राम्रो गर्ला जस्तो पनि लाग्छ, ‘फलानो उम्मेदवार’ त मलाई मनै पर्दैन तर हामी त पूरै परिवार नै सधैं उहाँको पार्टीको समर्थक, त्यसैले उम्मेदवार मन नपरे पनि भोट त त्यही पार्टीलाई नै हाल्नुपर्छ।’

एकदिन हामी घरदैलोको क्रममा काठमाडौंको बानेश्वरस्थित एउटा बाटोमा पुग्यौं, जहाँ डुङडुङ धुलो उडिरहेको थियो। फुटपाथबिनाको त्यो बाटोसँगै जोडिएको एउटा घर थियो। भुईंतलामा दुईवटा पसल थिए र पहिलो तलाको एउटा कोठामा एकजना युवा, उनकी श्रीमती र उनीहरूका तीन महिनाको एकजना छोरा बस्दथे। सँगैको कोठामा ती युवाका बूढा बुवाआमा बस्दथे। मैले ‘कति भयो यो बाटोमा यसरी डुङडुङ धुलो उड्ने गरेको ? ’ भनेर ती युवालाई सोधें। उनले भने, ‘धेरै भयो, ५÷६ वर्ष भइसक्यो।’ त्यसको अर्थ, उनकी श्रीमती गर्भवती हुँदा उनले चौबीसै घन्टा धुलो खाइन्, उनीहरूका तीन महिनाको छोराले जन्मेदेखि धुलो खाएको छ र उनीहरूका बूढा बुवाआमाले त्यो उमेरमा रातदिन धुलै खाएर बसेका छन्। तर पनि ती युवाले हामीलाई भने, ‘तपाईंहरू राम्रो मान्छे हो, तपाईंहरू जस्ता मान्छे राजनीतिमा आउनुपथ्र्यो, ठूलो आँट गर्नुभयो, राम्रो भयो तर हामी त जमानादेखि ‘फलानो पार्टी’ को मतदाता, तपाईंहरूलाई के ढाँट्नु, भोट त त्यही पार्टीलाई दिनुपर्छ।’

गत निर्वाचन लड्दादेखि नै मैले एउटा भनाइ निरन्तर दोहोर्‍याउँदै आएको छु– लोकतन्त्रमा मतदाताको मन र मत नबदलिएसम्म देश बदलिँदैन। किनभने, अधिनायकवादमा अधिनायक सर्वशक्तिमान हुन्छन् र अन्तत्वोगत्वा उनलाई जनताले नै ढाल्ने भए पनि त्यो बडो कठिन कार्य हुन्छ। तर लोकतन्त्रमा जनता सर्वशक्तिमान हुन्छन् र जनताले चाहेअनुरूपको परिवर्तन लोकतन्त्रको सबैभन्दा ठूलो शक्ति र विशेषता हो।

नेपाली समाज गहिरोसँग ‘राजनीतिक मायाजाल’ मा फसेको छ। त्यसका लागि राजनीतिमा आएको विकृतिदेखि हाम्रो गरिबी, अशिक्षा र इमानमा आएको क्षयीकरण सबै जिम्मेवार छ। जहाँजहाँ राजनीति नहुनुपर्ने थियो, ती सबै ठाउँमा राजनीति भयो र जहाँजहाँ राजनीति हुनुपर्ने थियो, त्यहाँ राजनीति भएन।

त्यसोभन्दा कतिपय टिप्पणीकारहरूले ‘आफू गर्न नसक्ने, मतदातालाई दोष दिने ? ’ अथवा ‘मतदातालाई दोष दिएर कहिल्यै राजनीति सफल हुन सक्दैन’ नभनेका होइनन्। मेरो तर्क के छ भने, देशको ‘राजनीति’ को चाहिँ दिनदिनै सर्वत्र विश्लेषण गर्ने तर राजनीतिको चरित्र नै बदलिदिन सक्ने अद्वितीय क्षमताका धनी ‘मतदाता’ को चरित्रका बारेमा चाहिँ विश्लेषण गर्नै नहुने माहोल निर्माण गर्यौं भने त्यो समाज रूपान्तरणका लागि प्रत्युत्पादक हुन्छ। केही समयअघि समग्र नेपाली राजनीति र विद्वत समाजका एकजना परिचित व्यक्तित्व कांग्रेस नेता प्रदीप गिरीले भने, ‘देश परिवर्तन गर्ने बेलामा लाखौंको संख्यामा तपाईंहरू सडकमा निस्कने अनि भोट दिने बेलामा चाहिँ जसले सबैभन्दा बढी खर्च गर्छ, जो सबैभन्दा बढी चोर छ, त्यसैलाई जिताउने ? अब सोच्नुपर्छ।’ गिरीको र मेरो टिप्पणीका शब्दविन्यास फरक भए पनि भाव उही थियो।

