रुग्ण बन्दै साझेदारी उद्योग
ओखलढुंगा : खेर जाने लप्सी तथा अमलालाई सदुपयोग गर्ने उद्देश्यले मोलुङ गाउँपालिका–१ का ४ जना महिलाले २०७१ सालमा कुन्तादेवी क्यान्डी अचार तथा पाउ उद्योग सञ्चालनमा ल्याए। साझेदारी उद्योगका रूपमा दर्ता भएको उक्त उद्योग केही वर्ष अघिसम्म जिल्लामै खाद्य अनुज्ञा पाएर लेबलसहितको परिकार उत्पादन गर्ने पहिलो उद्योग थियो। बहुसरोकारवाला वन परियोजनाको सहयोगमा सञ्चालनमा आएको उक्त उद्योग अहिले भने सञ्चालकबीच तालमेल नमिल्दा रुग्ण बनेको छ।
कुन्तादेवी क्यान्डी अचार तथा पाउ उद्योग मात्रै होइन, जिल्लामा साझेदारी ऐन २०२० अनुसार दर्ता भएका अधिकांश उद्योग बन्द भएका छन्। सञ्चालनमै रहेका भनिएका उद्योग पनि रुग्ण बनेका छन्। सञ्चालकबीच तालमेल नमिल्दा साझेदारी फर्ममा दर्ता भएका उद्योग संकटमा परेका हुन्।
साझेदारीरूपमा दर्ता भएका उद्योग बन्द हुने क्रम बढेपछि घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय ओखलढुंगाले प्राइभेट फर्ममा उद्योग दर्ता गर्न प्रोत्साहन गर्न थालेको छ। साझेदारी उद्योग बन्द हुने र सञ्चालक परिवर्तन हुने क्रम बढेपछि प्राइभेट फर्ममै दर्ता गर्न हामी प्रोत्साहन गरिरहेको घरेलु तथा साना उद्योग कार्यालय ओखलढुंगाले जनाएको छ।
घरेलु कार्यालयको तथ्यांकअनुसार गत आर्थिक वर्षमा दर्ता भएका १६३ उद्योगमध्ये १५९ उद्योग प्राइभेट फर्ममा दर्ता भएका छन्। बाँकी ३ कम्पनीमा र एउटा मात्रै उद्योग साझेदारीरूपमा दर्ता भएको छ।
साझेदारीरूपमा दर्ता भएका उद्योगको मुख्य समस्या भनेकै सञ्चालकबीच कुरा नमिल्नु हो। थोरै पुँजीमा दर्ता भएका साझेदारी उद्योगमा आफैंले काम गर्नेगरी अधिकांश सञ्चालकले उद्योग दर्ता गर्ने परम्परा छ। आफैं सञ्चालक र आफैं कामदार हुँदा काम गर्ने क्रममा तालमेल नमिल्ने र उद्योग बन्द हुने समस्या धेरै भएको कार्यालयका सूचना अधिकारी अमलेश सिंहले बताए।
साझेदारीरूपमा दर्ता भएका कति उद्योग बन्द भए भन्ने यकिन तथ्यांक घरेलु कार्यालयसँग छैन। धेरै उद्योगले घरेलु कार्यालयमा दर्तापश्चात नवीकरण समेत गर्दैनन्। जसले गर्दा तथ्यांक अपडेटमा समस्या छ। साझेदारीरूपमा दर्ता भएका अधिकांश उद्योग सम्पर्कविहीनजस्तै छन्।
कच्चा पदार्थ र बजार समस्या
जिल्लामा उद्योग सञ्चालनको सम्भाव्य क्षेत्र बाँस तथा काठका फर्निचर र सजावटका सामग्री, अल्लोको कपडा, ढाकाको कपडा, राडीपाखी, सुर्ती, लोक्ता, अर्गेली, नेपाली हाते कागज, मौरीपालन तथा मह प्रसोधन, जडीबुटी औषधि, सिन्के चाउचाउलगायत छन्। त्यस्तै मछिनो, पाउरोटी, अगरबत्ती, डोकोडालो, होजियारी, धातुका सामान, झोला, माडा तथा तितौरा, अचार, स्क्वायस पनि यहाँको सम्भावना हुन्। यी सम्भाव्य क्षेत्रमा हात हालेका उद्यमी उत्पादित सामग्री बिक्री गर्न नियमित कच्चा पदार्थ र बजार समस्या हुँदा उद्योग टिकाउन गाह्रो भएको अनुभव सुनाउँछन्।
घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय ओखलढुंगामा २०६५ सालमा दर्ता भएको मानेभञ्ज्याङ गाउँपालिका–४ को सगरमाथा फलफूल प्रशोधन उद्योगले दुई वर्ष पहिलेबाट खाद्य अनुज्ञा पाएर लेबलसहितको उत्पादन थालेको थियो। जंगलमा खेर गइरहेको लप्सी, अमला तथा स्थानीयस्तरमा पाइने अकबरे खुर्सानी, अदुवालगायत विभिन्न परिकार उत्पादन गर्दै आएको उद्योग नियमित कच्चा पदार्थ नपाउँदा बर्सेनि धेरैजसो समय बन्द हुने गरेको छ।
साझेदारी फर्ममै दर्ता भएको यो उद्योगमा १० जनाको सञ्चालन समूह छ। विभिन्न निकाय र सञ्चालकको भवन निर्माण र प्रविधि खरिदमा २० लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको छ। उद्योग सञ्चालनका लागि नियमित कच्चा पदार्थ नपाउँदा र उत्पादित सामग्रीको बजारीकरणमा समस्या भएको उक्त उद्योगका सञ्चालकमध्येका एक राजकुमार राईले बताए। ८ महिनाभन्दा बढी समयदेखि उत्पादन ठप्प रहेको उक्त उद्योगमा केही दिनबाटै अकबरे खुर्सानीको अचार उत्पादन गर्ने तयारी गरिएको छ।