किनमेलको चटारो
काठमाडौं : दसैं भित्रिएसँगै बजारमा रौनकता छाएको छ। राजधानीका मुख्य बजारमा घटस्थापनादेखि फूलपातीसम्म भीडभाड हुन्छ। काठमाडौंको असन, इन्द्रचोक, सपिङ मल तथा खुला बजारमा किनमेल गर्नेको घुँइचो लागेको छ। खाद्यन्न, लत्ताकपडा, गरगहना, विद्युतीय सामान, मरमसला, सवारीसाधानलगायत सबै उपभोग्य वस्तुको बिक्रीका लागि दसैं ठूलो उत्सव रहेको व्यवसायी बताउँछन्। यस्तै नयाँ बानेश्वर, रत्नपार्क, बसपार्कका चोकचोकमा पनि किनमेल गर्नेको चहलपहल बढेको छ।
नेपाल खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठले पछिल्लो समयमा काठमाडौंका खुद्रा तथा सुपरमार्केटमा किनमेल गर्नेको संख्या बढेको बताउँछन्। चामल, नुन, तेल, चिनी, मरमसला, जिरा, धनिया, मैदा, मरिच, सुकमेललगायत खाद्यन्न सामान किनबेच बढेको उनको भनाइ छ। यस्तै कोक, फेन्टा, जुस, स्प्राइटजस्ता कोल्ड ड्रिंक पनि बिक्रीको क्रम बढ्दै गएको व्यापारी बताउँछन्।
अध्यक्ष श्रेष्ठका अनुसार यसपालिको दसैंमा खाद्यन्न, मसलाभन्दा लत्ताकपडा किनमेलमा ग्राहकको आकर्षण बढेको छ। अन्य समयमा लुगा नफेर्ने वर्गले समेत दसैंमा लुगा फेर्छन्। आफ्नो लक्ष्यअनुसार किनमेल गर्ने गरेको व्यापारी बताउँछन्। ‘यसपालि उपभोक्ता ठगिएको गुनासो सुन्नुपरेको छैन्’, उनले भने, खाद्यन्न किनमेलबाट उपभोक्ता खुसी छन्।’
‘दैनिक १२-१५ हजारको कारोबार गर्नेले दसैंमा ४०-५० हजार रुपैयाँसम्म कारोबार गरेको अध्यक्ष श्रेष्ठ बताउँछन्’, उनले भने, ‘लत्ताकपडाको जस्तो खाद्यन्नमा नाफा छैन।’ नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले अरु दसैंभन्दा स्वदेशी उत्पादनमा आकर्षण बढेको बताए। ‘यसपालिको दसैंमा नेपाली वस्तुको खपत बढेको छ’,उनले भने,‘लत्ताकपडा तथा दैनिक उपभोग्य वस्तु उपयोगमा आकर्षण बढेको छ।’ उनले पछिल्ला वर्षमा स्वदेशी वस्तु उपभोग गर्ने बढ्दै गएको बताए।
धार्मिक तथा सामाजिकरूपमा मात्र नभइ आर्थिकरूपमा पनि दसैंको विशेष महŒव हुन्छ। अरु समयमा आवश्यक वस्तु उपभोग गर्न नसक्ने वर्गका व्यक्तिले दसैंमा आफूलाई चाहिने सामग्री खरिद गर्छन्। एकछाक खान पनि नपुग्ने व्यक्ति दसैंमा खाद्यवस्तु उपभोग गर्न पछि पर्दैनन्। व्यापारीका अनुसार दसैैंमा सबैले आफूलाई चाहिने दैनिक उपभोग्य वस्तु खरिद गर्छन्।
असनका व्यापारी राम यादवका अनुसार दसैंमा व्यापार गरेर झण्डै वर्षभरि पुग्ने पैसा कमाइ हुने गरेको बताए। उनले असनमा मौसमअनुसार व्यापार गर्छन्। अन्य समयको तुलनामा दसैंमा मनग्य आम्दानी हुने गरेको उनी सुनाउँछन्। यादव मात्र होइन अधिकांश व्यापारीलाई अरु समयको तुलनामा दसैंमा बढी चटारो हुन्छ। दसैंको अवधिमा व्यापारी निकै व्यस्त हुन्छन्। उनीहरूले अरु समयभन्दा दसैंमा धेरै सामान बिक्री गरेर मनग्य नाफा गर्छन्।
झापाका इन्द्र वली यसपालिको दसैंमा १० हजारभन्दा बढीको किनमेल गरेको बताए। असनमा भेटिएका उनले तीन जना परिवारका लागि लत्ताकपडा र मसला किन्दा १० हजार खर्च हुने गरेको उनको भनाइ छ। काठमाडौंको एक सहकारीमा काम गर्दै आएका वलीले सहकारीको कमाइ आकर्षक नहुँदा उनले मन लागेको लत्ताकपडा किन्न समस्या हुने गरेको बताए।
इन्द्रचोकका व्यापारी राम यादवले दसैंमा खाद्यवस्तुको बिक्री अन्य समयको तुलनामा बढी हुने गरेको बताए। मौसम अनुसारका व्यापार गर्दा राम्रो आम्दानी हुने गरेको उनको भनाइ छ। नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेश अग्रवालले उपभोक्ताले दसैंमा सुनदेखि नुनसम्म जोहो गर्ने भएकाले सबैतिर चहलपहल बढेको बताए। दसैंलाई सबैले उल्लासमय पर्वका रूपमा मनाउने भएकाले किनमेल बढी हुने गरेको उनको भनाइ छ। दसैं परम्परादेखि राम्रो लगाउने तथा मीठो खाने पर्वका रूपमा लिइन्छ। यस अवधिमा मीठो खानका लागि खाद्यवस्तु तथा मरमसला नकिन्ने कमै पाइन्छ। मीठो खाने, राम्रो लगाउने तथा घर–आँगन सजाउने सबैको रहर हुने भएकाले दसैंमा चहलपहल हुने गरेको हो।