पपुलिजम राजको प्रभाव
राजनीतिक दल र नेताले इमानदार नागरिकलाई धोका दिँदा नागरिकमा पनि पपुलिजम दृष्टिकोण बलियो हुँदै गएको छ।
विश्व जनमत पपुलिजम अर्थात्, ‘लोकरिझाइँवाद’ उन्मुख छ। विश्वभर माग बढ्दो छ, ‘बलियो नेतृत्व’। पछिल्लो दशक विश्वभर लहर चलेको छ। सन् २०१६ मा बेलायतमा ब्रेक्जिट जनमतसंग्रह र अमेरिकामा डोनाल्ड ट्रम्पको उदयसँगै पपुजिलमको चर्चा ह्वात्तै बढेको हो। यद्यपि यसलाई अधिकतम उपयोग गरेको भने रसिया, टर्की र चेकको नेतृत्वले हो। हुन त, १८९० मा नै पपुलिजम शब्दको प्रयोग भएको पाइन्छ। अमेरिकाको तत्कालीन आन्दोलनको नाम पपुलिस्ट आन्दोलनमा थियो। रसियाको १९ औं शताब्दीको नारोडनिकेसेस्टो आन्दोलनलाई बुझाउन पनि यो शब्द प्रयोग भएको थियो। यसको व्यापकता सन् १९५० देखि हुन थालेको हो।
राजनीतिक दल र नेताले सामान्य र इमानदार नागरिकलाई धोका दिएकै कारण यसमा चासो बढेको हो। अनि नागरिकमा पपुजिलम दृष्टिकोण बलियो हुँदै गएको हो। दललाई होइन पपुलिस्ट नेतालाई नागरिकले मत दिइरहेका छन्। मूलधारका वामपन्थी र दक्षिणपन्थी शक्तिहरूबीच विचारधारात्मक एकता भएमा पपुलिजम हुर्किने वातावरण बन्नेछ। र, धेरै मतदातालाई सबै मूलधारका दलहरू एउटै किसिमका हुन् भन्ने सन्देश जानेछ।
समाज जति धेरै व्यक्तिवादी हुन्छ, मतदाता त्यति स्वतन्त्र र खुला हुन्छन्। यसले निर्वाचनमा अस्थिरता निम्त्याउँछ। पपुलिस्टहरूले यो शब्दलाई ‘क्यास’ गर्दै आफूलाई त्यसमा ढाले। बेलायती पत्रिका दी गार्डियनले यो विषयलाई बढी स्थान दिएपछि उनीहरू त्यसमा आकर्षित भएको अध्ययनले देखाएको छ। युरोपका केही साना मुलुकमा देखिएका पपुलिजमले विगत दुई दशकमा तीन गुणा मुलुकमा नेतृत्वको जरा गाडिसक्यो। युरोपका ११ मुलुकमा पपुलिस्ट नेतृत्वकै सरकार छन् भने कैयन् मुलुक त्यसतर्फ उन्मुख। यो लहर कसरी भन्नेमा सबै अनुत्तरित। प्राज्ञिक अध्ययनहरूले विश्वमा यसको ग्राफ बढ्दै गएकोे देखाएका छन्। विश्वमा यतिबेला अति राष्ट्रवाद चुलिँदा पपुलिस्टहरूले मुन्टो उठाउने र मौकाको फाइदा लिन पाएका हुन्। बलियो नेतृत्व विश्वको माग झैं बन्न पुगेको छ। यसको सन्देश हो– विश्व बलियो दलभन्दा बलियो व्यक्तितर्फ उन्मुख छ। जनताको विश्वास त्यता ढल्केको छ। त्यो ढल्काइबाट नेपाल पनि बाहिर रहन सकेको छैन।