हामीले राजनीतिक शुद्धीकरणको महŒवाकांक्षा राख्दै गर्दा समाजको त्यो जकडिएको सोचमा परिवर्तन ल्याउन सकेनौं भने कुनै पनि हालतमा यो देशको राजनीति सुध्रिन सक्दैन। हो, परिवर्तनका लागि विश्वासिलो विकल्पको आवश्यकता पर्छ। विकल्प दिन्छु भन्नेहरूले विश्वास जित्न पनि सक्नुपर्छ। तर हामीले नेपाली राजनीतिका चुनावी परिणाम हेर्र्यौं भने विश्वासिलो विकल्प हुँदा पनि महाभ्रष्ट र असक्षमहरूलाई चुनावमा बारम्बार जिताएका प्रशस्तै उदाहरण छन्।

एउटा सार्वजनिक कार्यक्रममा इमानका लागि अतुलनीय सम्मान कमाएकी पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले दिक्क मान्दै भनिन्, ‘म आजकल किंकर्तव्यविमूढ छु। के बोल्ने, के नबोल्ने ? मलाई अचम्म लागिरहेको छ। रघुकुल रीत सदा चली आयो भन्ने हाम्रो भनाइ छ। हिजोको सरकार पनि त्यही, आजको सरकार पनि त्यही। जनताले भोट दिन्छन्, आश गर्छन्, फेरि त्यही छ।’ त्यसैगरी डा. गोविन्द केसीसँगै स्वास्थ्य क्षेत्र र चिकित्सा शिक्षा सुधारको अभियानमा निरन्तररूपमा लागिपरेका डा. जीवन क्षेत्रीले एउटा आलेखमा आफ्नो पीडा यसरी पोखे–‘वर्ष बिते। दशक बिते। चुनाव आयो। मताधिकारको नाममा बुथमा गएर तिनै पीडकलाई भोट हाल्यौं। त्यसपछि जे हुनुपथ्र्यो, अहिले त्यही भइरहेको छ।’

अमेरिकाको न्युयोर्कमा डेमोक्य्राटिक पार्टीको एउटा चुनावमा २० वर्षदेखि बलियो पकड जमाएर बसेका एकजना नेतालाई २८ वर्षीया अलेक्जान्ड्रिया अकासियो कोर्टेजले ‘देश बदलिने हो भने, हामी बदलिनुपर्छ’ भन्ने नारा दिँदै हराइ दिइन्। ‘देश बदल्न हामी बदलिनुपर्छ’ भन्ने संकेत नेपालमा गत निर्वाचनमा थोरै देखियो तर खासै देखिएन। इमानको खडेरी परेको देशमा इमानकी प्रतीक पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाअभियोग लगाउने नेपाली कांग्रेसका कयौं भ्रष्ट नेताहरूलाई हामीले मजाले चुनाव जिताइदियौं। डा. गोविन्द केसीको पक्षमा सडक र सामाजिक सञ्जालमा चर्का नारा लगायौं तर उनको अस्तित्व नै मेट्न खोज्ने पूर्व एमालेलाई काठमाडौंलगायत देशभरका सहर, बजार, गाउँमा हामीले अत्यधिक मत दियौं। तसर्थ, देशको अवस्थाका लागि ओली, प्रचण्ड, देउवा, तिनी वरिपरिका नेता र तिनका पार्टीमात्र जिम्मेवार छन्, मतदाता जिम्मेवार छैनन्, मतदाताको जिम्मेवारीको चर्चै गर्न हुँदैन भन्नु र चर्चा गरिहाल्यो भने ‘मतदातालाई दोष दिने ? ’ भनेर ठाडो टिप्पणी गर्नु ‍गलत हुन्छ।

