देवी ऊर्जा र दसैं
यस वर्षको बडादसैं मनाउने क्रममा हामी प्रवेश गरिसकेका छौं। वास्तवमा बडादसैंको समय ऋतु परिवर्तन तथा मौसम परिवर्तन र कामकाजको फुर्सदका हिसाबले पनि उत्तम समय हो। यो चाड अलिक लामै छ र खानपिन, भेटघाट, शुभकामना र आशीर्वादको आदानप्रदानलगायत हिजोआज शून्यप्रायः भएका गाउँघरमा रौनक र चहलपहल बढाउने अवसर पनि हो दसैं। दसैंमा घर जाने भनेर दिनगन्ती गर्ने पर्खने र मनलाई शान्ति र चयन दिलाउने अवसर पनि हो। धर्म–संस्कृतिको निरन्तरतासँगै यसभित्र छिपेका गुह्य र सूक्ष्म रहस्यहरू पनि मननयोग्य छन्। नवदुर्गाको पूजा गरी विजयादशमी मनाउने धर्म–संस्कृतिको परम्परा रहेको र वैदिक सनातन मान्यतामा देवता र देवीसँगसँगै जोडिएर आउने हुन्छ। शिवशक्ति, शिवपार्वती, गौरीशंकर, उमामहेश्वर, राधाकृष्ण, रामसीतासँगसँगै जोडिएर आएका र तदनुसार विश्वास, आराधना, पूजा र समर्पण भाव गरिन्छ। वास्तवमा हाम्रा शास्त्रहरूमा शिव र शक्तिकै विभिन्न रूपको वर्णन पाइन्छ। सूक्ष्मरूपमा बुझ्दा शिव चेतनाको प्रतिरूप र शक्ति ऊर्जाको स्वरूप हो।
साकार प्रतीकात्मक रूपमा विभिन्न आकृति, भेषभूषा र हाउभाउ देखिने विषयको पछाडि सूक्ष्म रहस्यहरू पनि छन्। सृष्टिको सबैभन्दा सर्वोत्तम रूप मानव भएकाले मानवले चेतना र ऊर्जाको साकार रहस्य र रूपलाई उन्नत रूपमा आफ्नै स्वरूप र प्रतिमूर्तिमा बुझ्ने र हेर्ने गरेको छ। यी सबै देवीदेवताका मानवनिर्मित प्रतिरूप हुन्। तर सबैको मूलमा चेतना र ऊर्जा नै छ, शिव र शक्ति।
ब्रह्म तथा चेतनाबाट ऊर्जा उत्पन्न र विकसित हुन्छ र ऊर्जाबाट पदार्थ बन्छ। चेतना र ऊर्जा अदृश्य छ, पदार्थ दृश्य छ। वास्तवमा कारणजगत्बाट सूक्ष्म जगत् र सूक्ष्मबाट दृश्यवान् जगत् प्रकृतिको उदय भएको छ। यो रहस्य बुझ्न एउटा पीपलको बीउ दाना सम्झौं। यसभित्र कति ठूलो आकारको वृक्ष समेटिएको छ। त्यो सानो बीउभित्र सुषुप्तिमा चेतना र ऊर्जाले काम गरिरहेको हुन्छ। सबै वनस्पति र प्राणी जगत्को उदय र विकास क्रममा चेतना र ऊर्जाको संयुक्त कार्य र आयोजन चलिरहन्छ।
ब्रह्म भनेको चेतना हो। प्रभु, भगवान्, ईश्वर भनेको पनि त्यही हो। यो पुरुषतत्व पनि हो। चेतनालाई पुरुष र ऊर्जालाई प्रकृति भनिन्छ। गीतामा यसलाई परा र अपरा प्रकृति भनिएको छ। परा प्रकृतिले अपरा प्रकृतिलाई सत्ता स्फूर्ति दिन्छ, अर्थात् चलाउँछ, सञ्चालन गर्छ। ब्रह्माण्डको आध्यात्मिक रहस्य नै यही हो। ऊर्जा निर्माणको स्रोत र कारण हो। ऊर्जालाई देवीको रूपमा बुझ्नुपर्छ। शिवको एउटा स्वरूपमा अर्धनारीश्वरको रूप पनि आउँछ र यसमा आधा भाग पुरुष र आधा भाग स्त्रीको प्रतिमूर्ति देखिन्छ। यसको रहस्य हो– चेतना र ऊर्जाको संगम, पुरुष र प्रकृति तथा परा र अपरा प्रकृतिको संयुक्त रूप र कार्यको प्रतीकात्मक रूप।
