महँगियो दशैँ

महँगियो दशैँ

दशैँ नजिकिँदै गर्दा महँगी अचाक्ली बढेको छ। दशैँको मुखमा चामल, हरियो तरकारी, खाने तेल, मासु, लत्ताकपडा र जुत्ताको मूल्य बढेको छ। उपभोक्ता महँगीको मारमा छन्। राष्ट्र बैंकले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार साउनमा मूल्यवृद्धि (उपभोक्ता मुद्रास्फीति) ६.९५ प्रतिशत छ। मौद्रिक नीतिले मुद्रास्फिीति छ प्रतिशतको सीमामा राख्ने लक्ष्य राखे पनि चालु आवको पहिलो महिनामै लक्ष्यभन्दा झण्डै एक प्रतिशतले माथि गएको छ। 

‘अर्थशास्त्रको सामान्य सिद्धान्तअनुसार पनि मूल्य बढ्दा माग घट्छ,’ अर्थशास्त्री विश्व पौडेल भन्छन्, ‘बजारको मूल्यअनुसार निजी क्षेत्रका कामदारको तलब वृद्धि भएको छैन। यसले पनि उपभोक्ताको खरिद गर्ने क्षमतामा ह्रास आएको छ।’ उदाहरणका लागि खसीको मासु प्रतिकेजी १३ सय रुपैयाँ छ भने प्रतिकेजी आठ सय रुपैयाँ हुँदा १० केजी खपत गर्नेले छसात केजी मात्र खपत गर्छ। किनकि, उपभोगको निर्धारण खर्च क्षमताबाटै हुने हो।

मूल्य बढ्दा बजारमा माग घट्ने भएकाले बजार सुस्त हुन्छ। व्यवसायीहरू मूल्यवृद्धिको असरले दशैँ बजार विगतभन्दा सुस्त भएको बताउँछन्। गत वर्ष मुद्रास्फीति ४.२ प्रतिशत थियो। राष्ट्र बैंकका अनुसार चालु वर्षमा खाद्य, पेय पदार्थ, गैरखाद्य वस्तु र सेवाको समेत मूल्य बढेकाले मुद्रास्फीति लक्ष्यभन्दा माथि गएको छ। दशैँमा ग्रामीण क्षेत्रमा समेत घरायसी उत्पादित सामग्री मात्र नभएर बजारमा उपलब्ध वस्तुको खरिद बढी हुने भएकाले महँगीले सबैलाई असर पार्ने बताइएको छ। गैरखाद्य वस्तुको समेत मूल्यवृद्धिले सबैलाई महँगीको असर पारेको छ।

वाणिज्य आपूर्ति उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचन डलर महँगिएकाले अन्तराष्ट्रिय बजारमै मूल्य वृद्धि भएको बताउँछन्। खुद्रा व्यापार संघले पनि दैनिक उपभोग्य वस्तुको मूल्य बढेको जानकारी दिएको छ। संघका पूर्वअध्यक्ष पवित्र वज्राचार्यका अनुसार दाल, चामल, मरमसलाको मूल्य बढेको छ। अघिल्लो वर्षको यही अवधिको तुलनामा चामल १० प्रतिशत र दालको मूल्य २० प्रतिशतको हाराहारीमा बढेको उनी बताउँछन्। ‘चामल, दाल, मसला आयात गर्नुपर्छ,’ उनी भन्छन्, ‘डलर महँगिएको छ। त्यसको प्रभाव पनि उपभोग्य वस्तुमा देखिएको छ।’ बजेटमार्फत कृषिजन्य तथा औद्योगिक वस्तु आयातमा भन्सार दर वृद्धि गरिएकाले पनि महँगी बढेको उनको दाबी छ।

दशैँको अवधिमा अधिक खपत हुने चिनी र तेलको पनि मूल्य वृद्धि भएको छ। अघिल्लो वर्ष प्रतिकिलो ७८ रुपैयाँमा बिक्री हुने चिनी ८० रुपैयाँ पुगेको छ। १ सय ३० रुपैयाँ लिटरमा आउने भटमासको तेलको मूल्य १ सय ४० र १ सय ४० मा आउने सनफ्लावर तेलको भाउ १ सय ५० रुपैयाँ पुगेको छ।

