पर्यटककै भरमा पढाइ

पर्यटककै भरमा पढाइ

माथिल्लो डोल्पा : पेमा याङ्कीले डोल्पोबुद्ध गाउँपालिकास्थित क्रिस्टल माउन्टेनबाट ८ कक्षा पास गरिन्। यहाँ त्योभन्दा माथि पढाइ हुँदैन। उनी फ्रान्सेली संस्थाको सहयोगमा काठमाडौं गएर ९ कक्षामा भर्ना भइन्। अहिले उनी निजी स्कुलमा निःशुल्क पढिरहेकी छन्। यही स्कुलका दावा, फुर्वा, पेमा छेवाङलगायत काठमाडौंकै बाबा बोर्डिङमा पढ्छन्।

‘विदेशीले सहयोग नगरेको भए विद्यालय शिक्षा पूरा गर्ने हाम्रो सपना अधुरै हुन्थ्यो’, डोल्पोबुद्ध–१ का वडाध्यक्ष ग्याल्पो थापा (भोटे) भन्छन्, ‘सरकारी उपस्थिति नहुँदा दुर्गममा आएर हाम्रो पढाइको जिम्मा विदेशीले लिनुपरेको छ।’

गाउँ पुग्न सदरमुकाम दुनैबाट तीन दिन हिँड्नुपर्छ। ८ कक्षा पूरा गरेपछि काठमाडौं जाने अवस्था नभइदिएको भए सबै विद्यार्थी दुनै बजार गए कक्षा ९ मा पढ्न बाध्य हुन्थे। ‘तर, दुनै गएर पढ्ने हैसियत यो गाउँका कसैसँग छैन’, वडाध्यक्ष थापा भन्छन्, ‘पहिलो कुरा त पढ्नुपर्छ भन्ने चेतना फैलाउनै कठिन हुन्छ। त्यसमाथि गाउँमा स्कुल छैन भने तीन दिन हिँडेर कसले पढ्ने ? ’

माथिल्लो डोल्पामा तीनवटा गाउँपालिका छन्। तीनै स्थानीय तहको एक मात्र सरकारी मावि हो, तापरिचा। शे फोक्सुन्डो गाउँपालिकाको यो स्कुल स्विस र अमेरिकी संस्थाको सहयोगमा चलिरहेको छ। ती संस्थाले वार्षिक ७० लाख रुपैयाँ खर्च गरिरहेको डोल्पा सामाजिक सहयोगका लागि तापरिचाका प्रोजेक्ट कोअर्डिनेटर सेम्दुक लामा बताउँछन्। यही संस्थामार्फत तापरिचा स्कुलमा विदेशीले लगानी गरिरहेका छन्।

यहाँ सरकारी दरबन्दीका १० शिक्षक छन्। पाँच जना निजी स्रोतका छन्। विदेशीले दिएको पैसाबाट शिक्षक र विद्यार्थीलाई आवासीय सुविधा मिलाइएको छ। विद्यालय भवन निर्माणदेखि विद्यार्थीको पौष्टिक आहार, पोसाक, स्टेसनरी, साबुन, टुथब्रस, औषधि सबै खर्चको प्रबन्ध गरिएको लामा सुनाउँछन्।

माथिल्लो डोल्पाका अधिकांश सरकारी विद्यालयमा कुनै न कुनै रूपमा विदेशीले सहयोग गरिरहेका छन्। पर्यटकले यो क्षेत्रमा शिक्षाको अभाव देखेपछि विद्यालय खोल्न स्थानीयलाई हौस्याएका थिए। क्रिस्टल पनि २५ वर्षअघि विदेशीकै सहयोगमा खुलेको थियो। सरकारी दरबन्दीका पाँच तथा विदेशीले दिएको पैसाबाट सात शिक्षक राखेर यो स्कुलको पढाइ चलिरहेको छ। काठमाडौंमा रहेका विद्यार्थीको होस्टल र पढाइ शुल्क पनि विदेशीले भिजन डोल्पामार्फत तिरिरहेका छन्।

भिजेरास्थित मुकपोराङ विद्यालयमा स्विस नागरिक तथा संस्थाको सहयोग छ। भवन निर्माण, शैक्षिक सामग्री वितरण र शिक्षक, कर्मचारीको तलब भत्तामा उनीहरूको सहयोग छ। तिन्जेको कुला माउन्टेन स्कुलमा पनि स्विस र जर्मनीबाट सहयोग छ। साल्दाङको सेलरी डुक्ट्रा, छार्काको छार्का भोट प्रावि, सिमेनको सिमेन प्रावि, कोमास प्राविमा पनि विदेशी सहयोग छ।

संयोजक लामाका अनुसार दर्जन स्कुल विदेशीका भरमा चलिरहेका छन्। उनीहरूले वार्षिक १–२ लाख रुपैयाँदेखि करोडसम्म प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गरिरहेका छन्। क्रिस्टलबाट अवकाश पाएका शिक्षक केदारविनोद पाण्डेका अनुसार विदेशीकै अगुवाइमा धेरै दुर्गम ठाउँमा स्कुल खुलेका छन्। ‘विदेशीले सहयोग नगरेको भए माथिल्लो डोल्पाका अधिकांश नागरिक निरक्षरै हुन्थे’, उनी भन्छन्, ‘यहाँको शिक्षालाई यो स्थानमा ल्याउन विदेशीको सहयोग अमूल्य छ।’ बिस्तारै उनीहरूले हात झिक्न थालेकाले समस्या भएको स्थानीयको गुनासो छ।

‘विदेशीले स्कुल खोलिदियौं, अब तपाईंहरू आफैं चलाउनू भन्न थालेका छन्। लगानी पनि घटिरहेको छ’, छार्का ताङसोङ गाउँपालिकाका छेवाङ भोटे भन्छन्। डोल्पोबुद्ध–१ का वडाध्यक्ष थापाका अनुसार अधिकांश स्कुलमा सहयोग घटिरहेको छ। सरकारले चासो नदिने र विदेशीले पनि सहयोग रोक्ने हो भने स्तरीय शिक्षाको सपना अधुरै रहने उनी बताउँछन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.