लोकतान्त्रिक प्रणाली पछ्याएका दलहरूभन्दा जनता व्यक्तिको पछि लाग्ने अवस्था आएको छ। सामूहिक भाव बिथोलिँदा मुलुकको अवस्था कुन चरणमा पुग्दै छ, त्यो यथार्थ जनताले विश्लेषण गर्ने हो। जे–जे कारण जेल परे पनि लोकतन्त्रका लागि भनिदिने र विगत जे भए पनि क्षणिक राष्ट्रवादको उट्पट्याङ गाथा गाइदिने जनताले त्यही पत्याउने अवस्था छ। इतिहास अलिकति पनि नहेर्ने हाम्रो समाज झन् जटिलतातर्फ उन्मुख हुँदै छ। पपुलिस्ट नेतृत्व यही भ्रम छर्न माहिर हुन्छन्। हुन त, यस्ता विषयमा जनताको मोह भंग नहुँदासम्म विश्व यस्तै चपेटामा पर्ने निष्कर्ष विद्वान्हरूको छ।
प्रणाली र व्यक्ति फरक हुन् भन्ने विषय जनताले बुझ्न ढिलाइ गर्दा मुलुक भड्खारोमा पुगेको र अधिनायकवाद मौलाएको विगत छन्। सबै विषय राष्ट्रवादसँग लगेर जोड्दा मुलुकको अस्तित्व मक्किँदै गएका विगत बुझ्न धेरै टाढा जानु पर्दैन। ५० वर्षअघिको छिमेक स्मरण गरे पुग्छ। अनि, सात दशकयताको नेपालमा भएका घटनाक्रम नियाले हुन्छ। पुरानो र अनुभवी नेतृत्वले सम्हालेर यहाँसम्म आइपुगेको यो पुरानो मुलुक मक्काउन अतिराष्ट्रवाद र पछिल्ला ढल्काइहरू काफी छन्।
के हो पपुलिजम ?
कुनै राजनीतिक शब्दभण्डार पल्टाउँदा ‘पपुलिजम’ का कुनै परिभाषा भेट्न सकिन्न। यसले सबै पपुलिस्टलाई वर्णन गर्न पनि सक्दैन। विश्वव्यापी लोकतान्त्रिक लहरमा ‘पपुलिजम’ वालाहरूको हावी हुँदै छ। कुनै व्यक्तित्वको प्रभावमा दुई धारको बीचबाट आउने नेतृत्व नै पपुलिस्ट नेतृत्व हो। उदाहरणका लागि भारतको पछिल्लो आमनिर्वाचन। भारतीय जनता पार्टीभन्दा नरेन्द्र मोदीको नामबाट निर्वाचनमा त्यो पार्टीले पाएको सफलता। एक ‘करेस्मेटिक लिडर’ ले गर्न सक्ने बठ्याइँ यसको मुख्य परिभाषा बन्न सक्छ। वामपन्थी र दक्षिणपन्थी धार केलाएर वा राष्ट्रवाद र समाजवादलाई नियाल्दै बीचमा बसेर पपुलिजम जन्मिएको हुन्छ।
जर्जिया विश्वविद्यालयका प्राध्यापक क्यास मड्डेले अमेरिकी डिजिटल मिडिया एट्लान्टिकसँग भनेका छन्, ‘पपुलिजम एक लुरे विचारधारा हो। यसले केवल राजनीतिक एजेन्डाको सानोसानो भागलाई मात्र बोल्छ। तर मानिसहरू मूल राजनीतिक दलललाई भन्दा व्यक्तिलाई हेरेर अघि बढ्नु दुःखद हो। पपुलिस्टहरू कुनै ठूलो वर्षा नभई साना बाछिटा मात्र हुन्।’
यस्तो विचारधाराले समाजालाई दुई फरक–फरक धारको बीचबाट अघि बढाउन खोज्छन्। जसले विरोधी समूहलाई एकछेउमा पारिदिन्छ। उनले भनेका छन्, ‘उनीहरूलाई मुन्टो उठाउनसमेत सकस हुने गर्छ। किनकि, उनीहरूलाई भ्रष्ट, काम नलाग्ने, राष्ट्रविरोधीको संज्ञा दिइएको हुन्छ। अनि, पपुलिस्टहरू खोक्रो नारा लगाएर जनतालाई भ्रममा पारी मुलुक अब हामीले चलाउने भनिरहेका हुन्छन्।’ विश्वमा यही पपुलिजम हावी भएको छ।
गफाडी नेतृत्वतर्फ विश्व उन्मुख
