जिरीमा स्ट्रिट फुड फेस्टिवल
दोलखा : स्विटजरल्यान्डको ज्युरिच सहरसँग तुलना गरिएको दोलखाको पर्यटकीय नगरी जिरीमा दसैंलगत्तै जिरी स्ट्रिट फुड फेस्टिवलको आयोजना गरिने भएको छ।
सुस्ताउँदै गएको पर्यटन प्रवद्र्धनका लागि युवा सञ्जाल जिरीको आयोजनामा दसैंलगत्तै ३ दिने स्ट्रिट फुड फेस्टिवल २०१९ को आयोजना गर्न लागिएको हो। जिरीको पर्यटन प्रवद्र्धनका लागि जिरी नगरपालिकाको लिंकन बजारमा कात्तिक १ देखि ३ गतेसम्म फेस्टिवलको आयोजना गर्न लागिएको युवा सञ्जाल जिरीका अध्यक्ष केन्द्रज्योति खड्काले बताए।
नेपाल भ्रमण वर्ष २०२० मा नेपाल आउने विदेशी पर्यटकलाई जिरी भ्रमण गर्न आकर्षित गर्नसमेत फेस्टिवल महŒवपूर्ण सावित हुने अध्यक्ष खड्काको भनाइ छ। फेस्टिवलमा जिरेल, शेर्पा, तामाङ, नेवार, सुनुवार आदि जातिसँग सम्बन्धित शिल्मा, रिल्दुक, ढिँडो, ट्राउट माछाका परिकारलगायत जिरीका अन्य मौलिक खानाका परिकारका स्टल राखिने आयोजकको योजना छ। साथै जिरीमा उत्पादन हुने चिज, छुर्पी, चिया, किवी, आलुलगायत खाद्यबस्तुका स्टल राखिने आयोजकले बताएको छ। फेस्टिवलमा जिरेल शेर्पा, सुनुवारलगायत विभिन्न जाति जनजातिका मौलिक झाँकी प्रदर्शन गरिनेछ।
आन्तरिक र बाह्य गरी फेस्टिवलमार्फत ५ हजारभन्दा बढी पर्यटक भिœयाउने आयोजकको लक्ष्य छ। आन्तरिक तथा बाह्य पर्यटकका लागि जिरी आसपासका पर्यटकीय गन्तव्य अवलोकनका लागि जिप सफारी तथा साइक्लिङको व्यवस्था मिलाइएको अध्यक्ष खड्काले बताए। फेस्टिवल अवधिभर हरेक दिन कलाकारद्वारा साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिने उनले जानकारी दिए। फेस्टिवल आयोजनाका लागि जिरी नगरपालिका, गौरीशंकर संरक्षण क्षेत्र आयोजना, नेपाल पर्यटन बोर्डलगायतले सहयोग गरेको आयोजकले बताएको छ।
विगतमा सगरमाथाको प्रवेशद्वारलगायतको उपनामले परिचित दोलखाको मुख्य पर्यटकीयस्थलमध्ये प्रमुख जिरी दोलखा आउने आन्तरिक पर्यटकको आकर्षणको केन्द्र थियो। तर, सडक सञ्जालको विस्तारसँगै जिरी आउने पर्यटकको संख्यामा कमी आउन थालेपछि जिरी नगरपालिकाले पर्यटन प्रवद्र्धनका लागि वडा–वडामा पार्क बनाउने, नगरलाई स्वच्छ राख्ने तथा पर्यटन प्रवद्र्धन गर्न विभिन्न प्रवद्र्धनात्मक कार्यक्रमको आयोजना गरेको छ।