हामी दसैंमा चण्डी पाठ गर्छौं र नवदुर्गाको पूजा गर्छौं। वास्तवमा यो कार्यको महत्त्व के छ भने हामीले ऊर्जालाई मानेको हो। त्यो ऊर्जा ब्रह्माण्डमा विभिन्न रूपमा र विभिन्न सृजनात्मक कार्यका लागि विभक्त छ। समग्रमा त त्यो एउटै छ, तर प्रकृतिको विकासक्रममा विभिन्न कार्य सञ्चालन गर्नुपर्ने भएकाले त्यो विभक्त रूपमा पनि देखिन्छ। मानव अस्तित्वमा चेतना र ऊर्जाको कार्य गरेको हुँदा हामीभित्रै त्यो ऊर्जा छिपेको छ, हाम्रो शक्ति र सामथ्र्यका रूपमा। चण्डीमा त्यो शक्तिलाई महाकाली, महालक्ष्मी र महासरस्वतीका रूपमा प्रस्तुत गरिएको छ। प्रतीकात्मक रूपमा त्यो तीन प्रकारको ऊर्जाशक्तिको सम्पन्न गर्न सक्ने कार्यका आधारमा तिनका रूपमा पनि फरक–फरक छन्। महाकालीको रूपमा भयंकर छ, डरलाग्दो छ। महालक्ष्मी र महासरस्वतीको रूपमा सौम्य र शालीन छ। त्यो रूपको प्रतीकात्मक रूपमा अर्थ छ। विजया दसैंमा हामी महाकाली रूपको पूजा गर्छौं। तिहारमा महालक्ष्मी रूपको पूजा गर्छौं।
वास्तवमा मानव जातिलाई शक्ति र सामथ्र्य चाहिएको छ। त्यो शक्ति सामथ्र्य घर, समाज र राष्ट्र र संसार सबैथोक चलाउन चाहिन्छ। त्यसैले त्यो शक्ति र सामथ्र्य प्राप्त होस् भनेरै हामी देवीको आराधना गर्छौं। तर त्यो देवी बाहिर छैन, हामीभित्रै छ। हाम्रो आफ्नो मनको आयतनभित्र छ। बाहिर खोज्ने त धारणा बनाउनलाई हो। दुर्गा सप्तशतिको तन्त्रोक्तं देवी सुत्तम्मा देवीलाई शिवा, प्रकृति, महादेवी, भद्रा, जगदम्बा, रौद्रा, निप्मा, गौरी, धात्री, श्योप्स्यामयी, चन्द्ररूपिणी र सुखस्वरूपा भनेर सम्बोधन गरिएको छ। अनि, राक्षसको पनि लक्ष्मी राजाको पनि लक्ष्मी, शिवपत्नी, ठूलाठूला संकटबाट पार लगाउने, सबै कारणको उत्पत्ति भनेर नमस्कार गरिएको छ। शिष्ट र सौम्य रूप अनि डरलाग्दो रौद्र रूपमा नमस्कार गरिएको छ।
