सागका लागि छानिए कुस्तीका २० खेलाडी
हेटौंडा : १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि कुस्तीतर्फका खेलाडी छनौट भएको छ। हेटौंडास्थित जिल्ला खेलकुद विकास समितिको कभर्डहलमा जारी बन्द प्रशिक्षणमा सहभागी ४० खेलाडीमध्ये सागमा प्रतिस्पर्धा गर्न २० जना छनौट भएका हुन् ।
दोस्रो चरणमा २८ जना खेलाडी छानिएका थिए । तीमध्ये ८ जना बुधबारको अन्तिम छनौटबाट बाहिरिएका छन् । छनौट भएका मध्ये १० जना पुरुष र १० जना महिला रहेका छन् ।
मंसिरमा नेपालमै हुने साग गेमको तयारीका लागि असोज अन्तिम साता भारतका कुस्ती खेलाडीसँग मैत्रीपूर्ण प्रयितोगिता हुने नेपाल कुस्ती संघका अध्यक्ष राज मोहम्मद मिया अन्सारीले बताए ।
त्यसलगत्तै मैत्रीपूर्ण प्रतिस्पर्धाका लागि खेलाडीलाई इरान पठाइने उनले जानकारी दिए । नेपालले चौथो सागदेखि पुरुषतर्फ कुस्ती खेलमा सहभागिता जनाइरहेको छ । १२ औं सागबाट महिलातर्फ पनि कुस्ती खेलमा नेपालले सहभागिता जनाउँदै आएको छ । कुस्ती संघका कोषाध्यक्ष जब्स खानले सागमा कुस्तीतर्फको प्रतियोगिता जनकपुरमा गर्ने तयारी भइरहेको जानकारी दिए ।
१३ औं सागको लागि बन्द प्रशिक्षमा रहेका कुस्तीका खेलाडी छनौट गरिँदै।