वास्तविकता के हो भने नेपाली समाज गहिरोसँग ‘राजनीतिक मायाजाल’ मा फसेको छ। त्यसका लागि राजनीतिमा आएको विकृतिदेखि हाम्रो गरिबी, अशिक्षा र इमानमा आएको क्षयीकरण सबै जिम्मेवार छ। जहाँजहाँ राजनीति नहुनुपर्ने थियो, ती सबै ठाउँमा राजनीति भयो र जहाँजहाँ राजनीति हुनुपर्ने थियो, त्यहाँ राजनीति भएन। राजनीति हुनुपर्ने संसद् धेरैजसो खालि रह्यो अनि संसद्बाट बाहिरिएको राजनीति नेताको घर हुँदै स्कुल, कलेज, विश्वविद्यालय, अस्पताल, सरकारी कार्यालय, व्यापार–व्यवसाय, सञ्चार गृह, खेलकुद, सामाजिक संघसंस्था, घरका कोठाचोटा, बैठक कक्षमा प्रवेश गर्‍यो। सुरुमा नेताहरूले आफ्नो स्वार्थपूर्तिका लागि प्रवेश नहुनुपर्ने ठाउँमा राजनीतिलाई प्रवेश गराए र प्रत्यक्ष–अप्रत्यक्षरूपमा अनेकौं प्रलोभन देखाएर सर्वसाधारणलाई राजनीतिक मायाजालमा फसाए। तर त्यो मायाजालभित्र पार्टी र राजनीतिकर्मीहरूसँगको निकटतामा निहित लाभको स्वाद चाख्न थालेपछि नागरिकको ठूलो पंक्ति पनि त्यसैमा रमाउन थाल्यो। त्यो एउटा यस्तो दुष्चक्र बन्यो जहाँ रहँदा अधिकांशले केही न केही सुरक्षा र केही न केही फाइदा पाइ नै रहे। जनताको ठूलो हिस्सा ‘स्वतन्त्र’ नभएर ‘पार्टीभक्त’ नागरिक भइदि‍यो, व्यक्तिले पायो, देशले गुमायो। देशले गुमाएपछि व्यक्तिगत प्राप्तिको दीर्घकालीन अर्थ हुँदैन। तर मायाजाल यस्तो बन्धन हो जसमा परेको बेला व्यक्ति मस्त भ्रममा बाँचेको हुन्छ र उसले दीर्घकालीन परिणामका बारे सोच्नै सक्दैन। मायाजालबाट बाहिर निस्कँदा ढिलो भइसकेको हुनसक्छ।

समग्र नेपाली मतदाताको अवस्थालाई व्याख्या गर्न आजभोलि मैले एउटा मनोवैज्ञानिक शब्दावली पनि प्रयोग गर्ने गरेको छु। ‘स्टकहोम सिन्ड्रोम’ भनिने उक्त अवस्थाका लक्षण सबैभन्दा पहिले सन् १९७३ मा  स्विडेनको राजधानी स्टकहोममा एउटा बैंक लुटिँदा अपहरण गरिएका व्यक्तिहरूमा पहिचान गरिएको थियो। सो समस्याबाट पीडित अपहृत व्यक्तिहरू, अपहरणकारीबाट प्रताडित भए पनि अपहरणकारीसँगै भावनात्मक सम्बन्धमा यसरी बाँधिन्छन् कि त्यसबाट उनीहरू अलग हुनै सक्दैनन्। पुराना प्रमुख राजनीतिक दलहरूले नेपाली समाजमा स्टकहोम सिन्ड्रोम विकास गरिदिएका छन्। परिणामस्वरूप, समग्रमा नेपाली मतदाताहरू आफूमात्र होइन आफ्ना साना, निर्दोष छोराछोरीलाई हर दिन विषादीयुक्त तरकारी सेवन गर्न वाध्य पार्छन्, छोराछोरीलाई गुणस्तरहीन स्कुल पठाउँछन्, गुणस्तरहीन अस्पताल जान्छन्, घरखेत बेचेर उपचार गर्छन्, नराम्रो बाटोघाटोमा हिँड्छन्, परिवारको आयस्तर न्यून राख्छन्, सबै दुःख सहेर ‘चप्पल लगाउँदै काठमाडौँ पसेका’ र कुनै उद्यम र आम्दानीबिना विदेश घुम्ने र उपचार गर्ने नेताहरूलाई निरन्तर भोट हाल्छन्। जसले जीवनभर आफू, परिवार र देशलाई पीडा दिए तिनैलाई सय केजीको माला लगाइदिन्छन्।

