महराले दोस्रोपटक किन बुझाए राजीनामा ?
काठमाडौं : सभामुख पदबाट मंगलबार नै राजीनामा दिएका कृष्णबहादुर महराले राजीनामा पत्रको व्यहोरा बदलेर फेरि राजीनामा पेश गरेका छन्।
उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले मंगलबार दिएको राजीनामा पत्र अस्वीकृत गरेपछि महराले केही पदावली परिवर्तन गरी दोस्रोपटक राजीनामा पत्र बुझाएका हुन्।
अघिल्लो दिन महराले दिएको राजीनामा पत्रमा छानबिन प्रक्रिया नसकिँदासम्मका लागि' भनेर शर्त राखिएको थियो तर दोस्रो राजीनामा पत्रमा यो शर्त हटाइएको छ।
संसद् सचिवालयकी एक महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोपपछि महराले 'अनुसन्धान गर्न सहज होस्' भनी पदबाट राजीनामा दिएका हुन्।
शर्त हटाइयो
आफूमाथि बलात्कार आरोप लागेको समाचार बाहिरिएलगत्तै मिडियामा 'कर्मचारी समायोजनको असन्तुष्टिका कारण निराधार आरोप लगाइएको' दाबी महराले गरेका थिए। मंगलबार राजीनामा दिने क्रममा उनले 'अनुसन्धान नसकिँदासम्मका लागि' भनेर शर्त राखेका थिए।
'हिजोदेखि विभिन्न सञ्चार माध्यममा मेरो चरित्रमा गम्भीर प्रश्न उठाई लगाइएको आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानबिनका लागि अनुसन्धान गर्न सहज होस् भनी नैतिकताका आधारमा आजकै मितिदेखि छानबिन प्रक्रिया नसकिँदासम्मका लागि राजीनामा दिएको छु', मंगलबार महराको निजी सचिवालयले सार्वजनिक गरेको राजीनामा पत्रमा भनिएको थियो।
बुधबार बुझाएको राजीनामा पत्रमा महराले शर्त हटाएका छन्। कतिपय कानुनविद् तथा विश्लेषकले महराले शर्त राख्नु गैरकानुनी भएको बताएका थिए। पढ्नुस्: राजीनामा पत्रमा महराले किन राखे शर्त ?
मंगलबारको राजीनामा पत्र उपसभामुख तुम्बाहाङ्फेले अस्वीकृत गरेपछि महराले मंगलबारकै मिति राखेर बुधबार अर्को राजीनामा पत्र बुझाएका थिए। संसद् सचिवालयले बुधबार टाँसेको सूचनाले महराले भाषा बदलेको पुष्टि गर्छ।
'उपसभामुखको आदेशअनुसार' भन्दै संघीय संसद् प्रतिनिधिसभा सचिवालय सचिव डा. भरतमणि गौतमले सूचना प्रकाशन गरेका हुन्। यो पनि पढ्नुस्ः २४ घण्टामा 'रोशनी' को यू-टर्न : छानबिन होला कि फिस्स ?
हेर्नुस् संसद् सचिवालयको सूचना