नागढुंगा सडक : खाल्डो र धुलो स्थायी शत्रु

नागढुंगा सडक : खाल्डो र धुलो स्थायी शत्रु

काठमाडौं : नागढुंगा–मुग्लिङ सडकखण्डमा तत्काल सवारी जामको सास्ती कम भए पनि जोखिम उस्तै छ। जोखिम सडककै कारण दैनिकजसो उक्त सडकखण्डमा सानातिना दुर्घटना भइरहन्छन्।

नौबिसेबाट उकालो लागेपछि यस्तो समस्या सुरु हुन्छ। यो खण्डमा सडक निकै साँघुरो छ। बस, ट्रक, ट्यांकरलगायत सवारीसाधनको चक्का धसिएर सडकको दायाँ–बायाँ थुपै्र खाल्डा परेका छन्। यिनै खाल्डाका कारण सवारीसाधन चलाउन कठिन भएको छ। खाल्डाखुल्डी र ढिस्कोलाई सन्तुलन मिलाउन नसक्दा सवारीसाधन आपसमा ठोक्किने गर्छन्।

कमजोर सडकले सवारीसाधन बिग्रने समस्या पनि बढेको छ। साँघुरो सडकमा सवारीसाधन बिग्रने समस्याकै कारण घण्टौंसम्म जाम हुँदा यात्रुले समस्या व्यहोरेका थिए। चाडपर्वका बेला सवारी आवागमनमा वृद्धि भएसँगै यस्तो समस्या बढ्ने गरेको छ।

आइतबार सडकको अवस्था अवलोकन गर्न उक्त खण्ड पुग्दा नागढुंगा नजिकै यूपी २२ टी ३८६८ नम्बरको भारतीय प्लेट भएको ट्रक सडकको कुनापट्टि उत्तानो परेको थियो।

प्रहरीका अनुसार ट्रकलाई थानकोटतर्फ उक्लँदै गर्दा एकै दिशाबाट आएको बसले ओभरटेक गर्न खोजेको थियो। सोही बसलाई बाटो छाड्ने क्रममा चालकले ट्रकको गियर परिवर्तन गरे। त्यति नै खेर ट्रकको गति रोकियो र उकालोतर्फ जान सकेन। किनकि बाटोमा खाल्डो र ढिस्को दुवै थियो।

ट्रक पछाडि हट्यो। राम्रोसँग ब्रेक लागेन। तत्कालै चालकले ट्रकको पछिल्लो भागलाई सडकको कुनापट्टि लगे। ट्रक कुनामै ठोक्कियो र उत्तानो पर्‍यो। भारतबाट मिदास ग्रुप प्रालिले ल्याएको इन्भटर बोकेर आएको थियो। ट्रकभित्र रहेको सामान निरीक्षण गरिरहेका गु्रपका कर्मचारी विकास लम्सालले कमजोर सडककै कारण उक्त ट्रक पल्टिएको दाबी गरे।

‘सडक फराकिलो र खाल्डो नभइदिएको भए ट्रक पल्टिनेरहेनछ’, उनले भने, ‘हिजो जामका कारण मान्छे मर्‍यो भनेपछि सबैतर्फ सनसनी मच्चियो र सरकारले पनि सुनेको छ। तर, हामीले व्यहोर्नुपरेको समस्या न सञ्चारमाध्यमको नजरमा पर्छ, न त सरकारको प्राथमिकतामा।’ लम्सालका अनुसार १२ चक्के उक्त ट्रकमा ७० लाख रुपैयाँ बराबरको इन्भर्टर ल्याइएको छ। ट्रक उत्तानो भएपछि पनि घोप्टिएको इन्भर्टरबाट एसिड पोखिएका छन्।

उकालो बाटो यो खण्डको अर्को समस्या हो। नौबिसेसम्म सामान्य गतिमा गुडेर आएका अधिकांश सडक यो उकालोमा आएपछि रोकिन्छन्। बालुवा, गिट्टीलगायत सामग्री बोकेर आएका ट्रकले बाटो पूरै छेकिदिन्छन्। यही ट्रकबाट चुहिएको पानीले सडक बिगार्ने गरेको छ। वातावरण इन्जिनियर निरञ्जन श्रेष्ठ मालवाहक सवारीसाधनका लागि कम्तीमा नौबिसेबाट नागढुंगामा छुट्टै मार्ग बनाउन सकिएमा यस्तो समस्या समाधान गर्न सकिने बताउँछन्। ‘नेपाली योजनाकारका दिमागमा यो कुरा घुस्न नसकेकै कारण यो मार्गका उपभोक्ताले सास्ती भोग्नुपरेको हो’, श्रेष्ठ भन्छन्।

धुलाम्मे सडक

धुलाम्मे सडक यो खण्डको अर्को प्रमुख समस्या हो। यसअघि नागढुंगादेखि कलंकी खण्डमा मात्र धेरै धुलो उड्ने गरेकामा अहिले यो समस्या नौबिसेदेखि नै सुरु हुन्छ। यो ठाउँमा सडक पुनर्निर्माण भइरहेको छ। तर, सकिएको छैन।

पुनर्निर्माण गर्दा र सडककका खाल्डाखुल्डीबाट निस्केको धुलोले यात्रुलाई कुरुप बनाउने गरेको छ। पोखराबाट मोटरसाइकलमा काठमाडौं आएका रामहरि खत्रीले भने, ‘राजधानी नजिकिँदै गर्दा बाटो पनि राम्रो हुनुपर्नेमा यहाँ ठीक उल्टो भएको छ। घरबाट सुकिलो लुका लगाएर आए पनि एक घण्टाको अवधिमा मान्छे नचिनिनेगरी धुलोले छोप्छ।’ महानगरीय प्रभाग नागढुंगाका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले भने, ‘धुलो र खाल्डो त यहाँको स्थायी समस्याजस्तै भएको छ। यो समस्या तत्काल समाधान गर्न पनि सकिँदैन।’ सडकमा गाडी बिग्रेर वा दुर्घटना भएर जाम हुन सक्ने समस्यालाई ध्यानमा राखेर मोटरसाइकल तथा गाडीमा समेत प्रहरी राखेर निगरानी भइरहेको खड्काले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.