थाहै नपाइ स्टकहोम सिन्ड्रोमबाट पीडित भएको अथवा राजनीतिक मायाजालको पीडामा बाँचेको हाम्रो समाजले समाजको अत्यधिक राजनीतीकरणका कारण आफ्नो र आफ्नो परिवार अनि सिंगो देशको जीवनमा परेको असरका सम्बन्धमा सही मूल्यांकन गर्नै सकेको छैन। नेतासँगको निकटताका कारण आफैंले कुनै उच्च पद पाउँदा, आफ्ना छोराछोरी या आफन्तलाई जागिर लगाउँदा, कुनै व्यापार÷व्यवसायमा असाधारण प्रगति हुँदा, अकुत सम्पत्ति कमाउँदा अथवा स्थानीय स्तरमा ‘म फलानो पार्टीको फलानो समितिको फलानो’ भनेर खुसीपूर्ण परिचय दिँदा हामी त्यसलाई उपलब्धि र सफलता ठान्दछौं। म २० वर्षदेखि ‘फलानो’ पार्टीको मतदाता भन्दा हामी गर्व गर्छौं। अनि त्यही पार्टीका तिनै नेताले भ्रष्टाचार गर्दा अथवा सहरबजारको बेहाल बनाउँदा हामी गाली गरेर बस्छौं। पद, पैसा र अन्य लाभको व्यक्तिगत लालसाबाट माथि उठ्न नसक्दा क्षणिकरूपमा हामीले फाइदा हासिल गरेको देखिन्छ तर त्यो क्रममा देशले पद्धति र सुशासन गुमाउँछ। त्यसबाट अन्तत्वोगत्वा आफैं, आफ्नो परिवार र सन्तानलाई अपूरणीय क्षति पुग्छ। नेपाली समाज त्यही क्षतिको सिकार भएको छ, जहाँ निश्चित व्यक्तिहरूले पाइरहेका छन्, देशले गुमाइरहेको छ।

‘विकल्प भन्नेका कुरामात्र ठूला हुन् त्यसैले पुरानै पार्टीलाई भोट हाल्छु, सबै उस्तै छन् म एकजना सज्जन हुन खोजेर केही हुन्न, देश बनाउन म समय पनि दिन्न, खल्तीबाट पैसा पनि झिक्दिन तर यो देशचाहि‍ँ बन्नु पर्‍यो’ भन्ने मानसिकता बोकेर केही बदलिनेवाला छैन। निरन्तरको उही कृयाले फरक परिणाम दिँदैन। त्यसैले हामी बदलिनैपर्छ। हाम्रा सोचाइहरू बदलिएन भने भ्रष्ट, असक्षम र दूरदृष्टिहीनहरूबाट शासित हुनुको अर्को विकल्प छैन। अब हामीले आफूलाई अनावश्यकरूपमा राजनीतिको रङमा डुबाउँदा गर्व होइन, चिन्ता गर्नुपर्छ। नेपाली समाजका लागि श्राप बनिरहेको शिक्षक, प्राध्यापक, कर्मचारी, वकिल, डाक्टर, इन्जिनियर, पत्रकारहरू जस्ता पेसागत भातृ संगठनहरू खारेज गर्नैपर्छ।

हामी जानीनजानी फसिरहेको गहिरो राजनीतिक मायाजालबाट आफूले आफैंलाई मुक्त गर्न सकेनौं भने यो देशको विकास, सम्बृद्धि र स्थिरताका लागि घातक बनिसकेको कांग्रेस र कम्युनिस्टरूपी राजनीतिक दलदलबाट हामी उम्कन सक्ने छैनौं। त्यसका लागि अहिलेदेखि नै प्रयास गर्नुपर्छ, चुनावको मुखैमा एक्कासी त्यो काम सम्भव हुँदैन। अन्त्यमा फेरि एकपल्ट दोहोर्‍याउँ —लोकतन्त्रमा मतदाता सर्वशक्तिमान् हुन्छन्, मतदाताको मन र मत नबदलिएसम्म देश बदलिँदैन। मन र मत बदलिन मतदाता राजनीतिक मायाजालबाट मुक्त हुनैपर्छ। नत्र नेताले सुख पाउने र जनताले दुःख पाउने क्रम जारी रहनेछ।


मिश्र साझा पार्टीका संयोजक हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.