महँगिए फलफूल–तरकारी

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समिति सूचना अधिकृत विनय श्रेष्ठ तरकारीको मूल्य माथिल्लो विन्दुमा पुगेको बताउँछन्। ‘वर्षाको कारण मौसमी तरकारीको उत्पादनमा कमी आएको छ,’ उनी भन्छन्, ‘उत्पादन घटेको छ। बजारको माग यथावत् छ। तरकारीको आपूर्ति धेरै नभएकाले बजार बढेको हो।’ सिमी, भिन्डी, बोडी, काउलीलगायत मौसमी तरकारी पनि माग अनुसारको उत्पादन हुन सकेको छैन। आइतबारदेखि भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएको छ। भारतीय प्याज धेरै खपत हुन्छ। यसले पनि तरकारीको मूल्य थप बढ्ने अनुमान गरिएको छ। दशैँताका नेपाली मौसमी तरकारीले बजारको करिब ६५ प्रतिशत माग धान्ने गरेको थियो। वर्षाले गर्दा उत्पादन कम भएर किसान स्तरबाटै तरकारीको मूल्यवृद्धि भएको व्यवसायीहरूको भनाइ छ। 

तरकारीमा अघिल्लो वर्षको तुलनामा १ सय ३३ प्रतिशतसम्म वृद्धि भएको छ। २०७५ असोज १२ गते हरियो खुर्सानीको खुद्रा मूल्य ७५ रुपैयाँ थियो। यो वर्ष सोही अवधिमा १ सय ७५ रुपैयाँ प्रतिकेजी बिक्री भइरहेको समितिको तथ्यांकमा उल्लेख छ। समितिले ५१ वटा फलफूल तथा तरकारीको सूची सार्वजनिक गर्ने गरेको छ। त्यसमा लोकल गाजर, जिराको साग, सेलरी, इमली, लसुन हरियोको मूल्य मात्र केही घटेको छ। अन्य फलफूल तथा तरकारीको मूल्य बढेको छ। 

मासुको मूल्य बढ्यो

एक महिनाअघिसम्म जिउँदो खसीको प्रतिकिलो मूल्य छ सय रुपैयाँ हाराहारीमा थियो। अहिले बढेर साढे सात सय रुपैयाँ पुगेको छ। दशैँमा खसीको खपत बढ्ने भएकाले मूल्य अझै बढ्न सक्ने व्यवसायीहरू बताउँछन्। खुद्रा व्यापारीले भने वृद्धि भएको मूल्यमा झण्डै ४० देखि ५० रुपैयाँ अतिरिक्त जोडेर उपभोक्ताबाट असुल गरिरहेका छन्।

दशैँको समयमा खाद्यवस्तुसँगै लत्ताकपडाको पनि उच्च कारोबार हुन्छ। चाडपर्वमा मीठोमसिनो खानुका साथै राम्रो कपडा लगाउने चलन छ। नेपाली कपडा उद्योगका उपाध्यक्ष जितेन्द्र लुहियाँका अनुसार कपडाको मूल्य १० प्रतिशतको हाराहारीमा बढेको छ। अघिल्लो वर्षको बजेटमा नेपाली कपडालाई सरकारले दिँदै आएको नौ प्रतिशत सहुलियत हटाएको छ। यसले पनि कपडा उद्योगको मूल्य मारमा परेको छ। त्यो मूल्य पनि जोडेर बिक्री गर्नुपरेको छ। काठमाडौँमा कपडाको बिक्री ठीकै देखिए पनि दक्षिण सीमा क्षेत्रमा बजार सुस्त छ। नेपालीमा कपडा खरिद गर्नुभन्दा भारतमा सस्तो छ। 

सवारीसाधन र मोबाइल पनि त्यस्तै

ताम्राकार मोबाइल व्यापार संघका अध्यक्ष जगत साउदका अनुसार अन्य वस्तुको तुलनामा मोबाइलको मूल्य थोरै बढेको छ। स्मार्टफोनको मूल्यवृद्धि नभए पनि बारफोनमा नयाँ फिचर थप भएकाले मूल्य बढेको छ। बारफोनको मूल्य अघिल्लो वर्षको तुलनामा तीनदेखि चार प्रतिशत बढेको उनी बताउँछन्। 

भारतमा उत्पादन हुने धेरै सवारी नेपाल आयात हुन्छन्। सुरक्षा फिचर थप भएर सवारी आएकाले मूल्य बढेको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका सचिव अनुपकुमार बराल बताउँछन्। भारतले सन् २०२० देखि बीएस ६ भारतीय सवारी मापदण्ड लागू गर्दै छ। हालसम्म भारतमा बीएस ४ मापदण्डका सवारी उत्पादन हुँदै आएका छन्। बीएस ६ कार्यान्वयनमा आएपछि अझै सवारीको मूल्य बढ्नेछ।  चालु बजेटमा सरकारले सवारीको करमा हेरफेर नगरे पनि भारतमा लागू हुन लागेको नयाँ सवारी नीतिको प्रभाव नेपालमा देखिएको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.