पपुलिस्टहरूले निर्वाचन जितिरहँदा झण्डै हाराहारी अर्को पक्षले गरेको मत भने झारपात ठह¥याउँछन्। र, त्यसमा भुलाउँदै आफूलाई स्थापित गर्छन्। उनीहरूलाई आफ्ना दलका कार्यकर्ता त्यसमाथि पनि आफू निकटलाई मात्र जनता देख्छन्। अन्यलाई कुतत्व, विदेशी दलाल, भ्रष्ट यस्तै–यस्तै उपनाम दिएर सबै मुन्टो उठाउन नदिने प्रपञ्च रच्छन्। त्यसका लागि आफ्ना कार्यकर्ताको दस्ता तयार गर्छन्। विरोधी आवाजलाई मत्थर गर्न जे पनि गर्न त्यस्ता पपुलिस्ट नेतृत्व अघि बढ्छन्।
उनीहरू कामभन्दा बढी उडन्ते गफ, भाषण, उद्घाटन, समारोह, भ्रमणलगायतमा रमाउँछन्। अनि जनतलाई काम गरेको छाप छाड्न पनि अग्रसर हुन्छन्। ग्लोबल पपुलिजम डाटाबेसमा संकलित आधारित भएर दि गार्जियनले मार्च, २०१९ मा लेखेको छ, ‘विश्वमा पपुलिस्ट नेताहरूको संख्या बढी हुँदै छ। सन् २००० को प्रारम्भदेखि दोब्बर अर्थात् विश्वमा ४० त्यस्ता व्यक्ति भइसकेका छन्, उनीहरू राष्ट्र वा सरकारको कार्यकारी भएर विश्व चलाइरहेका छन्।’
यस्तो परिस्थितिमा पपुलिजम दृष्टिकोणहरू वास्तविक पपुलिस्ट मतमा परिणत हुने सम्भावना बढ्छ। हुन पनि परम्परागत मूलधारका दलहरूबाट एक मात्राको दूरी नबनेमा मतदाताहरू तीबाट हट्ने र पपुलिस्ट बन्ने सम्भावना रहँदैन। तर विश्वमा यतिबेला ४० देखि ९० का दशकसम्म रहेका नेताहरूजस्ताको स्थान लिने नेतृत्व अभाव देखिएको छ। जसले गर्दा उडन्ते र फिरन्ते व्यक्तिहरू नेतृत्वमा आइरहेका छन्। यसले मुलुकलाई असहजतातर्फ धकेल्दै लगेको छ।
जनआक्रोशमा आधारित राजनीतिलाई इन्कार गरिए पनि व्यक्तिवादी राजनीति मौलाउँदै विश्व व्यवस्थाको स्वरूप परिवर्तन हुने देखिन्छ।
मूलधारका वामपन्थी र दक्षिणपन्थी शक्तिहरूबीच विचारधारात्मक एकता भएमा पपुलिजम हुर्किने वातावरण बन्छ। यसो हुँदा धेरै मतदातालाई सबै मूलधारे राजनीतिक दलहरू एउटै किसिमका हुन् भन्ने सन्देश जाने तर्क गर्छन् आम्सट्रड्याम विश्वविद्यालयका राजनीतिक समाजशास्त्री म्याथिस रुडुजिन। उनले दि गार्डियनसँग भनेका थिए, ‘विश्व कैयन् मुलुक आर्थिक संकटले मूलधारका दलहरूलाई आलोचनाको सिकार बनाउँदै जाने गर्छ। संस्थापन पक्षका सम्भ्रान्तहरूले कामकुरा बिगारेको भनी आलोचना गर्ने अवस्था सिर्जना हुन सके र व्यापक मात्राको भ्रष्टाचार पपुलिस्ट नेतृत्वका लागि राम्रो हतियार बन्न पुग्छ।’