सबै प्राणीमा विद्यमान माया, चेतना, बुद्धि, निद्रा, भोक जगाउने, क्षुधा, प्राणीको छाया, शक्ति, तृष्णा, क्षमा, जाति, लज्जा, शान्ति श्रद्धा, ओज तथा कान्ति, प्राप्त ऐश्वर्य, वृत्ति स्मृति, दया, तुष्टी, आमाको रूप, भ्रान्ति पैदा गर्नेलगायतका प्राणी जगत्का गुण–धर्म, चरित्र, आचरण व्यवहार सबैमा देवीको शक्ति र सामथ्र्यको कार्य गरिरहेको उल्लेख छ। सबै जीवको इन्द्रिय वर्गको उत्पन्न गराउने तथा कार्य गराउने अधिष्ठात्री र चेतना प्रदान गर्ने शक्तिका रूपमा पनि देवीलाई नै व्याप्त रहेको भनिएको छ। त्यसैले ऊर्जा शक्तिको महŒव छ। तर त्यो ऊर्जा शक्ति हामीभित्रै छ। हामी बाहिर खोज्छौं शक्ति आफूभित्र के छ ? हामी के गर्दछौं ? शक्ति बनाउँदै छौं, उन्नत गर्दै छौं कि बिगार्दै छौं ? यो कुरा बुझ्न जरुरी छ।
आसुरी र दैवी शक्ति हामीभित्रै छ। सत्व, रज र तम गुण हामीसँगै छ। कोही मानिस मानव छन्। कोही दानव छन्। कोही भगवान्का प्रतिमूर्ति छन् त, कोही दुष्ट, अत्याचारी र भ्रष्टाचारी छन्। यो प्रवृत्ति उत्पन्न गर्नमा ऊर्जाको हात छ। वास्तवमा देवीले चण्ड र मुण्डलगायत दैत्य दानवको संहार गरेको भनेको आफूभित्रकै दुष्ट दानव प्रवृत्तिको अन्त्य गर्ने भनेको हो– आफैं ऊर्जा शक्तिलाई स्वच्छ र निर्मल बनाएर। तर, आज मानवको प्रवृत्ति कस्तो छ ? हाम्रै देशमा हेर्दा त ? स्वार्थी, लोभी, पापी र भ्रष्टहरूको संख्या बढ्दो छ। धर्म हराएको भनेको यही हो। आफूभित्रको ऊर्जा बिग्रियो ? यसलाई सुधार्न के गर्ने ? अनुशासनमा बस्नुपर्यो। शारीरिक, माानसिक तथा नैतिक अनुशासनको महŒव छ। हामीले हाम्रो धर्म–संस्कृतिको मर्म नबुझी अमूक पशुहरूको हत्या गर्छौं। देवीलाई खुसी पार्ने भनेर बलि दिन्छौं। यो के हामीले पुण्य गरेको हो ? देवीदेवताका मन्दिरमा गएर यो कार्य गर्दा पुण्य हुन्छ भने पाप खोज्न कहाँ जाने ? केमा छ पाप ?
हामीले बुझौं— यस महान् विजयादशमी चाडका अवसरमा हामीभित्रका खराब संस्कार, सोचाइ र कृत्य नाश गर्न सदाचारी जीवनमा, सादा जीवन र उच्च विचारमा ध्यान पुर्याऔं। हिंसा होइन, अहिंसाको मार्ग, भ्रष्टाचारी होइन, सदाचारी वृत्तिमा ध्यान दिऔं। यसैमा परिवार, समाज र राष्ट्रको कल्याण छ। अन्त्यमा मांसाहारी र मदिरा उपभोग बढ्ने हुनाले खानपिनमा ध्यान दिऊँ। जस्तो खाना त्यस्तो मन र जस्तो मन त्यस्तै ऊर्जा बन्ने हुँदा आफ्नो जीवनको ऊर्जा नबिगारौं। नवदुर्गा भवानी देवीले राष्ट्रको कल्याणका लागि सकारात्मक ऊर्जाको सञ्चार सबैमा गरिदिऊन्, शुभकामना ? हाइलाइट
देवीले चण्ड र मुण्डलगायत दैत्य दानवको संहार गरेको भनेको आफूभित्रकै दुष्ट दानव प्रवृत्तिको अन्त्य गर्ने भनेको हो– आफैं ऊर्जा शक्तिलाई स्वच्छ र निर्मल बनाएर। तर, आज मानवको प्रवृत्ति कस्तो छ ?