दलको नेतृत्व कमजोर हुँदै घुसखोरी, नातावाद र अन्य किसिमका भ्रष्टाचार मौलाउने र न्यायिक अनुसन्धानको परिणामस्वरूप दलीय प्रणालीमा जनविश्वास घट्दै जाँदा यस्ता पपुलिस्ट नेतृत्वले मुन्टो उठाउनेछ। सन् १९९० को दशकपछि इटलीमा यही भएको थियो। २००६ र २००९ को बीचमा, जब इक्वेडरको राफेल कोरिया, बोलिभियाको इभो मोरालेस र चेक गणराज्यको मिरेक टोपोलानेक सत्तामा आएपछि टर्कीको रिसेप ताइप एर्दोआन र रसियाको भ्लादिमिर पुटिन पपुलिस्ट व्यक्तित्व प्रयोग गर्न सुरु गरे।
युरोपको यो रोगले अमेरिका र एसिया चोखो रहेन। अमेरिका ट्रम्प, जापानमा सिन्जो आवे, दक्षिण कोरियामा मुन, भारतका मोदी, बंगलादेशमा शेख हसिना, मेक्सिकोको एन्ड्रिस मनुएल लोपेज ओब्राडोर र ब्राजिलको जैयर बोलसनो उदय यही कोणबाट भएको हो। श्रीलंकामा पनि पपुलिस्ट नेतृत्व आउने अवस्था देखा परेको छ। राजपक्ष र उनका भाइले नेतृत्व फिर्ता लिन सक्ने आकलन भइरहेको छ। यो अवस्था हेर्दा मुलुक बलियो दल होइन, नेतृत्व खोजिरहेको बुझ्न सकिन्छ।
किन उदाउँछन् पपुलिस्ट ?
दलले असन्तुष्ट मतदाताहरूको ठूलो संख्याका आवाज र अपेक्षा–उपेक्षा गर्नुको परिणाममा पपुलिज्म बढावा पाएको विश्लेषण आइरहेका छन्। दलभित्र जनताको मन जितेको नेता छ भने ऊ सजिलै पपुलिस्ट हुन सक्छ। मिडियामा आइरहेको परिवर्तनले पनि यसमा भूमिका खेलेको पाइन्छ। परम्परागत मिडियाभन्दा ‘न्यु मिडिया’ ले पपुलिस्ट नेतृत्वलाई उक्साइरहेका छन्। वास्तवमा सामाजिक राजनीतिक सन्दर्भहरू भूगोलका आधारमा भिन्नभिन्न हुन्छन् र पपुलिजममा पनि विविधता छ। युरोपकै चार कुनाको पपुलिजम फरक छन्।
एसिया र अमेरिकामा उदाएका पपुलिस्ट पनि फरक छन्। तर सार एउटै हो। पपुलिजम र राष्ट्रवादको राजनीतिले उदारवादी विश्वव्यवस्था उथल–पुथल गर्ने त्रास जन्माएको मात्र छैन, यसले विश्व व्यवस्थामा नै परिवर्तन त ल्याउने होइन भन्ने विषयमा पनि अध्ययन भइरहेको देखिन्छ। पछिल्लो समय फ्रान्समा पुगेर पपुलिस्ट नेतृत्वमा केही ब्रेक लागेको थियो। फ्रान्सका चुनावी मुद्दा थिए, भूमण्डलीकरण रोज्ने कि संकुचित राष्ट्रवादभन्दा ३९ वर्षीय मध्यमार्गी इम्यानुयल माक्रोन राष्ट्रपति बने। तर, अझै विश्वमा संकुचित राष्ट्रवादको माहोल फेरिएको छैन, बढ्दो छ। जसले विश्वलाई थप संकुचनमा पार्ने देखिन्छ।
नेपालजस्तो मुलुक यस्तो संकुचनको मारमा पर्न सक्ने हुनाले नेतृत्व सचेत रहन जरुरी छ। जनआक्रोशमा आधारित राजनीतिलाई इन्कार गरिए पनि व्यक्तिवादी राजनीति मौलाउँदै विश्व व्यवस्थाको स्वरूप परिवर्तन हुने देखिन्छ। पपुलिजम उदयको कारण भनेको लोकतन्त्रको खोलमा नेतृत्वले रच्ने रणनीति नै हो। यसबाट नेपाल अछुतो छैन। जनता नै सचेत हुन जरुरी छ।